दाङमा पिसिआरबाट कोरोना परीक्षण सुरु

बैशाख १५, २०७७

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मेसिनबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ। पहिलोपटक परीक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति प्रा. डा. संगीता भण्डारीले जानकारी दिएकी छिन्।

प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी पहिलोपटक परीक्षण गरेको रिपोर्ट सार्वजनिक गरेको हो। प्रतिष्ठानकी उपकुलपति प्रा. डा. भण्डारीले पहिलो चरणमा कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्।

घोराही उपमहानगरपालिका-१५ र १६ बाट आएका ५ जना, तुलसीपुर उपमहानगरपालिका-६ बाट आएका ५ जना र सल्यानबाट आएका १ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताइन्। पहिलोपटक परीक्षण गरिएका सबै जनाको पुनः परीक्षणका लागि भैरहवासमेत पठाइएको थियो।

‘पिसिआर मेसिनबाट पहिलो ११ जनाको परीक्षण गरेका छौं, जसमा ११ जनाकै रिपोट नेगेटिभ आएको छ,’ उपकुलपति डा. भण्डारीले भनिन्, ‘पहिलो चरणमा मेसिनमा केही समस्या छ कि भनेर यहाँ परीक्षण गरेका ११ जनाकै स्वाब भैरहवामा पनि पठाएका थियौं। त्यहाँ पनि रिपोर्ट नेगेटिभ आएको छ।’

दोश्रो चरणको परीक्षणमा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आएका ४ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका २ जना गरी ६ जनाको परीक्षण प्रक्रियामा रहेको उनले बताइन्। राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको पिसिआर मेसिनबाट दैनिक एक सय ९३ देखि २ सय जनाको स्वाव परिक्षण गर्न सकिने उनले बताइन ।

स्वाब परीक्षणको रिपोर्ट आउन ६ घण्टा लाग्ने प्रतिष्ठानले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान भएको पिसिआरमा एकैपटक ९६ जनासम्मको परीक्षण गर्न सकिने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस