विश्वभर कोरोनाबाट मर्नेको संख्या २ लाख नजिक

बैशाख १२, २०७७

 

विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब २ लाख पुगेको छ। हालसम्म विश्वक २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार विहीबारसम्म विश्वमा कोरोनाबाट मर्नेको संख्या १ लाख ९० हजार ६ सय ५४ रहेको छ। बिहीबारसम्म नै विश्वमा २७ लाख १८ हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

हालसम्म कूल संक्रमतिमध्ये ७ लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वका विभिन्न अस्पताल र घरमै बसी कोरोना भाइरसको उपचार गरिरहनेको संख्या १७ लाख ८२ हजार ४ सय २५ रहेको छ। उपचारतमध्ये ५८ हजार ६ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १७ लाख २३ हजार ७ सय ४७ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ। यीमध्ये ९ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने ३९ जनाको उपचार चलिरहेको छ। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएका थिए।

विश्वमा पहिलोपटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसपछि यो भाइरस अहिलेसम्म विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ। अमेरिकामा हालसम्म ८ लाख ८० हजार २ सय ४ जनाका कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा कोरोना भाइरसका संक्रमित २ लाख १३ हजार २४ जना रहेकोमा २२ हजार १ सय ५७ जनाको मृत्यु भइसकेको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ पुगेको छ। यीमध्ये २५ हजार ५ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा कोरोनाका संक्रमितको संख्या १ लाख ५८ हजार १ सय ८३ रहेको छ र २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख ५३ हजार १ सय २९ पुगेको छ, जसमध्ये ५ हजार ५ सय ७५ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा १ लाख ३८ हजार ७८ जना कोरोना भाइरस संक्रमित पुगेकोमा १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ। टर्कीमा १ लाख १ हजार ७ सय ९० जना कोरोना भाइरसका संक्रमित रहेका छन्। यीमध्ये २ हजार ४ सय ९१ जनाको मृत्यु भइसकेको छ।

इरानमा ८७ हजार २६ कोरोना भाइरसका संक्रमित रहेकोमा हालसम्म ५ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ। चीनमा ८२ हजार ८ सय ४ कोरोना भाइरसका संक्रमित पुगेको छन्, जसमध्ये ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

रुसमा ६२ हजार ७ सय ७३ जना कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ। यीमध्ये ५ सय ५५ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा कोरोना भाइरसका संक्रमित ५० हजार ३६ जना रहेकोमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ। बेल्जियममा ४२ हजार ७ सय ९७ जना कोरोना संक्रमित संख्या पुगेको छ। यीमध्ये ६ हजार ४ सय ९० जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरसका कारण क्यानडामा २ हजार १ सय ४७, नेदरल्याण्ड्समा ४ हजार १ सय ७७, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ४९, स्वीडेनमा २ हजार २१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस