सामुदायिक वनको २५ वर्षको गौरबशाली महायात्रा

जेठ १८, २०७७

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना भएको २०७७ जेठ १८ गते २५ वर्ष पुरा भएको छ । रजत वर्षको गौरवपूर्ण यात्रा पार गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सम्पूर्ण परिवार र देशभरीका सबै सामुदायिक वन उपभोक्ता समुहहरु, सामुदायिक वन अभियानकर्मीहरु र यो गौरवशाली यात्रामा अविराम साथ दिनुहुने सरकारी तथा गैरसरकारी क्षेत्रका सबै सहयोगी मनहरुलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । यतिवेला विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणले उत्पन्न भएका संकटका कारण महासंघले अन्य समारोह गरी रजत जयन्ती मनाउन सकेको छैन । यस्तो अवस्थामा महासंघको २५ वर्षे यात्रालाई संक्षिप्त रुपमा समिक्षा गर्ने कोशिस गरिएको छ ।

 

यतिवेला सामुदायिक वन उपभोक्ता महासंघको भारती पाठकले सशक्त रुपमा नेतृत्व गरिरहनु भएको छ । यस विचमा सामुदायिक वन उपभोक्ता महासंघले लोकतान्त्रिक विधी र पद्धति अनुसार ६ वटा राष्ट्रिय महाधिवेशनहरु सम्पन्न गरिसकेको छ । महासंघले यस्ता महाधिवेशन, अधिवेशन, परिषद्, बैठक, स्थानीय तह, समुहदेखि, जिल्ला प्रदेश हुँदै राष्ट्रियस्तर सम्ममा आयोजना गर्दै जनताका जनजिविकाका सवाल, सामुदायिक वन संरक्षण र व्यवस्थापनका सवाल, राष्ट्रिय रणनीतिक अर्थ व्यवस्थाका सवाल र अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन तथा विश्वव्यापी पर्यावरणका सन्तुलनका सवालमा सशक्त बहस, छलफल गरी सही निस्कर्ष निकाली अभियान सञ्चालन गर्ने गरेको छ ।

समावेशी संरचनाको निर्माण, लोकतन्त्रको सुदृढिकरण,मानव अधिकार र समावेशी शासन व्यवस्था सँगै संकटमा सशक्त भुमिका, वन, वातावरण र जैविक विविधताको संरक्षणका अतिरिक्त महत्वपूर्ण योगदानहरु सामुदायिक वनका हुन् । र, यिनै कारणले सदावहार ढँगले सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफुलाई सशक्त भुमिकामा उभ्याएको छ ।

जव महासंघ स्थापना भएर देशव्यापी रुपमा सञ्जाल विस्तार भयो वन विनास र चोरी तस्करीको दर ह्वात्तै घटेन मात्रै वन क्षेत्रको विस्तार समेत भएको छ ।

आज यो संगठन नेपालको मात्र होइन विश्वभरि नै सबैभन्दा धेरै वन संख्या र स्थानीय जनसमुहलाई प्रतिनिधित्व गर्दै सबैभन्दा ठूलो संगठनको रुपमा गौरव प्राप्त गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघको सञ्जाल र सम्बन्ध ग्रामिण दुरदराजको सामुदायिक वन उपभोक्ता समुहदेखि विश्वभर क्रियाशिल संयुक्त राष्ट्रसंघका निकाय हुँदै विभिन्न देशहरुका नागरिक र जनसंगठनसम्म जोडिएको छ । मैले यस महान संगठनको स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्मको नेतृत्वमा कार्य सम्पादन गर्ने अवसर प्राप्त गरे र यसप्रति मैले सदैव गौरव पनि गर्दछु । २५ वर्षको गौरवशाली यात्रामा भएका केही महत्वपूर्ण उपलब्धिहरु निम्नानुसार रहेका छन् ।

१. वनको संरक्षण र विस्तार:

विश्वव्यापी रुपमा मात्र होइन नेपालमा पनि वन विनाशको दर उकालो लागि रहेको थियो । समुदायको पहलमा वन संरक्षण सुरु भए पछि केही आशाका किरणहरु सञ्चार गरेको थियो तर यसले राष्ट्रिय रुपमा विस्तारको लहर सिर्जना गरेको थिएन । २०५२ साल अगाडि देशभरमा सामुदायिक वन उपभोक्ता समुहको संरक्षण नगण्य रुपमा (६ या ७ सयको हाराहारीमा) रहेको थियो ।

२०५२ सालमा यिनै समुहका विचमा अनुभवको आदान प्रदान गर्ने र एक अर्कामा आइपरेका समस्याहरुलाई मिलेर समाधानका लागि कार्य गर्ने उद्देश्यले २०५२ जेठ १८ गते विधिवत रुपमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना भयो । त्यतिवेलासम्म देशका धेरै भूभागमा वन विनाश, चोरी तस्करी आदि भइरहेको थियो । जव महासंघ स्थापना भएर देशव्यापी रुपमा सञ्जाल विस्तार भयो वन विनास र चोरी तस्करीको दर ह्वात्तै घटेन मात्रै वन क्षेत्रको विस्तार समेत भएको छ ।

नांगा डाँडापाखा हरियालीमा परिवर्तन मात्र भएन जैविक विविधता र वन संरक्षणमा हरित क्रान्ती नै भयो । पछिल्लो एक अध्ययनले नेपालमा पाँच प्रतिशत वन क्षेत्र क्षय हुनुमा सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको देखाएको छ । देशका एक तिहाइभन्दा धेरै वन क्षेत्र (करिव २० लाख हेक्टर) समुदायले प्रत्यक्षरुपमा संरक्षण गरी रहेका छन् । यसले राज्यको लगानीको क्षेत्रलाई घटाएको छ । नेपालको सामुदायिक वन विश्वका लागि खुला विश्वविद्यालय र सामुदायिक संरक्षण सिद्धान्तको रुपमा रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा तराई र भित्रि मधेशमा सामुदायिक वन हस्तान्तरणका लागि गरेको संघर्ष ज्यादै चाँखलाग्दा र उपलब्धीमुलक रहेका छन् । सात सयको संख्यामा रहेका सामुदायिक वन उपभोक्ता समुहको संख्याले आज वाइस हजार नाघेको छ । यो एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धी हो ।

आज महासंघ विश्वकै समावेशीका हिसावले उत्कृष्ट संगठनका रुपमा स्थापित भएकाे छ  ।

२. समावेशी संरचना निर्माणमा ऐतिहासिक योगदान: 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मात्र एउटा त्यस्तो संगठन हो जसले आफ्नो स्थापना कालदेखि नै विधानमा पचास प्रतिशत महिलाको सहभागीता अनिवार्य गरेको थियो । त्यतिवेला धेरैले यो सम्भव छ र भन्नेखालको प्रश्न गरेको अवस्था थियो । तर आज शासन पद्धतिका हरेक संरचनामा महिला सहभागिता सुनिश्चित गर्न यो नै एउटा ऐतिहासिक आधार छ भनेर देखाउने मौका मिल्यो ।

दाङ्गमा सम्पन्न भएको सामुदायिक वन उपभोक्ता महासंघको विशेष महाधिवेशनले महिलाको मात्र समावेशीकरण होइन कि सबै जातजाति, समुदाय , क्षेत्र, अपाङ्गता भएका र विपन्न समुदायको सहभागीतालाई विधान संशोधन गरेर सुनिश्चितता प्रदान गरेको छ । महिलाको सहभागिता कार्यसमितिमा पचास प्रतिशत हुने मात्र होइन नेतृत्व तह अध्यक्ष र महासचिव मध्ये एक पदमा तथा उपाध्यक्ष र कोषाध्यक्ष मध्ये एक पदमा अनिवार्य रुपमा महिला हुनैपर्ने वैधानिक व्यवस्था यही विशेष महाधिवेशनले गरेको थियो ।

त्यसैले आज महासंघ विश्वकै समावेशीका हिसावले उत्कृष्ट संगठनका रुपमा स्थापित मात्रै भएको छैन नेपालको संसद, राष्ट्रपति र उपराष्ट्रपतिमा एकजना महिला, सभामुख र उपसभामुख मध्ये एक पदमा महिला हुने संवैधानिक प्रावधान राख्न समेत ऐतिहासिक योगदान गरेको छ । राजनीतिक, सामाजिक क्षेत्रमा महिलाको सहभागीता र समावेशी संरचना निर्माणमा महासंघको ऐतिहासिक र अहम् भूमीका मान्न सकिन्छ । यही समावेशी संरचनाले महासंघलाई जन संगठनका रुपमा क्रियाशिल रहिरहन मद्दत गरेको छ ।

३. लोकतन्त्र, गणतन्त्र र संघीयता प्रणाली र सुदृढीकरणः

२०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्रको अपहरण गरेपछि देशभर सकसपूर्ण अवस्था रहेको थियो । देशकै सबैभन्दा ठूलो जनसंगठन सामुदायिक वन उपभोक्ता महासंघले के गर्दछ भन्ने सर्वत्र चासो थियो । तत्कालिन अवस्थामा राजनीतिक नेतृत्वले गरेको कमि कमजोरी र राजनीतिक दलभित्रको खिँचातानीले राजाको अलोकतान्त्रिक कदमका विरुद्धमा सडकमा जनता विरोधमा आइरहेका थिएनन् । त्यतिवेला महासंघ भित्र र बाहिर धेरै क्षेत्रमा राजाको कदमलाई साथ दिएर जानुपर्दछ भन्ने अभिमत नरहेको मात्र होइन राजाबाट पुरस्कार ग्रहण गर्नेको कमी समेत थिएन ।

कतिपय नागरीक समाजका अगुवामा राजाको कदमलाई साथ नदिने हो भने सरकारले वैदेशिक अनुदान रोक्ने र संस्था नै विघटन गरिदिदा खाइपाइ आएको अवसर वन्द हुन्छ भनेर मौन वसेको अवस्था थियो । त्यतिवेला मैले महासंघ भित्र लोकतन्त्र, प्रजातन्त्र र मानव अधिकार विना सामुदायिक वन विकास हुन नसक्ने तर्क प्रस्तु गर्दै लोकतन्त्र र मानव अधिकारका लागि राजाको कदमको विरोध गर्दै राजनीतिक दल र नागरिक समाजले संयुक्त रुपमा अगाडि वढ्नुपर्ने तर्क अगाडि सारे ।

अन्ततः सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय कार्य समितिको वैठकले लामो छलफल र बहसले मैले अगाडि सारेको यही विचारलाई पारित गर्यो र हामीले २०६२÷६३ को जनक्रान्तिमा राजनीतिक दलहरुको नेतृत्वमा सहभागी वन्यौ । सामुदायिक वनको लाखौ उपभोक्ता लोकतन्त्र, मानव अधिकारका लागि सडकमा उत्रिए र २०६२÷६३ को जनक्रान्ती उपलब्धीपूर्ण भयो ।

स्थानीय गाउँघरका सानातिना विवाद, समस्या, जटिलताहरु समाधानमा स्थानीय सामुदायिक वन उपभोक्ता समुहले महत्वपूर्ण भुमिका निभाएका छन् ।

तत्पश्चात पनि महासंघले लोकतन्त्र, गणतन्त्र र संघीयताको आधारभूत संरक्षणमा सामुदायिक वन भएको तर्कलाई सार्दै अगाडि वढ्यो । हरेक निर्वाचन र नयाँ संविधान निर्माणको प्रक्रियामा सहभागी भयो । महासंघले भनेजस्तो सामुदायिक संघीयता स्थापना नभएता पनि आज मुलुकमा लोकतन्त्र, मानव अधिकार र सामाजिक समावेशीकरण सुनिश्चित भएको छ । गणतन्त्र र संघीयता स्थापित भएको छ ।

एउटा नागरिक जनसंगठनका हिसाबले सामुदायिक वन उपभोक्ता महासंघले लोकतन्त्र, गणतन्त्र, मानव अधिकार र संघीयता स्थापना, शान्ति प्रक्रिया र सृदृढीकरणमा ऐतिहासिक योगदान गरेको छ । यिनै कारणले आज महासंघ राजनीतिक वृत्तमा समेत महत्वपूर्ण संगठनका रुपमा स्थापित भएको छ ।

४. सामुदायिक वन विपद्मा सारथीः

नेपाल विपद्को उच्च जोखिममा भएकाले विभिन्न समयमा विभिन्न खालका प्राकृतिक र अन्य विपद् झेल्दै आएको छ । हरेक विपत्ति र विवाद समाधानमा सामुदायिक वन र महासंघ बलियो सारथी वनेर सशक्त भुमिका निभाएका छन् । पछिल्लो पटक अहिले विश्वव्यापी कोरोनाको महामारीका विरुद्धमा लड्न र महासंकटमा सरकार र जनतालाई साथ दिन सामुदायिक वन र महासंघले सशक्त भूमीका खेलेको स्पष्ट छ ।

महासंघको आव्ह्वानमा देशका विभिन्न भागमा सामुदायिक वनका भवनहरु सुरक्षीत गृह (क्वारेन्टाइन) का रुपमा प्रयोग भएका छन् भने कोरोना महामारीको कारणले भएको वन्दाबन्दी (लकडाउन) का कारण रोजगारी गुमाएर रोजीरोटीको संकटमा परेको गरिब, विपन्न र श्रमिकहरुलाई सामुदायिक वन उपभोक्ता समुहहरुले देशभरमा खाद्यान्न, नगद र राहत तथा सुरक्षा सामग्री उपलबध गराएका छन् ।

यतिवेला मात्र होइन विगतमा भुकम्पको महामारी, बाढी पहिरो, आगलागी जस्ता महाविपद्को समयमा पनि पीडितलाई सामुदायिक वन समुह र महासंघ वलिया सारथीका रुपमा सहयोगको ऐतिहासिक भुमिका निभाएका छन् । स्थानीय समुह भित्रका गरिब , विपन्न, शारिरीक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई विशेष सहुलियत र सेवा प्रदान गरेको छ । स्थानीय गाउँघरका सानातिना विवाद, समस्या, जटिलताहरु समाधानमा स्थानीय सामुदायिक वन उपभोक्ता समुहले महत्वपूर्ण भुमिका निभाएका छन् ।

संकटमा सरकार भन्दा समुदाय छिटो पुग्दो रहेछ भन्ने महासंघको कामले सिद्ध भएको छ । हरेक संकट, विपद् र अफ्ठेरोमा सामुदायिक वन र महासंघ वलियो सारथीका रुपमा ऐतिहासिक भूमिका निभाइ रहेका छन् ।

वन फँडानीको दर ऐतिहासिक रुपमा कमी भएको छ ।

५. वन क्षेत्रको शासकीय सुधार:

कुनैवेला वन क्षेत्र शासकीय रुपमा अत्यन्तै वदनामी भएको क्षेत्र थियो । वन तस्कारी, वन्यजन्तुको चोरी निकासी र यस क्षेत्रमा भ्रष्टाचार उच्च रहेको थियो । जब तराई, पहाड भित्रि मधेश लगायत देशभरको एक तिहाइ पायक पर्ने वन क्षेत्र सामुदायिक वनका रुपमा स्थानीय समुदायमा हस्तान्तरण गरियो वन क्षेत्रको शासकीय अवस्थामा महत्वपूर्ण सुधार भएको छ । केही छिटपुट घटना वाहेक वन तथा वन्यजन्तुको चोरी तस्करीका घटना वन्द भएका छन् । वन फँडानीको दर ऐतिहासिक रुपमा कमी भएको छ ।

वन क्षेत्रमा हुने गरेका भ्रष्टाचारका घटना पहिलेका दिनहरुमा भन्दा ज्यादै न्युन रहेका छन् । वन प्रशासन र कर्मचारीको अस्वाभाविक चुरीफुरी घटेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नागरिक समाज र सञ्चार जगतको निरन्तर निगरानी र दवावका कारणले तथा दाताहरुको वन सुशासन सुदृढीकरण सम्बन्धी कार्यक्रमहरुले वन क्षेत्रको शासकीय प्रणालीमा सुधार ल्याउन मद्दत गरेको छ ।

वन क्षेत्रको लोकतान्त्रीक र शासकीय सुधारमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सामुदायिक वन उपभोक्ता समुहहरुले महत्वपूर्ण र ऐतिहासिक योगदान रहेको छ ।

६. विश्व मानचित्रमा नेपालको भूमिका:

विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम वुद्धको जन्मस्थलले मात्र होइन सामुदायिक वनको जननीका रुपमा समेत ख्याती कमाएको छ । सामुदायिक वन र सामुदायिक वन उपभोक्ता महासंघका कारणले नेपालको पहिचान र चिनारी थपिएको छ । वनको संरक्षणमा समुदायको सहभागीताको सिद्धान्त र वन संगठनको भूमीकाले विश्वव्यापी मान्यता पाएको छ ।

सामुदायिक वन र महासंघको अभियानले नेपालको पहिचान र गौरव फराकिलो वनाएको छ ।

साँच्चै भन्ने हो भने सामुदायिक वन र जन संगठन निर्माण विश्वव्यापिकरण भएको छ । विश्वका ख्यातिप्राप्त संगठनहरुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सामुदायिक वन अभिायनकर्मीको सशक्त सहभागीता र भूमिका रहेको छ । संयुक्त राष्ट्र संघका विभिन्न संरचनाहरु, विश्व बैंकका विभिन्न संरचनाहरु, विश्वविद्यालयहरु विश्वभर काम गरिरहेका अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सम्वन्ध विस्तारमा महासंघले ऐतिहासिक भूमीका निभाएको छ ।

विश्व मानचित्रमा नेपालको पहिचान स्थापित गर्न र जनस्तरको सम्वन्ध विस्तारमा सामुदायिक वन महासंघको भुमिका प्रशंसनिय छ । अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकर्षित गर्नमा विशेष योगदान पुर्याएको छ । सामुदायिक वन र महासंघको अभियानले नेपालको पहिचान र गौरव फराकिलो वनाएको छ ।

७. भुईमान्छेको नेतृत्व विकास:

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गएको पच्चिस वर्षमा गरेको अर्को ऐतिहासिक योगदान भनेको भुइतहमा (स्थानीय तह) रहेका भुइमान्छेहरु (सर्वसाधारण) को नेतृत्व निर्माण र विकास हो । आज सामुदायिक वन र महासंघका संरचनामा लाखौ भुइमान्छेहरुले गाउँदेखि विश्वस्तरसम्म नेतृत्व र भूमीका निभाएको अवस्था छ । सामुदायिक वन अभियान र महासंघको अभियानमा खटिएका हजारौ भुइमान्छेहरु संघ, प्रदेश र स्थानीय संसद र सरकारमा सहभागिता रहेका छन् ।

यसरी सामुदायिक वन उपभोक्ता महासंघको आन्दोलन र सामुदायिक वनको अभियानले लाखौ भुईमान्छेहरुको नेतृत्व र विकासमा ऐतिहासिक योगदान गरेको छ । लोकतन्त्रको अभ्यास भुईतहमा उभ्याइएको छ । नेतृत्व निर्माणको कारखाना र प्रयोगशालाको रुपमा महासंघले यो राष्ट्रलाई ठूलो योगदान गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो २५ वर्षमा खेलेको ऐतिहासिक भूमीका र गरेको योगदान एउटा सानो आलेखमा चर्चा गर्न असम्भव छ । महासंघ यो विचमा विखण्डन र विभाजनको चपेटाबाट जोगिदै अगाडि वढेको छ । महासंघ र सामुदायिक वनको अभियानलाई कमजोर वनाउन अनेकौ प्रपञ्च रचिय, धनराशी खर्च गरिए । तर ती सबैलाई परास्त गर्दै महासंघ र महासंघको नेतृत्व दृढ र एकजुट भएर अगाडी वढ्दै यहाँसम्म आइपुग्नु ठूलो ऐतिहासिक उपलब्धी हो । यो विचमा धेरै संघ संगठन र महासंघको उदय भै पतन समेत भै सकेका छन् । तर सामुदायिक वन उपभोक्ता महासंघले हरेक चूनौतिका पहाड छिचोल्दै संकटका भेलहरु गतिशिलताका साथ पार गरेर अगाडी वढिरहेको छ ।
विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस जस्तो महासंकट, वातावरणीय जोखिम, जलवायु परिवर्तनले निम्त्याएको संकट, गरिबीको चक्रबाट मुक्ति, दीगो र समतामुलक विकास, सुशासन सृदृढिकरण आदि अहिलेका प्रमुख चूनौतिलाई छिचोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आगामी ऐतिहासिक मार्गचित्र सहित बाटो तय गरोस् ।

आगामी यो यात्रामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र यस्को नेतृत्वलाई सफलता मिलोस् हार्दिक मंगलमय शुभकामना र बधाई छ । मलाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सामुदायिक वन अभियानमा सहयोग गर्ने र साथ दिने सबैमा धेरै धेरै धन्यवाद र उच्च सम्मान व्यक्त गर्दछु ।

(लेखक सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस