यस्ता छन् युट्युवका नयाँ ५ टिप्स

खबरशाला संवाददाता  |  कार्तिक २६, २०७७

काठमाडौं । तपाईंले फोन वा ल्यापटपमा हरेक समय भिडियो त हेरिरहनु भएकै हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् वा हाउ टु ट्युटोरियल, प्रडक्ट रिभ्यू वा फिल्म ।

दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले गएको अक्टुबरमा कयौं नयाँ फिचरहरु सार्वजनिक गर्‍यो । भिडियो च्याप्टरदेखि भिडियो स्क्रिनमा बटनहरु व्यवस्थापन गर्नेसम्मका फिचर त्यसमा छन् ।

यी सबै फिचर आईफोन तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि युट्युव एपमा उपलब्ध गराइएको छ । जसमध्ये केही फिचरले तपाईंको डेक्सटप ब्राउजरमा समेत काम गर्नेछन् । यदि तपाईंले नयाँ फिचर भेट्नु भएको छैन भने तपाईंले आफ्नो फोनमा रहेको युट्युव एप अपडेट गर्नुपर्ने हुन्छ ।

१. भिडियो च्याप्टर

भिडियोमा कुनै निश्चित भागमा पुग्न स्किप गर्नुपर्ने स्थानमा अब तपाईंले च्याप्टरको रुपमा नै भिडियो ब्राउज गर्न सक्नुहुनेछ । युट्युवको नयाँ भिडियो च्याप्टर फिचरले तपाईंलाई निश्चित खण्डमा पुग्न तथा कुनै भागलाई पुनः दोहोर्‍याएर हेर्नका लागि नेभिगेट गर्न सघाउनेछ ।

तपाईंले भिडियो भित्रकै ब्लक छनौट गर्ने वा थम्बनेलको रुपमा च्याप्टर हेर्ने दुवै विकल्प पाउनुहुनेछ । च्याप्टरले तपाईंलाई भिडियोको निश्चित खण्डमा के छ भन्ने बारेमा छोटकरी विवरण प्रदान गर्नेछ ।

यद्यपि सबै भिडियोमा च्याप्टर हुनेछैन । भिडियो क्रियटरले म्यानुअल रुपमा आफ्नो भिडियोको डिस्क्रिप्सनमा टाइमस्ट्याम्पको रुपमा समावेश गर्नुपर्नेछ ।

२. क्याप्सन बटन प्रयोग गर्न सहज

यस अघि भिडियोको लागि क्याप्सन बन्द भएको अवस्थामा त्यसलाई अन गर्न तपाईं भिडियो सेटिङमै पुग्नुपर्ने हुन्थ्यो । अब भने क्याप्सन अन अफ गर्ने विकल्प भिडियोमै पाउन सकिनेछ ।

यसका लागि तपाईंले माथि दायाँ कुनामा रहेको सीसी (CC) आइकनमा थिच्नुपर्नेछ । यससँगै युट्युवले अटोप्ले बटनलाई समेत भिडियो स्क्रिनमै सारेको छ ।

यसरी अब त्यसलाई स्विच अन अफ गर्न सहज भएको छ । हाल यो फिचर फोनमा मात्रै उपलब्ध रहेकोमा युट्युवले डेक्सटपका लागि समेत यसलाई परीक्षण गरिरहेको छ ।

३. भिडियो हेर्दा नयाँ गेस्चर

तपाईं भिडियोलाई फुल स्क्रिन मोडमा हेर्नुपर्दा तल दायाँतर्फ कुनामा रहेको फुल स्क्रिन आइकनमा ट्याप गर्नुहुन्छ । तर अब भने तपाईं भिडियोलाई सामान्य रुपमा माथितर्फ स्वाइप (घिसारेर) गरेर फुल स्क्रिन मोडमा प्रवेश गर्न सक्नुहुन्छ ।

त्यसैगरी फुल स्क्रिन मोडबाट बाहिरिनका लागि स्वाइप डाउन गर्न सक्नुहुन्छ । आईफोन प्रयोगकर्ताले भने फुल स्क्रिन मोडबाट बाहिरिन माथि सिरानीबाट नभई स्क्रिनको बीच भागबाट तलतर्फ स्वाइप गर्नुपर्ने हुन्छ ।

४. सजेस्टेड एक्सन

तपाईंको भिडियो हेराइको अनुभवलाई थप मजेदार बनाउन युट्युवले सजेस्टेड एक्सन फिचर रोलआउट गर्दैछ । जसले फोन रोटेट गर्न तथा थप राम्रो अनुभवका लागि भिडियोलाई भीआरमा प्ले गर्न प्रेरित गर्नेछ ।

उदाहरणको लागि यदि तपाईंले हेरिरहेको भिडियो ल्याण्डस्केप मोडमा थप राम्रो देखिने किसिमको छ भने तपाईंले भिडियोको तलपट्टी रोटेट लेखिएको पाउनुहुनेछ ।

एक्स (X) बटन दबाएर तपाईंले त्यसलाई हटाउन पनि सक्नुहुनेछ । युट्युवले भविष्यमा थप नयाँ सजेस्टेड एक्सन फिचर ल्याउने समेत बताएको छ ।

५. बेड टाइम रिमाइन्डर

युट्युवमा भिडियो हेर्दा हेर्दै घण्टौं बितेको तपाईंलाई पत्तै नहुन सक्छ । अब तपाईंले युट्युवको बेडटाइम रिमाइन्डर फिचरको सहयोगमा त्यसलाई रोक्न सक्नुहुनेछ ।

यो नयाँ टुलले तपाईंलाई निश्चित समयमा भिडियो हेर्ने समय सकाउने गरी सेट गर्न अनुमति दिनेछ । रिमाइन्डर सेट गर्नका लागि आफ्नो मोबाइलमा युट्युव एप खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको योर अकाउन्टमा दबाउनुहोस् ।

यो तपाईंको नामको पहिलो अक्षर वा तस्वीरको रुपमा हुनसक्छ । त्यसपछि ‘टाइम वाच्ड’ लाई छनौट गर्नुहोस् र स्विचलाई ‘रिमाइन्ड मि ह्वेन इट्स बेड टाइम’ मा टोगल गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंले सुरु हुने समय र अन्त्य गर्ने समय छनौट गर्न सक्नुहुनेछ । यससँगै तपाईंले भिडियो नसकिएसम्म वा त्यस अघि नै रिमाइन्ड गराउने विकल्प पनि रोज्न पाउनुहुनेछ । यही सेटिङभित्र तपाईंले युट्युवलाई ब्रेक लिने समयको बारेमा समेत रिमाइन्ड राख्ने सुविधा पनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस