स्थायी शिक्षककाे एक जिल्लाबाट अर्को जिल्लामा हुने सरूवा रोक्का

खबरशाला संवाददाता  |  पुष २१, २०७७

काठमाडौं। स्थायी शिक्षकहरूको एक जिल्लाबाट अर्को जिल्लामा हुने सरूवामा रोक लागेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा रोक्का गरेको हो।

हाल शिक्षकहरूको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरूवा रोक्का गरिएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिएका छन्। केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई परिपत्र गर्दै जिल्लान्तर सरूवा रोक्का गरिएको जानकारी दिएको हो।
  
दरबन्दी मिलानको काम भइरहेको र यो सम्पन्न गर्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ। शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरूको जिल्लान्तर सरूवा रोक्का गरिएको कोइरालाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तर, केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरूवा गर्न पाइने छ। शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि नयाँ शिक्षक भर्ना आह्वान गर्ने तयारी गरेको छ।
 
विभिन्न जिल्लाबाट सरूवाका लागि धेरैको संख्यामा माग आउन थालेपछि केन्द्रले सरूवा तत्काललाई रोकेको हो

प्रतिक्रिया दिनुहोस