लकडाउनले दाङमा ७ हजार बढी भारतीय श्रमिक समस्यामा

बैशाख ०४, २०७७

तुलसीपुर । कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण दाङ जिल्लाका इँटा उद्योगहरु बन्द भएपछि अहिले ७ हजार बढी भारतीय श्रमिकहरु अलपत्र परेका छ्न्।

जिल्लाका विभिन्न स्थानमा रहेका ३६ इटा उद्योग बन्द भएपछि कामबिहीन भएका उनीहरु लकडाउनका कारण नेपाल भारत सीमा बन्द भएपछि घर जान सकेका छैनन्। काम बन्द भएपछि आफूहरुलाई खान बस्न समस्या भएको भन्दै उनीहरुले घर फर्कने वातावरण मिलाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।

घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित मनकामना इँटा तथा गोल्ड इँटा उद्योगमा कार्यरत करिब ५ सय भारतीय श्रमिकहरु रहेका छन्।

सरकारले तीन सातादेखि लकडाउन घोषणा गरेपछि अन्य उद्योगसँगै जिल्लाका सबै इँटा उद्योगहरु पनि बन्द भएका छन्। इँटा उद्योगमा काम गर्न अधिकांश मजदुरहरु परिवारसहित आएका छन्। जसका कारण उनीहरुसँग कम्तीमा एक हजार बालबालिकाहरुसमेत आश्रित छन् । अव्यवस्थित बसोबास गर्ने उनीहरु कोरोनाको संक्रमणका रुपले पनि बढी जोखिममा छन्।

‘उद्योग बन्द भएपछि हामीलाई खान बस्न समस्या भएको छ, यो अवस्थामा हामी घर फर्कन चाहन्छौं,’ घोराही  १० नारायणपुरमा रहेको मनकामना इँटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने, ‘भोकभोकै यहाँ बसिरहन सकिँदैन, यो अवस्थाले झनै समस्या निम्त्याउन सक्छ।’ उनले आफू जसरी पनि घर जान चाहेको भन्दै उतै भारतीय क्वारेन्टाइनमा बस्न तयार रहेको बताए।

कामबिहिन हुँदा मजदुरहरुसँगै बालबालिकाहरु समेत समस्यामा परेको अर्का श्रमिक सुनिचा चौहानले बताइन्। ‘कामबिहिन भएपछि अलिअलि भएको पैसा पनि सकियो। पैसा नहुँदा खानलाई समस्या परेको छ,’ उनले भनिन्, ‘उद्योगमा केही पाइादैन, लकडाउनका कारण बजार जान पाइँदैन।’ उनले बिरामी हुँदा औषधि किन्नसमेत जान नसक्ने अवस्था रहेकाले आफूहरुलाई भारत फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेकी छिन्।’ उनले लामो समयदेखि नियमित काम नहुँदा पारिश्रमिक समेत नपाएको बताइन्। जसले गर्दा साँझ विहान खान समस्या भएको दुःखेसो पोखिन्।

भारतीय श्रमिकहरुको बाहुल्यता भएका इँटा उद्योग आसपासका स्थानीयबासी त्रसित बनेका छन्। लकडाउनको समयमा अव्यवस्थित रुपमा हिंडडुल गर्दा इँटा उद्योग नजिकै रहेका बस्तीका नागरिक त्रसित हुने गरेका छ्न्। श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउँबस्तीमा समस्या आउन सक्ने खतरा रहेको स्थानीय देवराज लामिछानेले बताए। ठूलो सङ्ख्यामा रहेका मजदुर काम नहुँदा खान बस्नसँगै उनीहरुमा कोरोना भाइरसको जोखिम समेत रहेकाले उनीहरूलाई कि व्यवस्थति रुपमा बसाउनुपर्ने नत्र आफ्नै देश पठाउनुपर्ने उनले बताए।

लामो समयसम्म इँटा उद्योग बन्द रहने अवस्था रहेकाले ठूलो सङ्ख्यामा रहेका मजदुरहरुलाई पाल्न समस्या भएको मनकामना इँटा उद्योगका सञ्चालक तथा दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीले बताए । ‘काम रोकिएको करिब एक महिना भयो, जेनतेन दालचामलको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘उद्योग बन्द हुँदा कामदार पाल्नै समस्या भयो।’ व्यवसायीहरुले प्रशासनलाई वातावरण मिलाएर घरसम्म पठाउनुपर्ने बताएका छ्न्।

कुटनीतिक पहल आवश्यक : प्रजिअ रिजाल

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुलाइ घर फर्काउने विषयमा दुई देशबीच कुटनीतिक पहल हुनुपर्ने बताएका छन्। यसका लागि स्थानीय प्रशासनले रिपोर्टिङ गरिरहेको उनले बताए।

‘जिल्लाका हरेक इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुको तथ्यांक संकलन गर्ने काम भैरहेको छ,’ प्रजिअ रिजालले भने,’ अहिले दुवै देशमा लकडाउनको अवस्था रहेको छ, त्यसैले दुई देशबीच छलफल गरेर मजदुरका समस्या समाधान गर्नुपर्छ।’ उनले भारतीय मजदुरको समस्याबारे केन्द्रमा रिपोर्टिङ गरिरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस