काेराेना जित्नेका कथा

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८  |  ६७७ पटक पढिएको

कोरोना संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुने खबरहरुका बीचमा केयौ सुन्दा आनन्द लाग्ने र उत्साह आउने खबरहरु पनि छन् । विभिन्न सावधानी अपनाउँदै घरमै आइसोलेसन वसेर कोरोना जित्नेहरुको ग्राफ पछिल्लो समय उकालो लागिरहेको छ । हामीले आज मात्रै करिव २० दिनपछि कोरोना जित्नुभएका दुईवटा प्रतिनिधि पात्रका अनुभवहरु खबरशालामा समेटेका छौ ।

संगीत वस्याल


कोरोनासंगको लडाईमा मेरो जित भयो । मेरो रिपोर्ट नेगेटिभ आयो । संसार रुवाईरहेको कोराना जित्नु सानो कुरा हो जस्तै लागेको छैन। आईसोलेसन बसाईका दिन वहुत कष्टकर रहे । अक्सिजन ८६ सम्म भयो , शरिरको दुखाई भनी साध्य छैन् । ज्वरो १०२‍.४ सम्म निरन्तर आयो , मनमा अब हुन्न केरे भन्ने मात्रै आउने । तर म तपाईहरु सबैको मायाले घरमै ठिक भए ।


कोभिडका विरामी जसले यो पढ्दै हुनुहुन्छ, हिम्मत , आँट र खानपिनमा जोड गर्नुहोला , पक्कै निको हुन्छ । तपाईहरु सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । नजिकका आफन्त, साथीहरु र छिमेकि गुमाउनुको पीडा कम भएकै छैन् ।


२१ दिनको यो आईसोलेसन बसाईले जीवन र सपनाहरु प्रतिको मेरो दृस्टीकोण थप फराकिलो बनाएको छ । यसलाई ख्याल ठट्टा गर्ने काम कसैले पनि नगर्नुहाेला र आत्मबल बलियाे वनाउनुहाेला ।

खीमा कुमारी भण्डारी


कोरोना संक्रमण भएपछि म निकै डराएको थिए । एकातिर लामो समयदेखि मलाई दीर्घरोगले च्यापेको थियो भने अर्कातिर कोरोना संक्रमितहरु दिनदिनै मरिरहेका सूचनाहरु आइरहेका थिए ।

केही दिन निकै जटिल भयो । अक्सिजन लेबल समेत घटेर गएपछि परिवारका सदस्य समेत चिन्तामा रहनुपर्ने अवस्थाको सृजना भयो । तर पनि मैले हार भने खाइन । जसरी पनि जित्छु भन्ने आत्मविश्वास विस्तारै पलाउँदै गयो ।

तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुले घरमै आएर चेकजाँच पनि गर्नु भयो । जसले केही थप आशा पलायो । अहिले म पूर्णतः कोरोनाबाट मुक्त भएकी छुँ । ६५ वर्षको उमेरमा पनि मैले कोरोना परास्त गर्न सके । यसका मेरो आत्मबल सबैभन्दा महत्वपूर्ण हो जस्तो लाग्छ ।


कोरोना तपाई हामीले सोचजस्तो सजिलो छैन । यसबाट जोगिनु नै सबैभन्दा ठूलो कुरा हो । यस्तै त हो नि भन्ने खालको सोच राखेर कसैले पनि यसमा लापरबाही नगर्नु होला ।

प्रतिक्रिया दिनुहोस