त्याे दिन, त्याे पल

दश टुक्रा याद

चैत २२, २०७६

 


तुफानबाबु श्रेष्ठ

मान्छेको जीवनमा विर्सनका लागि केही नभए पनि सम्झन का लागि अनेक पलहरु हुन्छन् । सबैभन्दा अनमोल पल भनेकै विद्यार्थी जीवनका पलहरु हुन्छन् । विद्यार्थी जीवनमा गरेका अनेक कालका घटनाहरुले मान्छेलाई जीवनको अन्तसम्म नै पछ्याइरहेका हुन्छन् । केही राम्रो गरेर सिक्ने अनि केही नराम्रो गरेर सिक्ने विद्यार्थी जीवन हरेक मान्छेका लागि स्वर्णीम काल नै हो । मैलै श्री त्रिभुवन जन मावि खलंगा सल्यानमा विद्यार्थी जीवनको लोभलाग्दो समय व्यतित गरेको थिए । जहाँका केही भुल्नै नसकिने सम्झनाका वाछिटाहरुलाई मसीमा तप्काउने प्रयास गरेको छु । केही हाँसो लाग्दा केही भावुक वनाउने मेरो विद्यार्थी जीवनका यिनै पलहरुले मलाई मान्छे वनेर वाँच्ने प्रेरणा हरेक पल दिइरहेका छन् ।


सम्झनामा मोहन सर

स्कुलमा सायद कुनै सरसँग बढी डर लाग्थ्यो भने गणित पढाउने मोहनसिंह थापा सरसँग नै लाग्थ्यो । मोहन सरले केही प्रश्न गर्नासाथ जिब्रो लर्बरिन थालिहाल्थ्यो । एकदिन कक्षामा उहाँले मलाई त्रिभुुजको परिभाषा सोध्नुभयो । डर पनि यति लागेछ कि मैले चतुर्भुजको परिभाषा भनेछु । त्यसपछि पालो आयो मधुसूदन आत्रेयको । उनले त झन् समानान्तर रेखाको पो परिभाषा दिए ।

त्यतिखेर भर्खरै स्यानपिपली नजिकै एउटा बस दुर्घटना भएको थियो, जसमा बसका दुईजना स्टाफको निधन भएको थियो । हामी कक्षामा जान्ने ठहरिएका विद्यार्थीले नै त्यस्तो उत्तर दिएपछि मोहन सरले निराश हुँदै भन्नुभयो– ‘ए तुफान, मधु तिमीहरुलाई के भयो हँ ? त्यही अस्ति दुर्घटना भएर मरेका बसका कन्डक्टर र खलासी भूत त लागेनन् ?’

यो घटनाको केही दिनपछि एकदिन मोहन सर कक्षाकोठामा प्रवेश गर्नासाथ मलाई ब्ल्याकबोर्डतर्फ बोलाउनुभयो । खुट्टा कमाउँदै गएँ । उहाँले बोर्डमा १५×१५= लेख्नुुभयो । ल अब गुणन गर । मैले केही नबोली सजिलै २२५ लेखिदिएँ । उहाँले फेरि भन्नुभयो– ‘हैन, बोलेर हिसाब गर ।’
मैले पनि ‘पन्ध्र पन्चे पचहत्तर, पचहत्तरको पाँच हात लाग्यो सात’ यसरी बोलेर हिसाब गर्दै थिए, उहाँले बीचमै रोक्नुभयो र भन्नुभयो– ‘के हो यो हात लाग्यो भन्या ?’

मलाई त्यो ‘हात लाग्यो’ भनेको के हो ? थाहा थिएन । मोहन सर कुन मुडमा हुनुहुन्थ्यो त्यतिखेर मैले केही पनि सम्झिन सकिरहेको थिइनँ । फेरि उहाँले मलाई सबै विद्यार्थीको सामु अब ‘क’ देखि ‘ज्ञ’ सम्म भन भन्नुभयो । डराउँदै डराउँदै ‘क’ ‘ख’ भन्न सुरु गरेँ तर ‘न’ सम्म आएपछि मेरो बोली बन्द भयो । मोहन सरले त्यो दिन पनि निराश हुँदै भन्नुभयो– ‘तुफान अब त ‘क’, ‘ख’ पनि बिर्सिन थालेछौ है ।’

चिट चोर्ने सपना

कक्षा ७ को जिल्लास्तरीय परीक्षा चलिरहेको थियो । अर्को दिन सामाजिक विषयको परीक्षा थियो । बेलुकी मलाई निद्रा लागिरहेको थिएन । संजीव राजभण्डारी एकजना साथी थियो । अहिले ऊ लन्डनमा छ ।उसले भनेको सम्झिएँ– ‘तँ र म सँगै एउटै बेन्चमा परेका छौँ, अगाडि ५ भागसम्मको चिट तैँले गरा, पछाडिको बाँकी चिट म गराउँछु । संजीवले भनेबमोजिम ५ भागसम्मको परीक्षामा आउन सक्नेखालको प्रश्न आफैँ अनुमान गरेर रातभरि चिट तयार पारेँ । मैले चिट बनाइरहेकोे सायद बुवाले सुइँको पाइसक्नुभएको रहेछ । उहाँ क्याम्पसमा आफूले पढाउनुपर्ने एउटा विषय नै छोडेर बिहान हतार हतार घर आउनुभयो ।

घर आउनासाथ मलाई बोलाउनुभयो अनि मेरो गोजी छाम्नुभयो । पेन्टको दुवै गोजीबाट दुई मुट्ठा चिट निक्लिए । त्यतिबेला मैले चुच्चे क्याप पनि लगाएको थिएँ । त्यतिखेरसम्म मैले बुवाको हातबाट एक झापड पनि खाइसकेको थिएँ । त्यसपछि उहाँले कड्किँदै भन्नुभयो– ‘तँ कहिल्यै क्याप नलगाउने मान्छेले आज किन क्याप लगाछस् ?’ जब क्याप मेरो टाउकोबाट थुतिदिनुभयो, तब के थियो र, टाउकोबाट बगे्रल्ती चिटको वर्षा पो भयो । केही असहज परिस्थितिको सामना गर्दै परीक्षा दिन गएँ ।

बुवाले सायद सामाजिक पढाउने मिसलाई भनिसक्नुभएको थियो होला– ‘यसले चिट अन्यत्र पनि लुकाको हुन सक्छ है’ तब के थियो र, परीक्षा कोठामा सत्ती मिसको नजर मैतिर थियो । संजीवले चिट बनायो, बनाएन या चोर्यो चोरेन त्यो मलाई थाहा भएन किनकि त्यो दिन त सिट प्लान चेन्ज भइसकेको रहेछ । मसँग त सिर्जना राजभण्डारी पो परेकी थिइन् तर परीक्षामा चिट चोर्ने मेरो सपना भने त्यही दिनदेखि नै अधुरो रह्यो । चिट चोर्न नपाए पनि ७ कक्षाको जिल्लास्तरीय परीक्षामा म स्कुल प्रथम र जिल्लामा दोस्रो पो भएछु ।

खुकुरीको स्वाद

९ कक्षामा प्रवेशसँगै काँक्रोको बिडी तान्ने हल्का नसाले मलाई छोइसकेको थियो । एकदिन घोराहीबाट माहिला अजा सल्यान आउनुभएको थियो । उहाँले खुकुरी चुरोट तानिरहनु भएको थियो ।सायद त्यो चुरोट भर्खर बजारमा आएको थियो क्यारे । अरु चुरोटको हल्का–फुल्का स्वाद त मैले चाखिसकेको थिएँ । अजा बाथरुम गएको मौका छोपी एक खिल्ली खुकुरी चुरोट मैले जिप्ट्याइहालेँ ।

आज स्कुलको इन्टरभलमा यो काम तमाम गर्नुपर्ला भन्ने सोचेको थिएँ । मन खुकुरी चुरोटको स्वाद कस्तो होला भन्नेमै दौडेको थियो, केको पढाइमा ध्यान जान्थ्यो । इन्टरभलमा पनि स्कुलमा चुरोट तान्ने अवसर जुटेन ।

स्कुल छुट्टी भएपछि हतार हतार घर आएर बारीको ढिकमा बसेर खुकुरी चुरोटको स्वाद मज्जासँग लिँदै थिएँ । यो दृश्य बुवाले कोठाको झ्यालबाट देखिरहनुभएको रहेछ । उहाँ बारीमै आउनुभयो ।त्यसपछि त के थियो र, बुवाको हातबाट गोरु चुटाइको सामना गर्नुपर्यो । त्यसपछिका दिनहरुमा चुरोट त के चुरोटको धुवाँदेखि पनि डर पो लाग्न थाल्यो ।

बर्मा सरको हिन्दी

रामशंकर बर्मा एकजना भारतीय शिक्षक हुनुहुन्थ्यो । उहाँले हामीलाई ९ र १० कक्षामा अंग्रेजी पढाउनुभयो । उहाँ नेपाली पनि राम्रै बोल्नुहुन्थ्यो तर कक्षामा भने हामीले बुझौं या नबुझौं अंग्रेजी नै बोल्नुहुन्थ्यो ।
एकदिन सुमन शाह जो अहिले अस्ट्रेलियामा छिन् । उनलाई बर्मा सरले एउटा कथाको इंग्लिस रिडिङ गर्न दिनुभयो । सुमनले साह्रै राम्रोसँग रिडिङ गरिरहेकी थिइन् । तर एक ठाउँमा उनले know लाई ‘कोनो’ भनेर उच्चारण गरेपछि बर्मा सरले उनलाई बीचमै रोक्दै ‘ए क्या कहे रही हो ‘कोनो’ ए कैसा प्रनाउन्सेसन हे ?’ भनेपछि सुमनले ‘सरी सर म झुक्किछु’ भनिन् तर बर्मा सर पहिलो पटक कक्षामा हिन्दी बोलेको सुन्दा हामी भने अचम्म मानिरहेका थियौं ।

१० कक्षामा पढ्ने बेला हो, हामी प्रायः स्कुल जाने बेला बस चढेर जाने गथ्र्यौं  ठ्याक्कै   समय पनि त्यस्तै पथ्र्यो । स्कुल १० बजे लाग्ने, दाङका लागि बस साढे ९  बजे  छुट्ने । त्यतिखेर सल्यानमा प्राय ‘मुनाल’ बस चल्थ्यो ।

धान खाने मुसो, चोट पाउने भ्यागुतो

कक्षा ८ मा जोगेन्द्र सरले हामीलाई भूगोल पढाउनुभयो । कक्षा ८ को उहाँ कक्षा शिक्षक पनि हुुनुहुन्थ्यो । उहाँ आउनासाथ हामी सबै बसेका विद्यार्थी बेन्चबाट उठ्थ्यौं । हाजिरी सिध्याएपछि उहाँले पढाउन सुरु गर्नुहुन्थ्यो । एकदिन पढाइ चलिरहेकै बेला म र एकजना साथी मधुसूदन आत्रेय जो अहिले दक्षिण कोरियामा छन्, कुनै विषयमा कानेखुसी गरिहाल्यौं ।

हाम्रो यो हर्कत जोगेन्द्र सरलाई के सह्य हुन्थ्यो र उहाँको रिसको झोकमा प¥यो म र मधुसँगै बसेको अर्को साथी रमेश सिंह । जोगेन्द्र सरको झापड उसको गालामा बज्रिनासाथ हामी अब झापड खाने आफ्नो पालो कुरेर बसेका थियौं । तर, उहाँ त खुरुखुरु ब्ल्याकबोर्डतर्फ पो लाग्नुभयो । धन्न बचियो भन्दै मधु र मैले लामो श्वास फेर्यौं ।

त्यतिखेर म अचम्म पनि परेको थिएँ किनकि कानेखुसी गर्ने मधु र म झापड भेट्ने रमेश भनेर । तर रमेश त जोगेन्द्र सरसँग रिसाउन पो थाल्यो । उसले रुँदै गुनासो गर्न थाल्यो– कानेखुसी गर्ने तुफान र मधु, झापड खाने मैले ? तपाईंले के तुफान बादल सरको छोरा अनि मधु गुरू सरको छोरा भनेर केही नगर्नु भएको हो ? यस्तो पक्षपात गर्न पाइन्छ ? अबदेखि तपाईं कक्षामा आएपछि कहिले उठ्यालुला म !’ रमेशको रोदनसँगैको यो भनाइले कक्षाकोठा एकछिन हाँसोले गुञ्जियो । उता जोगेन्द्र सर भुनभुनाउँदै हुनुहुन्थ्यो, ‘तँ नउठे मलाई केही चोरिन्न !’

एक ठाउँमा उनले know लाई ‘कोनो’ भनेर उच्चारण गरेपछि बर्मा सरले उनलाई बीचमै रोक्दै ‘ए क्या कहेरही हो ‘कोनो’ ए कैसा प्रनाउन्सेसन हे ?’

सरी, उषा मिस

कक्षा ९ र १० मा जोगेन्द्र सरले नै हामीलाई नेपाली पढाउनुहुन्थ्यो । ९ कक्षाको वार्षिक परीक्षा थियो । परीक्षा कापीमा आफ्नो नाम, रोल नं. र विषय लेख्नुपर्ने हुन्छ । विषयमा मैले ह्रस्व (नेपालि) लेखेको रहेछु । नेपाली विषयको परीक्षामा नेपाली नै अशुद्ध लेखेपछि जोगेन्द्र सरको पारा कति तात्यो होला, तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ ।

अर्को दिन जोगेन्द्र सरले त मेरै बाटो पो कुर्नु भएको रहेछ । उहाँले कड्किँदै भन्नुभयोे– ‘ए तुफान यहाँ आइज, थुक्क गधा अब गर्दा गर्दा नेपाली पनि ह्रस्व लेख्न थालिस् हैन ? कसले सिकायो तलाईं यस्तो नेपाली लेख्न ? मेरो बेइज्जत गर्न खोज्या होस् ?’

जोगेन्द्र सरको आक्रामक प्रश्नको वर्षासँगै मेरो मुटुले ठाउँ छोड्ला जस्तो गर्यो, के भनौं के भनौं भयो । झल्याँस्स उषा हमाल मिसलाई सम्झेँ । ९ कक्षामा डेढ/ दुई महिनाजति सुरुवातमा उहाँले पनि हामीलाई नेपाली पढाउनुभएको थियो । त्यसपछि हाम्रो स्कुलबाट अन्यत्रै सरुवा भएर गइसक्नुभएकाले, अब के नै पो फरक पर्ला र भन्ने सोचेँ साथै जोगेन्द्र सरसँग बच्नु पनि थियो अनि भनिदिएँ– ‘हैन सर, नेपाली ह्रस्व हुन्छ भनेर उषा मिसले भन्नुभएको थियो ।’ मेरो जवाफले त जोगेन्द्र सर ट्वाँ पो पर्नुभयो ।

राजकपुरले ठेक्का हान्दिनुभो

सिजनमा सन्ते दाइको मेवा र सदावहार साहुजीको पकौडा हामीले इन्टरभलमा दिनहुँजसो खाने नास्ता यही थियो । हामीसँगै पढ्नेमध्ये एकजना साथी थियो, राजकपुर श्रेष्ठ । एकदिन ऊसँग पैसा टन्नै थियो, कहाँबाट ल्यायो त्यति धेरै पैसा हामीलाई थाहा भएन । त्यो दिन उसैले भन्यो– ‘आज स्कुलका केटीहरुलाई भोकै राख्नुपर्छ है ।’ मैले भने– ‘कसरी ?’

उसले भन्यो– ‘मसँग एउटा उपाय छ ।’ ऊ इन्टरभल हुनुभन्दा अगाडिको पिरियडमा कक्षामा थिएन । इन्टरभलपछि नास्ता खान सबै साहुजी कहाँ गयौं । केटाहरुलाई राजकपुर आफैले पकौडाले स्वागत गरिरहेको थियो । राजकपुरको यस्तो हर्कत देखेर केटीहरु अचम्म मानिरहेका थिए । भित्र गएर उनीहरुले साहुजीलाई भने– ‘साहुजी खै पकौडा हामीलाई पनि दिनुस् त !’

साहुजीले भन्नुभयो– ‘नानी आज त भएको जति सबै ‘एक बाटा पकौडा’ राजकपुर बाबुले ठेक्का हान्दिनु भयो, उहाँसँग मागेर खाऊ ।’
साहुजीको यस्तो भनाइले बिचरा केटीहरु हेरेको हेर्यै पो भए ।

निरज रावतको ट्रिपल जिम्न्यास्टिक

हामी प्रायः एकछिन इन्टरभलमा खाजा खाइसकेपछि स्कुलनजिकै क्याम्पस परिसरभित्र प्रवेश गथ्र्यौं । त्यहीँ नजिकै हामीले एउटा खाल्डो खनेका थियौँ । त्यो खाल्डो सल्लाको कुसुमले भरिएको हुन्थ्यो । त्यहाँ हामीले जिम्न्यास्टिक हान्ने गथ्र्यौं । सदाझैँ त्यो दिन पनि जिम्न्यास्टिक हान्न गयौँ । हामीले हल्का–फुल्का जिम्न्यास्टिक हानिरहेका थियौँ । एकैछिनमा त्यहाँ निरज रावतको आगमन भयो ।

उसले गर्विलो पाराले भन्यो– ‘कति यो सिंगल, डबल मात्र हान्ने यार आज म ट्रिपल जिम्न्यास्टिक हान्छु ।’ निरजको यस्तो साहस देखेर हामी पनि हौसिँदै थियौँ । एकछिनमा साथीले जिम्न्यास्टिक त लगायो तर दुर्भाग्यवश उसको टाउको कुसुमभन्दा बाहिर ठोक्किन पुग्यो । हामी सबै हतास हुन पुग्यौँ । ऊ उठ्न सकिरहेको थिएन ।

केही साथीहरु पानी लिन साहुजी कहाँ दगुरे । एकजना कसले पो हो भन्यो– ‘निरजले त फुस्रो आँखा पल्टाछ यार ।’ त्यसपछि त झनै हाम्रो मुटुले ठाउँ छोड्यो । अब के गर्ने भनेर केही पनि सोच्न सकिरहेका थिएनौं । त्यत्तिकैमा निरजले टाउकोमा हात राख्दै ‘आज झन्डै मरिन्थ्यो यार’ भन्दै उठेपछि हामीले पनि लामो सास फेर्यौं ।

स्कुल जाँदा बस चढ्ने हुँदा…

१० कक्षामा पढ्ने बेला हो, हामी प्रायः स्कुल जाने बेला बस चढेर जाने गथ्र्यौं ठ्याक्कै समय पनि त्यस्तै पथ्र्यो । स्कुल १० बजे लाग्ने, दाङका लागि बस साढे ९ बजे छुट्ने । त्यतिखेर सल्यानमा प्राय ‘मुनाल’ बस चल्थ्यो । बसका स्टाफहरु पनि हामीसँग तङ आइसकेका थिए । एकदिन बसको गुरूजीले भन्नुभयो– ‘केटाहरु हाम्रो पनि यो व्यवसाय हो धरापमा नपार, तिमीहरुको कारणले मैले श्रीनगर अझै दाङसम्मै जाने पेसेन्जरसमेत राख्न पाएको छैन ।

यति नजिकै स्कुल पनि तिमीहरु हिँडेर जान सक्दैनौ ?’ तर, गुरूजीको आग्रहलाई के सुन्थ्यौं हामी अटेरीहरुले ।
गुरूजीले हामीलाई अझै तर्साउँदै भन्नुभयो– ‘यदि तिमीहरु बसबाट झर्दैनौ भने आज म स्कुलमा बस रोक्दिन सीधै श्रीनगरमा पुगेर रोक्छु ।’ गुरूजीको यस्तो कुरामा हामीलाई विश्वास नै लागेन किनकि बसमा ९ कक्षामा पढ्ने स्कुलका ‘दादा’ सर्जन प्रधान पनि चढेका थिए । उनले भनेपछि बस कसो नरोक्ला र ? बस गुड्यो एकैछिनमा स्कुल पनि आइपुग्यो ।

तर, बस साँच्चै भन्दा रोकिएन । त्यतिखेर मलाई बसमा जनबन्धु, भयराम, प्रभाकर लगायतका साथीहरु भएजस्तो लाग्छ, हामी सबैजना चिच्याउन थाल्यौं । तर सर्जन खामोस भएर बसिरहेका थिए ।

मैसेपानी आइपुग्दा सडकमा एकजना पेसेन्जरले हात दिए तैपनि बस रुकेन । हामी ढुक्क भयौं, अब बस रोकिनेबाला छैन । श्रीनगर पुगेपछि मैले सर्जनलाई भने– ‘बस रोक्न लगाउनुपर्छ नि यार ।’ उनी त्यतिखेर पनि केही बोलेनन् । एकछिनमा गुरूजीले हाँस्दै भन्नुभयो– ‘सर्जनकै निर्देशनमा तिमीहरुलाई यहाँसम्म ल्याएको त हो नि, नत्र मलाई के बहुला कुकुरले टोक्या थियो र ?’ हामी पनि अब जे हुनु भैगो भनेर दिनभरि शारदा खोलामा पौडी खेल्दै समय बितायौं । बेलुकी फेरि बसमै चढेर घर फर्कियौं ।

बुवाको हातबाट दुई/चार झापडको अपेक्षासहित घरभित्र छिरेँ । तर, किन किन त्यो दिन त बुवा ‘कुल’ पो हुनुहुँदो रहेछ । त्यही दिनदेखि नै स्कुल जाँदा बस चढ्ने निरन्तरताको पनि क्रमभंग भयो ।

चोक्टा खान गएकी बूढी, झोलमा डुबेर मरी

१० कक्षामै पढ्ने बेला हो हामी एकपटक पिकनिक खान शीतलपाटी शारदा खोलाको किनारमा पुग्यौं । यो मेरो जीवनकै पहिलो पिकनिक पनि थियो । करिब ६० जना विद्यार्थीको समूह राजकपुरको क्यासेट प्लेयरमा त्यो बेलाको हिट फिल्म ‘दिवाना’को झंकार गीत सुन्दै हामी श्रीनगरको ओरालो लाग्यौं । आधा दर्जन छिप्पेका लोकल भाले हामीले त्यतिखेर लग्दै थियौं ।

बल्लतल्ल पिकनिक स्पटमा आई पुगियो तर त्यहाँ पुग्नासाथ हामी छाँगाबाट खसेजस्तो पो भयौं किनकि सबै साथीहरु खाना खाई सकेर भाँडा पो माझ्दै थिए ।

एउटा भाले त मैले आँफै पकडेको थिएँ । पिकनिक स्पटमा पुगेपछि केटाकेटी हामी सबै मिलेर खाना तयार गर्न लाग्यौं । भाले काट्नेदेखि लिएर टुक्रा पार्ने कामसम्म राजकपुर एक्लैले भ्याइदियो । पुलाउ र मासु पाक्दै थियो, त्यत्तिकैमा हामीमध्येकै एकजना साथी रवीन्द्र महर्जन सायद अहिले ऊ पनि विदेशमै छ क्यारे ।

उसले भन्यो– ‘माथि खलंगामा मट्टीतेल पाइँदैन लान्तीमा एकजनाले तेल दिन्छु भन्या छ लिन जाऊ न तुफान ।’ रवीन्द्रको आग्रहलाई नकार्न सकिनँ त्यसपछि हामी हिँड्दै साथमा राजकपुरलाई पनि लगेर लान्ती बजारतर्फ लाग्यौं । के गर्दागर्दै ढिला भइहाल्यो, मट्टीतेल पनि पाइएन ।
हामी भोकले आकुल व्याकुल भइसकेका थियौं तैपनि लोकल भालेको मासु र पुलाउ खाने मीठो कल्पनासहित हामी पिकनिक स्पटतर्फ आफ्ना पाइला लम्कायौं ।

बल्लतल्ल पिकनिक स्पटमा आई पुगियो तर त्यहाँ पुग्नासाथ हामी छाँगाबाट खसेजस्तो पो भयौं किनकि सबै साथीहरु खाना खाई सकेर भाँडा पो माझ्दै थिए । साथीहरुमध्येमै कसले पो हो भन्यो– ‘यत्रोबेरसम्म तिमीहरु कहाँ गएका थियौ यार ? हामीलाई त यो हुलमुलमा तिमीहरु भए–नभएको याद पनि भएन ।

अब के गर्ने ? खाना मासु केही पनि बचेको छैन ।’ तब एकजना कसले पो हो एउटा थालमा ‘सायद त्यो कसैले खान नसकी फालेको पनि हुन सक्छ’ केही पुलाउका डल्लाहरु हामीतिर तेस्र्याइदियो । त्यतिखेरसम्म राजकपुरको पारा तात्तिसक्या रहेछ । उसले केही नबोली थालैसँग त्यो पुलाउको डल्लालाई शारदा खोलामा हुत्याइदियो । पछि फर्किने बेला श्रीनगर बजारमा आएर हामीले केही चाउचाउ र बिस्कुट किन्यौं, त्यही खाँदै उकालो लाग्यौं । साथीहरु लोकल भालेको झोल र पुलाउको स्वादको बखान गर्दै हिँडिरहेका थिए ।

तर, रवीन्द्रको मट्टीतेल किन्ने चक्करमा परेर मेरो जीवनकै पहिलो पिकनिकमा त्यो लोकल भालेको झोल र पुलाउको स्वाद लिने सपना अधुरै रहेकोमा भने म आफूलाई धिक्कार्दै थिएँ । त्यतिखेर मैले एउटा चलनचल्तीको नेपाली उखान पनि सम्झिएँ– ‘चोक्टा खान गएकी बूढी, झोलमा डुबेर मरी ।’

प्रतिक्रिया दिनुहोस