नेकपा सचिवालय सदस्यहरूले भने- पार्टीभित्र अविश्वासको वातावरण अन्त्य हुनुपर्‍यो

चैत २६, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर ।

झन्डै तीन सातापछि बसेको नेकपा सचिवालय बैठकमा सचिवालय सदस्यहरूले पार्टीभित्र समन्वय हुन नसकेको विषय उठाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकमा नेताहरूले सिंगो देश एकजुट हुनुपर्नेमा पार्टीभित्रै अविश्वासको वातावरण बनेको बताएका थिए।

पार्टीभित्र रहेको अविश्वासलाई कडाइपूर्वक नियन्त्रण गरेर पार्टीलाई सुदृढ बनाउँदै सिंगो देशलाई एकताबद्ध बनाएर लैजान पर्नेमा सचिवालय सदस्यहरूले जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामबारे ब्रिफिङ गरेका थिए।

सरकारले गरेका काम, नीति, निर्णय र योजनाहरू सकरात्मक भएको र त्यसलाई प्रभावकारी गराउनुपर्ने आवश्यकतामा सबैले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा भएको अनियमितता र सेनालाई स्वास्थ्य उपकरण दिनपर्ने कारणबारे सचिवालय सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले यस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिने आश्वासन दिएका एक सचिवालय सदस्यले  बताए।

ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकको अधिकांश समय सरकारले गरेको कामको ब्रिफिङमै बिताएका थिए।

प्रतिक्रिया दिनुहोस