अस्पताल भरिएपछि संक्रमितको उपचारमा समस्या

जेठ २१, २०७७

अस्पतालमा उपचारका लागि बेड भरिएपछि थपिएका संक्रमितलाई अब कसरी उपचार गर्ने ? सिंगो सरकार लागि समस्या खडा हुँदैछ ।

प्रदेश २ का जिल्लामा रहेका कारोना अस्पताल भरिसकेका छन् । बारामा कोरोना भाईरसबाट संक्रमित हुनेहरुलाई सम्बन्धीत पालिकाले नै उपचार गर्नुपर्ने भएको छ ।

जिल्ला अस्पतालभित्रै उपचारमा समस्या हुने भएपछि बाराको कलैया उपमहानगर –पालिकाको गंगापुरमा एक हप्ताअघि कोरोना विषेश अस्पताल तयार भयो ।

५० जनालाई राखेर उपचार गर्न मिल्नेगरि बनाइएको त्यो अस्पताल सोही दिन भरियो । अब थपिने संक्रमितको उपचारका लागि आईसोलेसन छैन ।

छिमेकी जिल्लाले राख्न मान्दैन । के गर्ने ? प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई व्यवस्थापनमा सकस परेको छ ।

बारामा बैशाख १७ गते पहिलोपटक दुई जना संक्रमित भेटिएपछि त्यसयता ६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

क्वारेन्टाईनमा रहेका एकहजार दुई सय ६५ जना मध्ये स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएका तीन सय जनाको रिपोर्ट आउन बाँकी छ ।

राख्ने ठाउँ नभएपछि अब एकजनालाई मात्रै संक्रमण देखिए पनि स्थानीय सरकारलाई जिम्मा लगाइने तयारी प्रशासनले गरेको छ ।

उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आईसोलेसन बनाउने निर्णय गरेका छन् ।

प्रदेश २ मा ९ सय ५१ आइसोलेसन बेड रहेकोमा साढे ८ सयभन्दा बढी संक्रमित भइसकेका छन् । २३ हजार ३ सय ७६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस