तुलसीपुरमा क्वारेन्टाइन बढाइदै,३ दिनमा भारतबाट १ सय २ जना आए

जेठ ०, २०७७

तुलसीपुर । भारतबाट आउने नेपालीको संख्या बढेसँगै तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माणलाई तिव्रता दिएको छ । १ सय वेडको क्वारेन्टाइन निर्माण गरेर काम अगाडि बढाएको उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न थालेको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । ‘५ ठाउँमा बनिसकेको छ अन्य ठाउँमा वनाउने तयारी चलिरहेको छ’ खत्रीले भने । उनले तत्कालका लागि ३ सय ५० वेड तयार भइसकेको बताए ।

रक्षाचौरमा १ सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा १ सय वेड निर्माण भइसकेको छ । भारतबाट आउने संख्यालाई आँकलन गरेर उपमहानगरपालिकाले २ हजार वेडको क्वारेन्टाइन निर्माणको तयारी गर्न थालेको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । ‘सबै एकैपटक नआउने भएकाले विस्तारै वेड निर्माणको काम अगाडि बढाएका छौ’ केसीले बताए ।

शुक्रबार दिउँसोसम्म १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा भारतबाट १ सय २ जना आएका छन् भने अन्य फरक जिल्लाबाट आएका छन् । ‘हरेक दिन आउनेको संख्या बढिरहेको छ’ केसीले भने । उनले भारतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने समेत बताए ।

९३ को पिसिआर टेस्ट

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर टेस्ट भएको छ । चेकजाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको पनि फोकल पर्सन केसीले जानकारी दिए । उनले ४७ जनाको आरडिटी चेकजाँच भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस