वा ! चेलो होस् त यस्तो

खबरशाला संवाददाता  |  पुष २५, २०७७

भर्खरै सरकारीमा प्रवेश गरेको पत्रकार पृष्ठभुमीका ध्रुवराज न्यौपानेको पुस २१ गते जन्मदिन थियो । जसको पत्रकारितामा डिआरएन भन्ने पहिचान छ । साथीभाइसँग रमाइलो गरेर जन्मदिन मनाउने उनको आदत भइसकेको थियो । काम विशेषले उनी रोल्पामा थिए ।

जन्मदिन मनाउन दाङ्ग आउन पाएनन् । रोल्पाको एकान्तपनमा वर्थडेको दिन उनको दिमागमा नयाँ आइडिया ‘वर्थ’ भयो । यसपटक भने विगतलाई ब्रेक थ्रु गर्ने योजना वन्यो उनको मष्तिस्कमा ।

जन्मदिनको दिन उनले हिडेर आएको लामो बाटो सम्झिए । जहाँ गुरुहरुको अनुहार उनको आँखामा दौडिन थाल्यो । उनलाई निकै माया गर्ने र केही गर्नुपर्छ भनेर उर्जा भर्ने देवराज गौतममा गएर उनको विगत टक्क अडियो ।

उनीजस्तै केयौलाई जीवनमा उर्जा भर्ने गौतमकी छोरी दिक्षा गौतम लामो समयदेखि क्यान्सर रोगबाट पिडित भएर उपचार गरिरहेकी थिइन् । उनले विगतको झझल्काहरुलाई रोकेर मोवाइलमा म्यासेन्जर खोले अनि सुरु गरे सहयोग अभियान । राप्ती विद्या मन्दिरबाट २०६५ सालमा एसएलसी दिनेहरु कोही उडेर अनि कोही गुडेर कहाँ कहाँ पुगे ।

जहाँ जहाँ पुगेपछि इन्टरनेट नामको चरोले भेट गराइहाल्छ । म्यासेन्जरमा सबैलाई उनले मार्मिक म्यासेज पठाए । उनले पुस २२ गते बाट ‘दिक्षा गौतम सहयोग कोष’ वनाएर पैसा संकलन सुरु गरे ।

न्यौपानेको परोपकारी अभियानलाई साथ दिदै देश विदेशबाट रकम प्राप्त भयो । त्यही जम्मा गरेको २ लाख १२ हजार ४सय ८७ रकम उनले समाजमा प्रतिष्ठित व्यक्तिलाई साक्षी राखेर २५ गते शनिवार हस्तान्तरण गरे शिक्षक गौतमलाई । ‘चेलाले गुरुलाई कहिल्यै गुण तिरेर सक्दैन तर पनि दुखको बेलामा केही राहत होस् भनेर सहयोग गरेको ’ न्यौपानले भने ।

चोखो मनले सामाजिक काम गरे सबैको सहयोग पाउन सकिन्छ भन्ने विश्वास उनमा पलाएको छ । म्यासेन्जरबाट सुरुभयो उनको आर्थिक सहयोग संकलन यात्रा कार्यक्रमसम्म पनि जोडिएको थियो ।
कार्यक्रममा भावुक वनेका शिक्षक गौतम उत्साहले निकै हडवडाउँदै भने ‘जीवनमा यो भन्दा कमाउनु मेरो लागि केही छैन, मैले विद्यार्थी मात्रै होइन असल मान्छे जन्माएको रहेछु’ ।

विद्यार्थीहरुको सहयोगले आफुलाई दुखमा पनि थप उर्जा दिएको उनले सुनाए । ‘जीवनमा यस्तो महत्वपूर्ण गुरु दक्षिणा पाउला भन्ने सोचेका थिएन’ उनले भने । सामाजिक व्यक्तित्व एवम् यातायात व्यवसायी सुरेश हमालले न्यौपानेजस्तो चेला आजका शिक्षकले पाउन नसकेको वताए ।

‘उहाँको यो पहललाई ह्रदयदेखि नै कदर गर्दछु’ उनले भने । हमालले कार्यक्रममै २१ हजार ५० सय सहयोग समेत गरे ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहले न्यौपानेको परोपकारी कामले आफुलाई हौसला दिएको भन्दै ५ हजार सहयोग कोषमा जम्मा गरे ।


‘सरहरुले जीवनमा धेरै कुरा दिएका हुन्छन् हामीले सानो सानो कुरा दिदा पनि उनीहरु धेरै खुसी हुन्छन् ’ विद्यार्थी न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस