यसकारण बन्याे नरैनापुर हटस्पट, एउटै पालिकामा ५५ संक्रमित

जेठ ०५, २०७७  |  ५१६ पटक पढिएको

नेपालगञ्ज– बाँकेको नरैनापुरमा मात्र सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन्।

जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।

सोमबार थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरउसर् र ससुराली गएको पाइएपछि आफन्तीको स्वाब लिइएको थियो।

नरैनापुर किन र कसरी बन्यो, कोरोनाको हटस्पट ?

पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन्। भारतको महाराष्ट्रमा पुगेका धेरै जना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको हो।

यो पालिकामा अझै मान्छे आउने क्रम रोकिएको छैन। राज्यको ठूलो शक्ति नेपालगञ्जको मुख्य नाकामा केन्द्रित छ। तर, जिल्लाको भूगोल बुझेका मानिसहरुले पूर्वको यो नाका प्रयोग गरिरहेका छन्।

नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज मानेका छन्। बाँके प्रहरीले रातीमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति त बनाएको छ। तर, ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरु प्रवेश गरिरहेका छन्। धेरै गाउँहरु पारी भारतीय गाउँ, वारी नेपाली गाउँ छन्। बीचको आँगनले देश छुट्याएको छ। त्यसमा भारतीय प्रहरीले सहजै आउन दिएपछि नेपालीलाई घर फर्किन सजिलो भएको छ।

गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसुन् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको छ।

जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन्। प्रायः कारोबार भारतीय बजारमा नै हुन्छ। कोरोनाको शुरुवाती चरणमा नेपालगञ्जको वडा नं. ८ हटस्पट बनेपनि अहिले आएर यो पालिका अगाडि आएको छ। भारतबाट आउनेले नै कोरोना बोकेर आएका छन्।

दिपेन्द्र माविका ३८ जनालाई अन्यत्र सारियो

नरैनापुरको वडा नं. ५ को दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन मावि, भोज भगवानपुर सारिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, दिपेन्द्र माविमा रहेका २५ वर्षीय युवकको मृत्यु भएपछि त्यहाँ रहेका अरुलाई अन्यत्र सारिएको हो । दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन माविको छेउमा टेन्ट टाँगेर राखिएको छ ।

स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, नरैनापुरमा भित्रिनेको संख्या बढिरहेको छ । पालिकाले क्वारेन्टाइन पनि थपेको छ । अहिले त्यहाँ १३ वटा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा ७ सय ७९ जना बसिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक हजार एक सय ६४ पुरुष र ६१ जना महिला गरी एक हजार दुई सय २५ जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । शनिबारसम्म क्वारेन्टाइनमा बस्ने एक हजार एक सय २६ जना थिए ।

प्रतिक्रिया दिनुहोस