दक्षिण एशियामा कोभिड-१९ का १४ हजार संक्रमित निको भए

एक हजार ८०० को मृत्यु

बैशाख २०, २०७७

काठमाडौं। तुलनात्मक रूपमा कोभिड-१९ को संक्रमण कम फैलिएको दक्षिण एशियाली क्षेत्रमा पनि यसको संक्रमणबाट हालसम्म एक हजार ८०० को निधन भइसकेको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध ८ देशमा हालसम्म करीब ६४ हजार व्यक्ति संक्रमित भएकोमा १४ हजार जना निको भएका छन्।

सार्कको ‘प्रकोप व्यवस्थापन केन्द्र’ द्धारा कोभिड-१९ सम्बन्धी सूचना आदान-प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको वेबसाइट covid19-sdmc.org मा आज बिहानसम्मको अपडेटमा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित भारतमा छन्। जनसंख्या पनि सबैभन्दा धेरै भएको भारतमा संक्रमित, मृतक र निको भएका गरी तीनवटै प्रकारमा बढी संख्या छ। ३५ हजार ३६५ जना संक्रमित भएको भारतमा एक हजार १५२ जनाको ज्यान गएको  छ भने ९ हजार ६४ जना निको भएका छन्।

भारतपछि बढी संक्रमित हुने देशहरूमा क्रमश: पाकिस्तान, बंगलादेश र अफगानिस्तान छन्। पाकिस्तानमा १७ हजार २३८, बंगलादेशमा आठ हजार २३८ र अफगानिस्तानमा दुई हजार १७१ जना संक्रमित भएका छन्। उक्त वेबसाइटका अनुसार यी तीन देशमा मृतकको संख्या क्रमश: ४०६, १७० र ६४ छ। पाकिस्तानमा संक्रमितमध्ये चार हजार ३५१ जना निको भएका छन्। निको हुने संख्यामा भने अफगानिस्तानले बंगलादेशलाई जितेको छ। त्यहाँ २६० जना निको भएकोमा बंगलादेशमा १६४ जना मात्र निको भएका छन्।

६९० जना संक्रमित भएको श्रीलङ्कामा सात जनाको मृत्यु भएको छ भने १६२ जना निको भएका छन्। त्यस्तै माल्दिभ्समा ४७५ जना संक्रमित भएकोमा एक जनाको मृत्यु भएको छ भने १७ जना निको भएका छन्।

नेपालमा १९ वैशाखमा थप दुई जनालाई संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ। हालसम्म संक्रमितमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अहिले ४३ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिड-१९ बाट हालसम्म एक जनाको पनि ज्यान नगुमाउने देशको सूचिमा दक्षिण एशियामा नेपाल र भुटान मात्र छन्। सात जना संक्रमित भेटिएको भुटानमा हालसम्म पाँच जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस