चित्तलको जिवितै उद्धार

बैशाख ११, २०७७

चोरी शिकारी भएको एक चित्तललाई बिहिबार डिभिजन वन कार्यालय घोराहीको टोलीले घाइते अवस्थामा उद्धार गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका १५ पतकौलीस्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहिबार दिउँसो चित्तलको जिवितै उद्धार गरिएको डिभिजन वन कार्यालय प्रमुख दिपक ज्ञवालीले बताए । नदी उकास क्षेत्रमा बृक्षारोपण गरी बनाइएको वनबाट गाउँ नजिकै रहेको वनमा चर्न आएको चित्तललाई स्थानीय युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको उनले बताए ।

स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटेर मार्न लागेको सूचना पाएपछि डिभिजन वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेको हो । चित्तललाई सामुदायिक वनको भवनमा थुनेको अवस्थामा फेला पारेको उनले बताए । युवाहरु चित्तल थुनेर भागेको र उनीहरुको खोजी भैरहेको ज्ञवालीले जानकारी दिए । उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालयको उद्धार कक्षमा राखी औषधी उपचार शुरु गरिएको छ ।

लकडाउनको समयमा डिभिजन वन कार्यालयले वन गस्तीलाई तिव्र पारेको छ । मंगलबार पनि पश्चिम दाङको शान्तिनगरबाट सिकार गरिरहेको अवस्थामा भरुवा बन्दुक सहित चार जनालाई पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यस अवधीमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद बरामद गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस