प्रदेश ५ मा ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

बैशाख ०८, २०७७

 

प्रदेश ५ मा किसानले उत्पादन गरेका कृषि उपजको ढुवानी गर्ने गरी ‘कृषि एम्बुलेन्स सुरु’ गरिएको छ। कोरोना नियन्त्रणका लागि भएको लकडाउनका कारण किसानको उत्पादनले बजार पाउन नसकेको गुनासो आएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ वटै जिल्लामा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई बजारसम्म पुर्याउन यसले सहज बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयले प्रदेशका ४४ वटा गाडीमार्फत कृषि उपजको ढुवानी गर्दै आएको छ।

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रका पिकअप भ्यान र मन्त्रालय मातहतका कार्यालयहरुले अनुदानस्वरुप प्राप्त गरेका पिकअप भ्यानले ढुवानी गरिरहेका छन्। सोमबार मात्रै रुपन्देहीको देवदह नगरपालिकामा कृषि एम्बुलेन्स सुरुवात गरिएको छ।

देवदह नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। कृषि एम्बुलेन्सको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गरिन्।

किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताए।

यस्तै आइतबार पाल्पाको तानसेन नगरपालिकामा सुरुवात कृषि एम्बुलेन्सको सुरुवात गरिएको छ। प्रदेश सरकारले खाद्यान्नको आपूिर्त तथा दैनिक उपभोग्य कृषि उपजको सहजताका लागि यस्तो रणनीति बनाएको हो। किसानहरुमा नैराश्यता पैदा हुन नदिई उत्पादित सामानको ढुवानी, बाली लगाउन र भित्र्याउनका लागि यस्तो काम सुरु गरिएको मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बताए।

मन्त्रालयले लकडाउनका बेला अत्यावश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपूर्ति तथा वितरण र उत्पादित सामग्रीको सुलभ आपूर्तिको सुनिश्चित गर्ने भएको छ। साना किसानहरुलाई यसको प्रभाव न्यूनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको व्यवस्था गर्न आग्रह गरेको सचिव तेजबहादुर सुवेदीले बताए।

कोभिड-१९ को प्रभाव न्यूनीकरणको लागि आवश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिव सुरेशचन्द्र आचार्यलाई तोकिएको छ। समन्वयका लागि सबै कार्यालयहरुमा एक-एक जना सम्पर्क अधिकृत तोक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

प्रत्येक जिल्लामा एक सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन व्यवस्थापन प्रणालीमार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने छ। उक्त पासका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँगसमेत समन्वय गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

कोरोनाको असर जताततै परे पनि कृषि उपजविना मानिसहरुको दैनिक जीवन सम्भव नभएकाले भोकमरीबाट बचाउन र किसानका उत्पादनलाई बजारसम्म पुर्याउन मन्त्रालयले उक्त कार्यको थालनी गरेको जनाएको छ।

बीउ, मल तथा कीटनाशक विषादी, चल्ला, दाना, चारो, घाँस परालको आपूर्ति व्यवस्था मिलाउने र समयमा बाली थन्काउने तथा बाली लगाउने कार्यमा भौतिक दूरी कायम राखी गराउने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस