बटोलपुरमा ३७ लाख वरावरको अवैध उत्खनन् , उपमहानगरले कारबाही प्रक्रिया अगाडि बढाउने

चैत ३०, २०७६

अवैध उत्खनन् गरेका सबै गाडीलाई उपमहानगरपालिकाको कार्यविधि अनुसार कारवाही गरिने संयोजक विजय विकले जानकारी दिए ।

तुलसीपुर । लकडाउनको बेला रातको समयमा पातुखोलामा गरिएको अवैध उत्खनन्का वारेमा तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक रिपोर्ट तयार पारेको छ ।

संयोजक विरवहादुर विकको संयोजकत्वमा सदस्यहरु राजु आचार्य, अमर नेपाली र पवनकुमार योगीका साथै सम्वन्धि वडाध्यक्षहरु वेदु केसी र कुमार लामिछाने लगायतको टोलिले अवैध उत्खनन् भएको ठाउँमा १५०५० घनमिटर नदीजन्य पदार्थ निकालेको प्रतिवेदन तयार पारेको हो । समितिका सदस्य सचिव विष्णुमणी आचार्यका अनुसार उक्त नदीजन्य पदार्थको सामान्य वजार मुल्य ३७ लाखसम्म हुन्छ ।

“जथाभावी ढँगले उत्खनन् गरिएको पाइएको छ ” सदस्य सचिव आचार्यले भने । उत्खनन् पश्चात स्थलगत रुपमा वसेको समितिको वैठकले स्थानीयहरुको राय सुझावका आधारमा निर्णय समेत गरेको छ । “वडा नम्वर ८ मायालुटोल नर्सरीदेखि दक्षिण बटोलपुर नर्सरीदेखि पूर्व बटोलपुर मौजादेखि पश्चिम , वनगाउँ सिमाना देखि उत्तर क्षेत्रबाट विभिन्न समयमा तथा चैत्र २८ गते १५०५० घनमिटर अवैध उत्खनन गरिएको पाइयो ” समितिले गरेको निर्णयमा लेखिएको छ ।

समितिले उत्खनन्का क्रममा विभिन्न गाडीहरुको प्रयोग गरेको पनि उल्लेख गरेको छ । समितिले उल्लेख गरे अनुसार उत्खनन्का क्रममा रा १ क ४२९, रा १ ख ७६८ र एक नाम नखुलेको जेसिवी तथा ना ८ ख ६५००, रा न ख २१६७, रा १ ख २२२७, प्रदेश २ ३०१ ख ०९६७ नम्वरको टिप्पर र रा १ प ५७१७ नम्वरको मोटरसाइकल उत्खनन्का क्रममा प्रयोग गरिएको थियो ।

अवैध उत्खनन् गरेका सबै गाडीहरू उपमहानगरपालिका मातहतमा रहेकाले कार्यविधि अनुसार कारवाही गरिने संयोजक विकले जानकारी दिए ।

प्रहरीले पनि सवारी साधन सार्वजनिक गर्यो

यसैविच प्रहरीले पनि चर्को दवाव पछि अवैद्य रुपमा बालुवा–गिट्टीको उत्खनन् र ओसार पसार कार्यमा प्रयोग भएका भनिएका पाँच टिप्पर, एउटा जेसिबी र मोटरसाईकल प्रहरीले आइवार सार्वजनिक गरेको छ ।

दाङ जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले ती सबै साधन चैत २९ गते राति १ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
लकडाउनको समयमा बालुवा गिट्टी तस्करी गर्ने क्रममा पक्राउ परेका सबै सवारी साधनलाई आवश्यक कानुनी कारवाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पठाइएको डिएसपी खड्काले जानकारी जारी गरेको बक्तव्यमा उल्लेख छ ।

लकडाउन उलंघन गरेको अभियोगमा चार जना पक्राउ

चैत २९ गते रातको १ बजेको समयमा नै पातुखोला बगरवाट लकडाउन उल्लंघन गरेर हिडिरहेको अजस्थामा चारजनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताएका छन् ।

जसमा शान्तिनगर गाउँपालिका वडा नं २ का २३ बर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका वडा नं ६ निवासी १८ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नं १० निवासी २५ बर्षीय कुमार बस्नेत र तुलसीपुर १० कै रन्दिप न्यौंपाने रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका सबैजना विरुद्ध संक्रमण रोग ऐन २०२० अन्तरगतको कसुरमा मुद्दा दायर गरेर कारवाही गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । दाङ्गमा पहिलो पटक यस्तो कारवाही गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस