कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो, १ लाख साढे १९ हजार बढीको मृत्यु

बैशाख ०२, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या १९ लाख नाघेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख साढे १९ हजार बढी रहेको छ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा कोरोना भाइरसको संक्रमण १९ लाख २४ हजार ३ सय २५ जनामा भएको पुष्टि भएको छ। सोमबारसम्म नै कोरोनाका कारण विश्वमा १ लाख १९ हजार ६ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये हालसम्म ४ लाख ४४ हजार ८ सय ३६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १३ लाख ५९ हजार ८ सय ३४ जनाले कोरोनाको उपचार गरिरहेका छन्। उपचारतमध्ये ५१ हजार ७ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ८ हजार ९२ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये एक जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी १३ जनाको अहिले उपचार भइरहेको छ। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएका थिए।

कोरोना भाइरस पहिलोपटक विश्वमा सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयताको साढे तीन महिनाको अवधिमा कोरोना भाइरस विश्वको २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

अहिले विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा क्रमसः अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड्स र क्यानडा रहेका छन्।

कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ५ लाख ८६ हजार ९ सय ४१ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये २३ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ।

स्पेनमा कोरोनाम भाइरसका संक्रमित १ लाख ७० हजार ९९ रहेकोमा १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ पुगेको छ। यीमध्ये २० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा १ लाख ३६ हजार ७ सय ७९ कोरोनाका संक्रमित रहेकोमा हालसम्म १४ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख ३० हजार ७२ जना कोरोना संक्रमित रहेकोमा ३ हजार १ सय ९४ जनाको मृत्यु भएको छ। बेलयातमा कोरोना संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगेको छ। यीमध्ये ११ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ।

चीनमा कोरोनाका संक्रमित ८२ हजार २ सय ४९ रहेको छ, जसमध्ये ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ। इरानमा ७३ हजार ३ सय ३ जना कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार ५ सय ८५ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना संक्रमितको संख्या ६१ हजार ४९ पुगेको छ । यीमध्ये १ हजार २ सय ९६ जनाको मृत्यु भएको छ। बाँकी संक्रमित र मृत्यु हुने अन्य देशम रहेका छन्।

प्रतिक्रिया दिनुहोस