उवा महासंघको निर्वाचन सम्पन्न , आजै मतगणना

खबरशाला संवाददाता  |  मङि्सर १३, २०७७

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासंघको शनिवार भएको नयाँ कार्यकारी समितिको निर्वाचनमा शत प्रतिशत मतदान भएको छ । 

महासंघको निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको हो । 

महासंघले तीन स्थानमा मतदान गर्ने व्यवस्था गरेको थियो– जिल्लानगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटको कार्की ब्याङक्वेट थापाथलीमा र वस्तुगत तर्फको महासंघको केन्द्रीय कार्यालयमा।

कोरोना महामारीका बेला भीडभाड नहोस र आपसी दूरी कायम गर्न सहज होस भनेर तीन स्थानमा मतदानको व्यवस्था मिलाइएको थियो।

वस्तुगततर्फ १०१ मतदाता, जिल्लानगरतर्फ १०५ र एसोसियटतर्फ ९०३ मतदाता थिए । सबै मतदाताले दिउँसो चार बजेभित्रै मतदान गरिसकेको पनि महासंघको निर्वाचन समितिले जनाएको छ । 

मतगणना साँझ ६ बजेपछि कमलादीस्थित प्रज्ञा भवनमा हुने महासंघले जनाएको छ । महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रशिशत र वस्तुगततर्फको २० प्रतिशत मतभार रहन्छ। 

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षसँगै तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा छन्। 

कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। 

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।

प्रतिक्रिया दिनुहोस