दाङका कोरोना संक्रमितको शवलाई कुइरेपानी जंगलमा गाडियो

जेठ २६, २०७७

दाङ,२६ जेठ । भारतको दिल्लीमा मृत्यु भएर दाङको घोराहीमा कोरोना संक्रमण पुष्टि भएका एक व्यक्तिको शवलाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीको जंगलमा व्यवस्थापन गरिएको छ । हिजाे मात्रै उनकाे काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार ती कोरोना संक्रमित व्यक्तिलाई दाहा सस्कार गर्नका लागि दाङमा विद्युतीय शवदाह गृह नभएपछि उनको शवलाई जंगलमा व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमित व्यक्तिको शवलाई व्यवस्थापन गर्न बनेको कार्यविधि अनुसार शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले आइतवार राती १२ बजेतिर खाडल खनेर गाडेको श्रोतले जानकारी दिएको छ । उनको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो ।

रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको समयमा घोराही उपमहानगरपालिका–१८ अम्वापुर निवासी करिव ४० वर्षीय व्यक्तिमा कोरोनाको संक्रमणका कारण चार दिन पहिले मृत्यु भएको थियो ।

दिल्लीमा मृत्यु भएका ती व्यक्तिको शव आइतबार दाङ ल्याइएको थियो । ती व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको हुन सक्ने आशकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको विरामी भएको आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुहोस