ओलीको सत्ता उन्मादले जन्माएको प्रश्न

दृष्टिकाेण

बैशाख १, २०७७

 

कोरोनाको कहरले जनजीवन ठप्प भएका वेला सरकारले ल्याएको राजनैतिक दल सम्बन्धी अत्यादेशले एकाएक तातिएको नेकपा भित्रको राजनैतिक सरगर्मी अझै सेलाएको छैन । बरु विषयबस्तुका हिसावले नेकपा भित्रको वहसले नयाँ कोण लिएको छ । लिखित रुपमै नेताहरुले स्थायी कमिटि वैठकको माग गरेपछी अब के हुन्छ को अवस्था सृजना भएको थियो । संसदीय दलमा ४० प्रतिशत पुगे पनि दल फुटाउन मिल्ने गरी आएको अत्यादेशले मधेशी दललाई जोड्ने मात्र काम गरेन त्यो भन्दा बढि त नेकपा भित्रै खैलाबैला मच्चायो ।

सरकारका हरेक महत्वपूर्ण कामहरुमा समेत पार्टीलाई थाहा नै भएन ।

भुसको आगो जस्तै भित्रभित्रै सल्किएको नेकपा भित्रको असन्तुष्टि त्यहि वेला छताछुल्ल भएर पोखियो । माधव नेपाल , प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतम एउटा कित्तामा उभिएपछि अत्यादेश त फिर्ता भयो तर नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदवाट समेत राजिनामा मागियो । फलस्वरुप वालुवाटारमा हस्ताक्षर अभियान चलाएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली पक्षधर नेताहरुले संसदीय दलमा वहुमत सिद्ध गर्ने खेलमा लागे भने बल्लतल्ल बसेको सचिवालयको वैठकमा अध्यक्ष केपी ओलीले कोरोनाको महामारी पछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पनि अध्यक्ष बनाउने कार्ड फाले ।

यसले परिस्थिती के हुने हो भन्ने अवस्था सृजना भएको छ , किनकी वामदेव गौतम यहि उधारो प्रस्तावमै रमाईसकेका छन् । यद्दपी आफु तेस्रो अध्यक्ष नहुने माधव नेपालले भने प्रष्ट पारेका छन् । र, कानुनी दृष्टिले गौतमलाई प्रधानमन्त्री वन्न त्यही सहज भने छैन ।

भृकुटीमण्डप महाधिवेशन पछि केपी ओली माधव नेपाललाई पेलेर जाने नीति अवलम्वन गरेको प्रष्ट छ । पार्टी एकताका प्रकृयाहरुमा,सरकार निर्माणमा कामहरुमा,नियुक्ती र मनोनयनका सन्दर्भहरुमा माधव नेपाल मात्र होईन सिंगो पार्टी पङ्तिमा समेत सल्लाह गर्न, छलफल गर्न,निर्णय गर्न र त्यो निर्णयलाई अनुमोदन गर्न समेत केपी ओलीले आवश्यक देखेनन् ।

सरकारका हरेक महत्वपूर्ण कामहरुमा समेत पार्टीलाई थाहा नै भएन । जुन पार्टीको जगमा टेकेर केपी ओली प्रधानमन्त्री भएका थिए त्यो  जगको उनले सधै अवमुल्यन गरे । म नै सर्वेसर्वा हुँ, म नै पार्टी हुँ, म वहुमतमा छु र मैले गरेका निर्णयहरु नै अन्तिम हुन्छन् भन्ने फ्रान्सेली राजा लुइ चौधौको जस्तो स्वेच्छाचारी ढंगले पार्टी र सरकार चलाउन खोजेकाले नै अहिलेको विषम परिस्थिति उत्पन्न भएको हो ।

हिजोका हरेक महत्वपूर्ण निर्णयहरुमा प्रचण्डसंग मिलेर आफु इतरका नेताहरुलाई सामान्य मर्यादा समेत नराखी हद भन्दा बढि हेपेर अघि बढ्नुले अहिलेको परिस्थिती आउनुमा महत्वपूर्ण भुमिका खेलेको छ । यसरी हेर्ने हो भने यो अवस्था स्वयम् प्रधानमन्त्री र पार्टी अध्यक्षले नै निम्त्याएको हो । किनकी अहिले मसंग मिलेको प्रचण्ड भोली अरु नेताहरुसंग मिल्दा म जतिवेला पनि अप्ठ्यारोमा पर्न सक्छु भन्ने सामान्य हेक्का केपी ओली जत्तिको चतुर राजनीतिको खेलाडीलाई थाहा हुनुपर्ने हो ।

माधव नेपालसंग आवश्यक सहयोग लिने,समन्वय गर्ने र सस्थागत निर्णयहरुमा भर पर्ने गरी अघि बढेको भए के विग्रन्थ्यो ?

इतिहासमा विरलै प्राप्त हुने सत्ता सुविधा अहिले केपी ओलीसंग छ । यो सरकारसंग जनताका धेरै आशा र अपेक्षाहरु जोडिएका छन् । मुलुकको भविष्यको रेखा कोर्न पाउने अवसर यो सरकारसंग छ । नौ महिनाको अल्पमतको सरकार चलाएर मनमोहन अधिकारीले लाखौ जेष्ठ नागरिको भरोसाका रुपमा एमालेलाई स्थापित गर्न सक्छन् भने झण्डै दुईतिहाईको एकल सरकार चलाएर केपी ओलीले भुमीहिन र गरिब विपन्न सुकुम्बासीहरुलाई आफैले चुनावी अस्त्र बनाएको लालपुर्जा दिएर आउँदो ५० बर्ष नेकपाको भविष्यको ग्यारेण्टी गर्न सक्दैनन् ?

संसारभर छरिएर पसिना बगाईरहेका युवाहरुले नेपालमै केहि गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सक्दैनन् ? भौतिक विकास त हिजो राजा र कांग्रेसका पालामा पनि भएकै थियो । खासमा सरकारले फटाफट जनपक्षिय कामहरु अघि बढाउने र जनताको मन जित्ने भन्दा दाउपेच निर्णयहरु गर्नमै अल्झिएको छ । १५ बर्ष पार्टिमा सर्वसम्मत महासचिव भएको , आफ्नै नेतृत्वमा जनआन्दोलन गरी राजा हटाएको र आफुसंग झिनो मत अन्तरले मात्रै अध्यक्षमा पराजित माधव नेपालसंग आवश्यक सहयोग लिने,समन्वय गर्ने र सस्थागत निर्णयहरुमा भर पर्ने गरी अघि बढेको भए के विग्रन्थ्यो ?

तर प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ कार्यशैली , वोलीभाषा र व्यवहारमा म कम्युनिष्ट पार्टीको अध्यक्ष हुँ भन्ने हेक्का समेत नराखेर पार्टीलाई गौण ठानेर कमिटिहरु लत्याउनाले नेकपा भित्र यो जटिल मोड आउन पुगेको छ । एमाले र माओवादी विचको पार्टि एकता अझै मजवुत बनिसकेको छैन । कम्तीमा एउटा महाधिवेशन नहुदासम्म यो एकताको अवस्था परिपक्व बन्दैन । यस्तो अवस्थामा नेताहरुले आवेगमा होईन विवेक पुर्याएर संयमताका साथ पार्टिका वैठकहरुमा आवस्यक छलफल गर्ने,वहस गर्ने निष्कर्ष निकाल्ने र सोहि अनुसार अगाडि परिपाटिको विकास अपरिहार्य छ ।

विगतमा पार्टि र सरकार चलाउदा भएका कमिकमजोरीहरु सुधार्ने,आफु सच्चिने र कार्यशैली सच्याउन,पार्टि कामको जिम्मा सहकर्मीहरुलाई दिएर आफुले जनअपेक्षा अनुसार सरकार चलाउने साहस केपी ओलीले गर्नै पर्छ । अब दुई बर्ष पार्टि काम गरेर ,त्यसपछिको निर्वाचन सानदार ढंगले जितेर प्रधानमन्त्री हुन्छु भन्ने विश्वास वामदेव गौतम जत्तिको नेतामा आएन र संविधान संसोधन तिर लागेमा त्यो नेकपाका लागि महंगो भुल हुनेछ ।

माधव नेपाल ,प्रचण्ड र झलनाथ खनालको काधँमा पार्टिलाई जीवन्त बनाउने,नेताहरुलाई सच्चीन बाध्य बनाउने, पार्टिमा विधि स्थापना गर्ने, एकतालाई थप मजबुत बनाउने , सरकारलाई पार्टिको निर्णयका आधारमा चलाउने र नेकपालाई जनताको भरोसायोग्य पार्टि बनाउने जिम्मेवारी छ । कमरेडहरु,अहिले नै अध्यक्ष,प्रधानमन्त्री, राष्ट्रपती बन्ने लालसाबाट माथी उठ्नुस्, पहिले पार्टि बनाउनस् , यी पदका कुर्सीहरुले तपाईहरुलाई पर्खिरहने छन् । आउनेवाला समय तपाईहरुका लागि वहुत सुन्दर छ ।

प्रतिक्रिया दिनुहोस