एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

खबरशाला संवाददाता  |  मङि्सर १५, २०७७

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालू आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । 

आज एकै दिन २ सय ५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिए । 

संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेको उनले बताए । आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालू आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ । 

सरकारले पाँच शय्याको अस्पताल निर्माण गर्न आठ करोड, १० शय्याको अस्पतालका लागि ११ करोड र १५ शय्याका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश-१ मा ३२, प्रदेश-२ मा २०, बागमतीमा  १९, गण्डकीमा  ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ । 

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शय्याको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच शय्याको अस्पतालका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका लागि एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस