घरबाटै पढाई : अभिभावकको भूमिका के हुने?

बैशाख १३, २०७७

 

लकडाउन सुरु भएको महिना दिन नाघिसकेको छ। कहिले खुल्ने भन्ने टुंगो छैन। खुले पनि तत्कालै विद्यालय खुल्ने सम्भावाना छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिाजमणि पोखरेलले सातै प्रदेशका समाजिक विकास मन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत बैकल्पिक शिक्षण पद्दतिमा जोड दिएको बताएका छन्।

शिक्षा मानवस्रोत तथा विकास केन्द्रले सोही अनुसार भर्चुअल पढाइको तयारी गरिरहेको जनाएको छ। मानवस्रोत तथा विकास केन्द्रका प्रमुख तुलसी प्रसाद थपलियाका अनुसार कक्षा १ देखि १० सम्म अनलाइन पोर्टल, टिभी रेडियो, युट्युव, जुम मार्फत विविध विधि अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

‘हामीले कक्षा १० सम्मको पाठ्यपुस्तकहरु तयार गरेका छौँ,’ थपलियाले भने, ‘दुई दिनभित्र अपलोड गछौं।’

यसको अर्थ हो- लामो समय विद्यालय खुल्दैन। केन्द्रका अनुसार, विद्यार्थीले आफ्नो सुविधा अनुसार अनलाइन, टिभी, रेडियो, जुम मार्फत विद्यालयमा समन्वय गरेर पढ्नुपर्ने छ। विद्यालयले टेलिफोन, इमेल अथवा आफ्नो वेबसाइट मार्फत विद्यार्थीको नतिजा प्रकाशित गर्नेछन्।

विद्यार्थीले अनलाइन पोर्टलबाट स्वअध्ययन गर्न सक्नेछन् भने विद्यालयले सञ्चालन गर्ने भर्चुअल कक्षामा अध्ययन गर्न सक्नेछन्।

अनलाइन पोर्टलमा अफलाइन पाठ्यसामाग्रीहरु उपलब्ध हुनेछन्। अनलाइनको पहुँचमा नहुनेले रेडियो टिभीबाट सञ्चालित हुने कक्षामा सहभागी हुन सक्नेछन्।

घरमै बस्ने छोराछोरीलाई विशेष हेरचाह र पढ्नको लागि वातावरण तया गर्न मानव स्रोत तथा विकास केन्द्रका प्रमुख थपलियाले आग्रह गरे। ‘विद्यालय नखुलुन्जेल पढाइको जिम्मेवारी पनि अभिभावकको काधँमा आएको छ’, उनले भने, ‘आफ्नो छोराछोरीलाई कुन माध्यमबाट पढाउन सकिन्छ, सो को उपयोग गरेर विद्यार्थीलाई सिकाइरहन अभिभावक समक्ष अनुरोध गर्छु।’

सामान्य अवस्थामा विद्यार्थीको पढाई तथा सिकाई विद्यालय पुगेपछि गृहकार्यबाहेक सम्पूर्ण जिम्मा विद्यालयका हुन्थ्यो। विद्यालय नखुलुन्जेल यो जिम्मेवारी पनि अभिभावकको काँधमा थपिएको छ।

प्राध्यापक एवं शिक्षाविद् विद्यानाथ कोइराला छोराछोरीले कसरी सिक्छन्, कुन विषयवस्तुलाई कसरी लिन्छन् उनीहरुको रुची, मनोभावना के हो भन्ने बुझ्ने यो उपयुक्त समय भएको बताउँछन्। ‘सरकारले पनि अनलाइन, रेडियो टिभी आदिबाट पढाउने भनेको छ,’ उनले भने, ‘आफूसँग उपलब्ध स्रोतलाई उपयोग गरेर उनीहरुसँगै बसेर उनीहरुले कसरी सिक्छन्, उनीहरुको रुची के छ भनेर अभिभावकले सिक्दा धेरै राम्रो हुनेथियो।’

प्राध्यापक कोइरालाले अभिभावकलाई केही सुझाव दिएका छन्।

आफैं पढाउने 
अभिभावकहरु आफैं पढाउन सक्नुहुन्छ भने छोराछोरीलाई आफैं पढाउन थाल्नुभए राम्रो हुन्छ। जसको लागि आफ्नो छोराछोरी पढ्ने कक्षाको पाठ्यक्रम हेरौँ। दिनैपिच्छे फरकफरक विषय पढाऔं। धेरै कुरा इन्टरनेटमा सरकारले राखेको कोर्ष मार्फत पनि पढाउन सकिन्छ।

जो सक्षम छ, उसैलाई पढाउन लगाउने 
सबै अभिभावकले पढाउन सक्नुहुन्छ भन्ने हुँदैन। त्यसकारण घरमा अथवा वरपर जो सक्षम छ उसैलाई पढाउन लगाउन सकिन्छ। विद्यायलको कोर्ष बुकमा नै केन्द्रित गरेर पढाउँदा उनीहरुलाई पढाइ छुटेको जस्तो अनुभुति हुँदैन। निरन्तर पढ्ने बानी लाग्छ।

 

घरमै बसेर पढ्ने तयारी गरौं 
सबैभन्दा महत्वपूर्ण अभिभावकले छोराछोरीलाई घरमै बसेर पढ्न सकिने तरिका पनि छन् भनी तयारी गर्न सकिन्छ। स्वअध्ययन कसरी गर्न सकिन्छ। प्राप्त स्रोत र साधनको उपयोग कसरी गर्ने तथा घरमै सम्पूर्ण कोर्ष कसरी पढ्ने र किन घरमा बसेर पढ्न जरुरी छ भनी बुझाउनुपर्छ।

पाठ्यक्रममा बढी केन्द्रित गरौं
पाठ्यक्रम विकास केन्द्रले विषयगतभन्दा सन्दर्भ पाठ्यसामाग्री राखिदेओस्। अभिभावक वा पढाउनेले पनि सोही अनुसार अपडेट हुन जरुरी छ। अहिले शैक्षिक सत्र सकिएकाले विद्यार्थी मनोरञ्जनात्मक भिडियोहरु हेरिरहेका छन्। अभिभावकले यो छुटाउनु पर्छ। अब इन्टरनेटलाई कसरी अधिकतम पढाइसँग जोड्ने भनेर सोच्नुपर्छ। साथै, पाठ्यक्रममा आधारित सामाग्रीहरु हेर्न जरुरी छ।

कुराकानी गरिरहने 
धेरै जसो अभिभावकहरुले घरबाटै कार्यलयको काम गर्नुपरेको छ। अभिभावकले एकोहोरो काम र कार्यालयकै काम गर्दा बालबालिकाले एक्लो महसुस गर्न सक्छन्। त्यसैले उनीहरुसँग कुराकानी गरिरहनुपर्छ।

प्रतिक्रिया दिनुहोस