मोदी–लामिछाने भेट : नेपाल–भारत सम्बन्धमा ‘विकास कूटनीति’ को नयाँ अध्याय

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। बुधबार भएको करिब एक घण्टा लामो भेटलाई लामिछानेले फलदायी र सार्थक संवादका रूपमा वर्णन गरेका छन्।

भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका सीमितता र अवरोधहरूभन्दा माथि उठाएर विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ चरणमा प्रवेश गराउनुपर्ने विषयमा विस्तृत छलफल भएको जानकारी दिएका छन्।

उनका अनुसार प्रधानमन्त्री मोदीले अघि सारेको क्षेत्रीय विकास र सहकार्यको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर, व्यापारिक तथा पूर्वाधार सहकार्य, र सहज तथा निर्बाध सम्पर्क विस्तारमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विषयमा कुराकानी भएको थियो।

लामिछानेले नेपाल र भारतबीच प्रगति, समृद्धि र पारस्परिक विश्वासमा आधारित साझेदारीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ती सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

भेटवार्तामा भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य तथा सचिवालय सदस्य दीपक बोहरालगायतको सहभागिता रहेको थियो।

रास्वपाका अनुसार भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक सीमाभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टि, आर्थिक सहकार्य विस्तार, डिजिटल कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलाई अझ सशक्त बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।