संस्कृत विश्वविद्यालयमा इन्जिनियरिङ विषय थपिँदै
काठमाडौँ, पुस २२ गते । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)ले समसामयिक नयाँ विषय थप गर्ने भएको छ । विश्वविद्यालयले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, वास्तु इन्जिनियरिङ तथा आयुर्वेद फार्मेसी विषयको पठनपाठन सञ्चालन गर्ने गरी नीतिगत प्रक्रिया अगाडि
बढाएको हो ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयले नेपालमा पहिलोपटक प्राकृतिक चिकित्सा तथा योग विज्ञान विषयमा स्नातक तहको पठनपाठन गराउने गरी अगाडि बढेको जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेदमा स्नातक तह (बीएएमएस) तहको पठनपाठन गरिए पनि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका विषयमा पठनपाठन सुरु हुन सकेको थिएन । अब आयुर्वेद अध्ययन संस्थानलाई प्राकृतिक चिकित्सासमेत जोडेर नयाँ अध्ययन संस्थान बनाइने भएको छ । विश्वविद्यालयमा यो विषयको पठनपाठनका लागि आवश्यक दक्ष जनशक्तिसमेत भएकाले नयाँ जनशक्ति उत्पादनमा खासै समस्या नहुने उहाँको भनाइ छ । साढे चार वर्षमा यो तहको पठनपाठन पूरा गर्न सकिन्छ।
वास्तु इन्जिनियरिङ थालिने
विश्वविद्यालयले वास्तु इन्जिनियरिङमा स्नातक तहको जनशक्ति उत्पादन गर्ने भएको छ । नेपालका विश्वविद्यालयमा हालसम्म यस खालको जनशक्ति उत्पादन गरिएको छैन । संस्कृत विश्वविद्यालयमा अब यो विषयको पठनपाठन गराउन इन्जिनियरिङ अध्ययन संस्थान नै स्थापना गरिने भएको छ । विश्वविद्यालयका कुलसचिव अधिकारीले वास्तु, ज्योतिष र इन्जिनियरिङको संयुक्त ज्ञान भएको विषयका रूपमा वास्तु इन्जिनियरिङको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको बताए।
समाजमा मानिसले भौतिक संरचनाको निर्माण गर्दा वास्तु, ज्योतिषसहितको इन्जिनियरिङको माग गर्ने गरेको तर जनशक्तिको अभाव महसुस भएकाले आफूहरू यसमा अघि बढेको उनको भनाइ छ ।
घरमा मानिसले पानी ट्याङ्कीको ठाउँमा सेफ्टी ट्याङ्की बनाउने अनि सेफ्टी ट्याङ्की बनाउने ठाउँमा पानी ट्याङ्की बनाउने तर पछि व्यावहारिक प्रयोगमा पछुताउने गरेको यस खालको पठनपाठन आवश्यक देखिएको उनको भनाइ छ । यसका लागि आवश्यक पाठ्यक्रम बनाउन प्रा.डा. जीवराज पोखरेलको नेतृत्वमा कार्यदल गठन गरिएको छ । विश्वविद्यालयको सभाले यस विषयको पठनपाठन अघि बढाउने नीतिगत निर्णय गरिसकेको छ ।
आयुर्वेद फार्मेसी पढाइँदै
यसैबीच विश्वविद्यालयले आयुर्वेदमा स्नातक तह (आयुर्वेद फार्मेसी) विषयको पठनपाठन सञ्चालनमा ल्याउने भएको छ । आयुर्वेद अध्ययन संस्थानमार्फत स्नातक तहमा बीएएमएस तहको औपचारिक पठनपाठन सञ्चालनमा ल्याइए पनि नेपालमा आयुर्वेद फार्मेसी विषयमा भने स्नातक तहको पठनपाठन कुनै पनि विश्वविद्यालयमा हुन सकेको छैन ।
विद्यार्थीलाई आयुर्वेद विषय पढाउने तर औषधि उत्पादनको विषयमा जनशक्ति नहुँदा समस्या भएको जनाइएको छ । उहाँले नेपालमा प्रादेशिक अस्पतालले समेत आफैँले औषधि उत्पादन गर्ने तर त्यसको गुणस्तर परीक्षण गर्ने जनशक्ति नभएको अवस्थामा यस खालको जनशक्तिको उपयोगिता धेरै हुने बताए । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस