तुलसीपुरमा २५ करोडको लागतमा व्यापारीक कम्प्लेक्स बन्दै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बहुउपयोगी व्यापारिक कम्प्लेक्स भवन निर्माणको प्रक्रिया अगाडी बढाएको छ । कम्प्लेक्स निर्माणका लागि टेण्डर आव्ह्वान भएसँगै लामो समयदेखि तुलसीपुरमा टावर निर्माण गर्ने सपना पुरा हुने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै जोडदारका साथमा टावर निर्माणको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
“विभिन्न चरणमा टावर निर्माणका लागि छलफल भएर अन्ततः पुरा हुने भएको छ ” नगरप्रमुख पाण्डेले भने । उनले टावर तुलसीपुरको पहिचानका रुपमा मात्रै नभएर यहाँको व्यवसायका लागि फलदायी सावित हुने विश्वास व्यक्त गरे । “टावर निर्माणसँगै तुलसीपुर नयाँ अध्यायमा प्रवेश गर्नेछ ” उनले भने ।
नगर विकास कोषको ऋण सहयोगमा २५ करोडको लागतमा उपमहानगरपालिकाले टावर निर्माणका लागि टेण्डर आव्ह्वान गरेको इन्जिनियर पवन योगीले जानकारी दिए । उनले मंसिर १६ गतेसम्मको समय तोकिएको पनि वताए । उपमहानगरपालिकाको भवनदेखि उत्तरतर्फ निर्माण हुने टावर ६ तलाको हुने पनि इन्जिनियर योगीले जानकारी दिए ।
६ तलाको टावरको सबैभन्दा माथि तुलसीपुरको पहिचानका रुपमा कलात्मकरुपले टि लेखिने पनि नगरप्रमुख पाण्डेले वताए । पसलको प्रकृति र आवश्यकता अनुसार कोठाको संरचना पनि तयार हुने इन्जिनियर योगीले वताए । भवन ३ वर्षभित्रमा निर्माण भइसक्नेछ ।
प्रतिक्रिया दिनुहोस