प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’

२२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने निश्चित भएपछि मध्यरातमा एक ट्वीट गर्दै प्रचण्डको गोरखाबाट उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको बताएका छन् ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु,’ शनिबार बिहान १२:१२ बजे एक ट्वीट गर्दै उनले भनेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना !’

डा. भट्टराईले यसअघि प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्दा प्रचण्डले गोरखाबाट चुनाव लड्ने संकेत गरेका थिए । ‘म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ,’ उनले भनेका थिए ।

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।

एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन् ।

रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ ।

रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् ।

रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ ।

रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।

कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार रेग्मी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।

दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् ।

दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

बाँके–१ मा सूर्यप्रसाद ढकालले टिकट पाएका छन् । प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।

बाँके–२ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङले टिकट पाएका छन् ।

बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले टिकट पाएका छन् ।

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विकले टिकट पाएका छन् ।

बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएकी छन् ।

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेले टिकट पाएका छन् ।

गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाएका छन् ।

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुले टिकट पाए ।

पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन् ।

पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए । प्रदेशसभा तर्फ (क) थानप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ ।

प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले टिकट पाए ।

अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पए ।

रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तिमगरले टिकट पाएका छन् ।

दाङका तीन क्षेत्रमा एमालेबाट शंकर, कोमल र शान्ता उम्मेदवार

रुपन्देही । नेकपा एमालेले तीन निर्वाचन क्षेत्र रहेको दाङमा पार्टी महासचिव शंकर पोखरेल, पूर्व सांसदहरू कोमल वली तथा शान्ता चौधरीलाई संघीय निर्वाचनका लागि टिकट दिएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी, क्षेत्र नम्बर २ बाट शंकर पोखरेल र क्षेत्र नम्बर ३ बाट कोमल वलीले टिकट पाएका हुन् ।

क्षेत्र नं २ मा महासचिव पोखरेलको एकल नाम सिफारिस भए पनि क्षेत्र नं १ र ३ बाट तीन तीन जनाको नाम सिफारिस भएको थियो ।

क्षेत्र नं १ मा गंगा चौधरीले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिने आजै घोषणा गरेकी छन् भने ३ न क्षेत्रमा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले टिकट नपाएको भन्दै विरोध भएको छ ।

झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब

२१ असोज, काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।

केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् । कतिपय नेताहरुले आयोगका पदाधिकारी र मुख्य कर्मचारीलाई फोन गरेर ४/५ दिन मनोनयनको मिती सार्न आग्रह गरेको स्रोतले बतायो ।

झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा पजि प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाई भएको उनीहरको तर्क छ । ‘उहाँहरुले राजनीतिक विषय उच्चारण गर्नुभएको छैन । पानी परिरहेको छ, बाटोमा समस्या छ । जान सकिँदैन कि भनेर केही दिन विचार गर्नुपर्‍यो भनेर कूटनीतिक भाषामा कार्यतालिका फेरबदल गर्न अनुरोध गर्नुभएको छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘काबूबाहिरको परिस्थितिमा बाहेक निर्वाचन कार्यतालिका फेरबदल हुने कुनै सम्भावना छैन, त्यही अनुसार तयारी गर्नुहोला भनेर सबैलाई मौखिक जवाफ दिने गरिएको छ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले निर्वाचन कार्यतालिका फेरबदल सम्भव नहुने बताउँछन् । उनले भने, ‘चाडपर्व, मौसम र सबै विषयलाई ध्यान दिएर आयोगले तालिका बनाएको हो । अब त्यसलाई संशोधन गर्ने विषय सम्भवै हुदैन ।’

एक निर्वाचन आयुक्तका अनुसार, अहिले देशव्यापी रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु घरमा दशैं समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् । दशैं विदामा बसेकाहरु समेत बिहीबार र शुक्रबारभरीमा कार्यक्षेत्र पुग्नेछन् । ‘निर्वाचन गराउने कर्मचारी कार्यस्थलमा पुग्ने, राजनीतिक दलका नेता कार्यकर्ताहरु पुग्न नसक्ने भन्ने हुन्छ र ?’ ती आयुक्तले भने, ‘कठिन परिस्थितिले मनोनयनका क्रममा आफू उपस्थित हुन नसके प्रतिनिधिमार्फत समेत मनोनयनपत्र दर्ता गर्न सकिन्छ ।’

आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फूलपातीयता ५५६ सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते

२१ असोज, काठमाडौं । फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् ।

प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ ।  नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फूलपातीयता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गर्‍यौं,’ उनले भने,’हामीले सडकमा जति कडाइ गरे पनि दुखद् दुर्घटना हुन रोकिएको छैन ।’

यो तथ्यांकले यो वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा नभएको देखाएको छ ।

राईका अनुसार दशैंमा यात्रुको चाप उत्तिकै छ, सडक र राजमार्गभरि खाल्डा र उबडखाबड छन्, यस्ता जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेका छन् ।‘ओभरलोड र ओभर स्पीडले समस्या गर्‍यो,’ उनी भन्छन्,’यान्त्रिक परीक्षण नगरी सवारी दौडिएका छन्, हामीले केही छड्के जाँच गर्‍यौं, तर त्यो पर्याप्त भएन ।’

बिहीबार मात्रै हेटौंडा-अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए । दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरू भएका छन् । जसमा धेरै अंगभंग पनि भएका छन् ।

दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरेको थियो । तर, बनावटी सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।

लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्थाले पनि दशैंमा ठूला दुर्घटना टार्न सकेन ।

सोमबार र बिहीबार  ठूलो दुर्घटनाा भएको हेटौंडा-अमलेखगञ्ज खण्डमा पनि टाइम कार्ड लागू थियो । तर, टाइम कार्डको व्यवस्था प्रभावकारी नभएका कारण पनि दुर्घटना घट्न सकेन ।

प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।

‘सडकको अवस्था राम्रो छैन, सवारीको यान्त्रिक अवस्थाको जाँच भएको छैन,’ उनी भन्छन्,’यात्रु टनाटन भरेर सवारी तीव्र गतिमा दौडिनु नै दुर्घटनाको मूल कारण हो ।’

राप्ती राजमार्ग फेरि अबरद्ध

सल्यान, २१ असोज ।
दाङ-सल्यान सडकखण्ड फेरि अबरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-३ मुलपानीमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

बिहान चोर खोलामा खसेको ढुंगा हटाएपछि कपुरकोट-तुलसीपुर सडक सुचारु भएपनि फेरि मूलपानीको पहिरोले बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । वर्षात निरन्तर भइरहेका कारण पहिरो खस्ने र हटाउने काम निरन्तर भइरहेको उहाँको भनाई छ । पहिरोका कारण सवारी साधन बिचबाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध भएका कारण तुलसीपुरको गोठीखोलामै सवारीलाई रोकिराखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार

सल्यानमा पहिरोले तीन घर पुरिए

दाङ , असोज २१ । अबिरल बर्षाका कारण दाङ जिल्लाको बिभिन्न ठाउँमा पहिरो जाँदा सवारी साधन संचालन हुन सकेको छैन । दाङ देउखुरीका राजमार्ज अन्तरगतका बस्तीहरुमा सिन्गे,नरती, सुनडवरी, लगाएतका ठाउँमा पानिको निकास नहुदाँ राजमार्गका बस्ती डुवानमा परेका छन । राप्ती र बवई नदीका आसपासका बस्तीहरु डुवानका चपेटामा परेका बस्तीहरुलाई अन्य स्थानमा स्थान्तरण गने तयारीमा रहेको जिल्ला पशासन कार्ययलयले जनाएको छ । त्यस्तै शहिद मार्ग अन्तगत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि शुक्रबार बिहानैदेखि अबरुद्ध भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्न सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ– प्यूठान सडक खण्डमा पनि यातायातका साधन गुड्न सकेका छैनन् । जिसीका अनुसार लुम्बिनी प्रदेशका बुटवल – पाल्पा सडक खण्डपनि पहिरोका कारण अबरुद्ध भएको छ ।

मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

२१ असोज, काठमाडौं । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए ।

अधिकारीले अनलाइनखबरसँग भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना छ । तर आज राति भने कम हुने छ । भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना छ । पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ भारी वर्षा हुने देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ । यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

२१ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । आज बिहानसम्म पनि खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

यस्ता छन् उम्मेदवार बन्न चाहिने योग्याता

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुहोस् । मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानुनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोस् ।
       
निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । 

यस्तै २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको  र  निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।
       
विद्यमान कानुनले उम्मेदवारीको अयोग्यतासम्बन्धी पनि व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति अयोग्य हुनेछ । 

यस्तै सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको हुनुपर्नेछ । 

यस्तै अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको र प्रचलित कानुनबमोजिम कालो सूचीमा रहेकाले उम्मेदवारी दिन पाउने छैनन् । 

यस्तै कैदमा बसेको भए अवधिभर, नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठिक नभएको व्यक्ति अयोग्य हुनेछ । यी व्यवस्थाबारे आयोगले सार्वजनिक सूचना दिइरहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ । यसरी उजुरी परेको मनोनयन पत्र र दर्ता भएका मनोनयन पत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ बमोजिम उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा प्रमाणसहित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिनेछ । 

उक्त उजुरीमाथि जाँचबुझ गर्दा मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको कानुनबमोजिम योग्यता पूरा गरेको नदेखिएको र अयोग्य रहेको पाइएमा आयोगबाट त्यस्ता मनोनयन बदर गरिने हुनाले योग्यता र अयोग्यताका सम्बन्धमा राजनीतिक दल र उम्मेदवार आफैँले यकिन गरी मनोनयन पत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

उम्मेदवारको-योग्यता-र-अयोग्यतासम्बन्धी-प्रेस-विज्ञप्ति-2079.06.20-1Download
उम्मेदवारको-योग्यता-र-अयोग्यतासम्बन्धी-प्रेस-विज्ञप्ति-2079.06.20Download

https://drive.google.com/file/d/1qtSXyALSVB7G2S8ajTZDiAOAyRHkExoi/preview