सिसहनियाँमा अलपत्र मजदुरलाई खाना खुवाएर चेम्बरले गन्तव्यमा पठायो

चैत २४, २०७६

ओमप्रकाश गुप्ता  ।

दाङको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अलपत्रमा परेका ३० जना मजदुरहरूलाई सोमबार उद्वार गरि विहानको खाना खुवाएर गन्तव्यमा पठाएको छ । बर्दिया र सुर्खेतबाट घर निर्माणको काम गर्न काठमाडौं गएका मजदुरहरू नेपाल सरकारले लकडाउन गरेपछि अलपत्रमा परेका थिए ।

अलपत्रमा परेका मजदुरहरू चैत्र २२ गते हिडेर दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका थिए । विचल्लीमा परेका मजदुरलाई चेम्बरले विहानको खाना खुवाएर प्रहरी चाैकी सिसहनियाँका प्रहरी हवल्दार मदन एमसीको पहलमा चेम्बरको सिफारिसमा ना ६ ख २६३४ नम्बरको ट्रकमा गन्तव्यमा पठाइएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

जसमा १६ जना बर्दियाका र १४ जना सुर्खेतका रहेका छन् । सिसहनियाँ स्थानीय व्यापारी सुभाषचन्द्र गुप्ता,भागवत ज्ञवाली,निमु रावत,केवल चाैधरी,भानुभक्त कुवर र चेम्बरका दोस्रो उपाध्यक्ष चित्रबहादुर केसीले खाद्यान्न तथा तरकारी उपलब्ध गराएपछि चेम्बरले उनीहरूलाई भोजन गराएको थियो ।

भोजन खुवाउने कार्यमा अभियान्ताहरू सञ्जु खनाल,प्रिति चाैधरी,निराजन चाैधरी,किसुनलाल चाैधरी,श्यामा रावत,होमकला खनाल र प्रहरी जवान बसन्त थापाले सहयोग गरेका थिए । बर्दियाबाट अाएका बुधराम चाैधरीले लकडाउन भएपछि काम पनि रोकियो त्यस पछि घर अाउनुको विकल्प भएन गाडी मोटर पनि पाइएन बाटोमा जसले जे दिन्थे त्यही खाएर निकै दुख पाएर अाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस