सचिवालय बैठकमा ओलीको प्रस्ताव- ‘बामदेवजीलाई प्रधानमन्त्री बनाऔं’

बैशाख १८, २०७७

काठमाडौं। प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विकल्प खोज्ने भए बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार साँझ बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन्। गौतम नेकपाका उपाध्यक्ष हुन्।

नेकपाभित्र एक सातायता बढेको तनाबपछि तनाबकै परिस्थितिमा सचिवालय बैठक बोलाइएको थियो।

खासगरी सरकारले ८ वैशाखमा ल्याएका दुईवटा अध्यादेशले पैदा गरेको तरंग नेकपामा प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दीको चरणमा पुगेको थियो। सचिवालयका एक सदस्यका अनुसार बैठकको शुरूमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारबारे गम्भीर प्रश्न उठेको र सबैतिरबाट दबाब उत्पन्न भएको बताएका थिए।

दाहालले यस्तो भनेपछि प्रधानमन्त्री ओलीले दिएको जवाफ उद्धृत गर्दै ती सचिवालय सदस्यले भने,“त्यसो भए ठीक छ, तपाईंहरू (दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल) प्रधानमन्त्री भइसकेको मान्छे, म पनि प्रधानमन्त्री भइसकेँ। पहिले देशलाई कोरोनाको संकटबाट पार लगाऔँ। अनि, कहिल्यै प्रधानमन्त्री नभएका बामदेवजीलाई प्रधानमन्त्री बनाऔं।”

प्रधानमन्त्री ओली यतिमै रोकिएनन्। ती सचिवालय सदस्यका अनुसार उनले फेरि भने, “अहिले संसद बसेको छैन। यो संकट पार लागेपछि संसदमा जाऔं। बामदेवजी कहिल्यै प्रधानमन्त्री बन्नु भएको छैन, उहाँलाई नै प्रधानमन्त्री बनाऔं।”

ओलीको यस्तो प्रस्तावपछि दाहालले कुनै प्रतिक्रिया नदिएको उनले बताए। त्यसक्रममा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष परिवर्तनको प्रसंग पनि उठाएको उनले बताए।

“उहाँले पार्टीले जसलाई विश्वास गर्छ, उही अध्यक्ष बने भइहाल्यो नि भन्नुभो”, ती सदस्यले भने।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्तावसमेत गरेका थिए। नेकपामा अहिले ओली र दाहाल अध्यक्ष छन्। उनको प्रस्ताव नेपाललाई तेस्रो अध्यक्ष बनाउने भन्ने थियो। यसअघि ओली र दाहालपछिको वरियतामा रहेका नेपाल आफूभन्दा माथि अर्का नेता झलनाथ खनाललाई ल्याइएपछि असन्तुष्ट बनेका थिए।

बैठकमा एक सचिवालय सदस्यले अध्यक्ष दाहालमाथि ‘पद, पैसा र परिवारमात्र हेरेको र देशलाई भड्खालोमा हाल्न खोजेको’ आरोपसमेत लगाएका थिए। तर, त्यसमा पनि दाहालले कुनै टिप्पणी नगरेको ती सदस्यले बताए।

करीब तीन घण्टा बसेको सचिवालय बैठक २० वैशाखमा पुनः बस्ने गरी टुंगिएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र उत्पन्न सबै समस्याबारे बैठकमा गम्भीर छलफल भएको र २० वैशाखमा पुनः छलफल गर्नेगरी बैठक सकिएको बताएका थिए।

यसबीचमा नेतृत्व तहबीच पुनः अनौपचारिक छलफल र गृहकार्य हुनेसमेत उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस