बबईबाट सुरु हुँदै लालपुर्जा वितरण प्रक्रिया

मङि्सर ०४, २०७७


लक्ष्मण विश्वकर्मा ।

भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जसको जोत उसैको पोत भन्ने कम्युनिष्ट पाटीको नारा भएको बताएका छन् । भुमि सम्बन्धी समस्या समाधान आयोग र बबई गाउँपालिका कार्यालयको आयोजनामा विहिवार हापुरेमा भएको भुमि सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताएका छन् ।

कम्युनिष्ट पाटी मुलुकको सर्वहारा र सुकमुबासी जनताको पाटी भएको बताउदै उनले भुमिहिन दलित ,सुकुमबासी र अव्यवस्थितबासीलाई जमिन र लालपुर्जा दिनुपर्ने बताएका छन् ।


नेपाली काग्रेसका जननायक स्वर्गिय विश्वेश्वप्रसाद कोईरालाले हरेक नेपाली श्रमजीवी,किसान वर्गको आफ्नै स्वामित्वमा जग्गा होस् भन्ने चाहना र सपना बुनेको स्मरण गराउदै आयोगका अध्यक्ष ज्ञवालीले कम्युनिष्ट पाटीले सुरु देखि नै यो मुद्धा उठाएको हँुदा भुल्न नहुनेमा जोड दिएका छन् ।

हरेक नेपाली नागरिकलाई आफ्नै स्वामित्व अर्थात जमिन भएको अनुभुती गराउनका लागि अहिलेको आयोगले काम गरिरहेको बताउदै उनले यसमा सवैले साथ र सहयोग गर्नुपर्ने बताएका छन् ।


निर्वाचनको समयमा हरेक राजनितिक दलका उम्मेदवारले जनतासामु भोट माग्दा भुमिहिन सुकुमबासीलाई लालपुर्जा दिन्छौ भनेर बचनबद्धता गरेको भन्दै लालपुर्जा वितरण गर्दा यसप्रति विरोध गर्ने आट कसैको नहुने उनको दावी छ । भुमि सम्बन्धी समस्या देशभर भएकाले यो राष्ट्रिय समस्या भएको बताउदै उनले भुमिहिन सुकुमबासीलाई लालपुर्जा दिन हुन्न भन्ने कसैको धारणा नभएको अध्यक्ष ज्ञवालीले बताएका छन् ।


हिजो अस्तीको जस्तो आयोग नभएको भन्दै आफु नेतृत्वको आयोगले भुमिहिन दलित, भुमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएरै छाड्ने उनको भनाई छ ।आफुहरुले विगतको जस्तो मुद्धा खेप्न नपरोस् भनेर यस पटक भुमि ऐन संशोधन गरेर कानुनी रुपमा बलियो आधार तयार भएको उनको भनाई छ ।


विगतमा कानुनी जटिलताका कारण काम गर्न अप्ठेरो भएको बताउदै यसपटक ऐन संसोधन गरेर सहज बनाएको उनको भनाई छ । गाँउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले यस पटक जनतालाई दुख नदिने गरी जनप्रतिनिधिहरुको सहभागितामा घरघरमा पुगेर सुकुमबासी लगत संकलन गरिने बताएका छन् ।


आयोगले देशभर ७५३ वटै पालिकामा भुमी सम्वन्धी काम गर्ने भएको छ । तर पहिलो चरणमा देशभरका १४ वटा पालिकाबाट सुरुवात गर्न लागेको आयोगका अध्यक्ष ज्ञवालीले बताएका छन् ।जसमा लुम्बिनी प्रदेशका दुई वटा पालिका मध्ये बबई गाउँपालिका छनोट भएको उनले बताएका छन् । सोहि अनुसार बबई गाउँपालिकामा भुमिहिन सुकुमबासी तथ्याङक लगत संकलन ईकाई कार्यालय स्थापना गरिएको छ ।

सो अवसरमा लुम्विनी प्रदेश सभा सदस्य विमला वली, आयोगका सदस्य सोभाराम बस्नेत, नेकपा बबई गाउँ कमिटिका अध्यक्ष जित बहादुर वली, नेपाली काग्रेस बबई गाउँकमिटिका उपसभापति पिमलाल केसी लगाएतले बोलेका थिए । गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस