लकडाउन खुलेलगत्तै एसईई

चैत २१, २०७६

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ । मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो ।

‘चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ,’मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने , ‘त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्नु होस् । अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’

परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको प्रवक्ता शर्माले जनाए । ‘मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था छ,’ शर्माले भने ।

त्यसैगरी शिक्षक महासंघले इन्टरनेट नभएको ठाउँमा विद्यार्थीले आफ्नो समस्या फोनबाट शिक्षकलाई सोध्न सक्ने व्यवस्था गरेको छ । ‘सातै प्रदेशमा पाँच विषयको हेल्प डेस्कको व्यवस्था गरेका छौं,’ महासंघका अध्यक्ष बाबुराम थापाले भने, ‘विद्यार्थीको समस्या हल गर्न ३५ जना विषय शिक्षकलाई सम्पर्क गर्न सक्ने नाम र फोन नम्बर सार्वजनिक गरेका छौं ।’ नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका समस्याबारे विद्यार्थीले शिक्षकसित जानकारी लिनसक्ने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्‍द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस