भारतले अतिक्रमण गरेको भूमिसहितको नेपालको नयाँ नक्सा जारी

जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ :  भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन्।

यसअघि प्रयोगमा आएको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन्। नेपालले प्रकाशित गरेको नयाँ नक्सालाई भारतले पनि सकारात्मक रुपमा लिने उनको विश्वास छ।

नयाँ नक्सा जारीभएसँगै अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन्।

उनले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गरेकी छिन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै नेपाली भूमि समेटिएको नक्सा जारी गरिएको हो।

नयाँ नक्सा अनुसार, नेपालको क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ बर्गकिलोमिटर हुनेछ। अहिले अतिक्रमित क्षेत्रको तीन सय ३५ किलोमिटर भूभाग समेटिएको छ। यसअघि नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ बर्गकिलोमिटर थियो।

कालापानी र लिपुलेकको क्षेत्रफल समेटिएको भएपनि लिम्पियाधुराको क्षेत्रफल समेटिएको थिएन्। अहिले पनि तीनै ठाउँमा भारतीय सुरक्षाकर्मी तैनाथ छन्।

प्रतिक्रिया दिनुहोस