स्थानीय सरकारको सहयोगले वदलिएको कुटीचाैर मावि, बाेर्डिङ छाडेर आउने विद्यार्थीको लर्को

खबरशाला संवाददाता  |  मङि्सर ०५, २०७७


तुलसीपुर । वडा नम्बर १९ को कुटिचौरमा रहेको मावि कुटिचौरमा दुई वर्ष अगाडीसम्म न त विद्यार्थी थिए न त संरचना नै । आँगन जोडिएका विपन्न वर्गका अभिभावकहरु आफ्ना सन्तानलाई महँगो शुल्क तिरेर गाडीबाट विजौरी वजारका बोर्डिङ्गसम्म पठाउँथे । विद्यार्थी संख्या नहुँदा विद्यालयमा भौतिक संरचना पनि निर्माण हुन सकेको थिएन । न त शिक्षकको व्यवस्थापन नै ।


गाउँमा शिक्षाको उज्यालो छर्न खुलेको विद्यालय आफै निभ्न थालेको थियो । ‘मावि तहको विद्यालयमा पनि मुस्किलले २ सय विद्यार्थी थिए ’ विद्यालयका प्रधानाध्यापक गोपाल खड्काले सुनाए । उनले विद्यालयको अवस्था दयनिय हुँदै जादा अभिभावकले समेत चासो दिन छाडेको अनुभव सुनाए ।
विद्यालयको खस्कदो अवस्थाका वारेमा चिन्तित प्रअ खड्का, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनताले तुलसीपुर उपमहानगरपालिकासँग सहयोगका लागि अनुरोध गरे । तुलसीपुर उपमहानगरपालिकाले उनको अनुरोधलाई आत्मसाथ गरेर टिच फर नेपालकाे सहयाेगमा अँग्रेजी र विज्ञानमा मावि तहको स्वयम्सेवक शिक्षकको व्यवस्था ग¥यो । शिक्षक व्यवस्थापनले विद्यालयको अवस्था केही परिवर्तन हुन थाल्यो । अभिभावकमा आशा पलायो ।


विद्यार्थी थपिने सम्भावना त भयो तर संरचना थिएन । प्रदेश सरकारको समपुरक वजेटमा ५० लाखको भवन निर्माणको काम अगाडी वढ्यो । समुदायमा वस्नेहरुले विद्यालयले मुहार वदल्ने अपेक्षा गरे । ‘काम गरे सहयोग पाइन्छ भन्ने लाग्यो अनि निरन्तर हामी लागिरह्यौ’ विद्यालयका प्रअ खड्काले वताए ।


शिक्षक व्यवस्थापन र विद्यालयको संरचना निर्माणको काम अगाडी वढेपछी विद्यार्थी र अभिभावकहरु आकर्षित हुन थाले । मुस्किलले २ सय विद्यार्थीहुने विद्यालयमा अहिले ४ सय विद्यार्थी भर्ना भएको प्रअ खड्काले जानकारी दिए ।

‘पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ विद्यालयले काँचुली फेरेजस्तो लाग्छ ’ स्थानीय अभिभावक तिलकराम घर्तीले बताए । उनले संरचना निर्माण र शिक्षक व्यवस्थापनका स्थानीय सरकारले खेलेको भुमिकाको खुलेर प्रशंसा समेत गरे ।


उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ६ लाख ५० हजारको पुस्तकालय समेत निर्माण गरिदिएको छ । गत आर्थिक वर्षमै विद्यार्थीह वस्नका लागि डेस्क वेन्चको अभाव भएपछि १ लाखको सहयोगमा निर्माण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस