तुलसीपुर प्याब्सनले दियो राहत कोषमा २ लाख २२ हजार

चैत २२, २०७६

 

तुलसीपुर । कोरोना संक्रमणको उद्दार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिको स्थापना गरेको राहत कोषमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन तुलसीपुर नगर कमिटीले सहयोग गरेको छ ।

कमिटीले नगरप्रमुख घनश्याम पाण्डेलाई शनिवार २ लाख २२ हजार २ सय २२ रुपैयाको चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण गर्दै प्रदेश सदस्य द्रोण वस्नेतले गरिब र विपन्न वर्गको घरमा पुग्ने गरी राहत वितरण गर्नका लागि उपमहानगरपालिकालाई अनुरोध गरे । ‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ ’ नगर अध्यक्ष गिरीराज डाँगीले वताए ।

उपमहानगरपालिकाले रु ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा अहिलेसम्म सबैभन्दा वढि प्याब्सन नगर कमिटीले दिएको रकम हो । चेक ग्रहण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए । उनले कोराना संक्रमणको विभिन्न पक्षबाट मुल्यांकन गरेर चरणवद्ध योजना वनाएको कुरामा पनि जोड दिए ।

चेक हस्तान्तरण कार्यक्रममा शिक्षा समितिका संयोजक देवराज विक, प्याब्सन दाङ्गका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, नगर अध्यक्ष गिरीराज डाँगी लगायतको सहभागिता रहेको थियो ।

राहत कोषको रकम प्याब्सनमा आवद्ध तुलसीपुरका विभिन्न विद्यालयबाट संकलन गरिएको गोरखा माविका प्रधानाध्यापक विजय जिएमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस