दाङमा एकै दिन थपिए १५ कोरोना संक्रमित,संक्रमित संख्या ७१ पुग्यो

जेठ २२, २०७७

दाङ : दाङमा एकै दिन १५ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सार्वजनिक गरेको पीसीआर परीक्षण रिपोर्टमा चार पालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका, बंगलाचुली, राजपुर र बबई गाउँपालिकाका १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना, बंगलाचुली गाउँपालिका वडा नं ३ र ४का ६ जना, राजपुर गाउँपालिकाका वडा नं २,३,४ का ३ जना र बबई गाउँपालिका ५ का एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै १६ वर्षदेखि ३६ वर्षसम्म उमेर समूहका छन्। १५ जना संक्रमितमध्ये १ जना महिला छिन्। उनीहरु सबै पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको बुझिएको छ ।

बिहीबार ४ सय ८७ जनाको गरिएको पीसीआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ। योसहित दाङमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस