राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण हुँदै

खबरशाला संवाददाता  |  कार्तिक १८, २०७७

दाङ – लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन राख्न राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्ने गृह कार्य सुरु भएको छ।

तिहारपछि राखिने हिउँदे अधिवेशनको बैठक बसाल्न राप्ती प्राविधिक शिक्षालयलाई प्रदेश सरकारलाई हस्तान्तरण र प्राविधिक शिक्षालाई अन्यत्र स्थानान्तरणको गृहकार्य सुरु भएको प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिए।

‘राप्ती प्राविधिक शिक्षालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न र शिक्षालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने प्रकृया अघि बढ्यो’प्रदेशसभा सदस्य थारुले भने,‘शिक्षालयलाई राख्न सकिने उपयुक्त ठाउँको अध्ययन अवलोकनको काम भइरहेको छ । अब सिटिइभिटीले समेत अध्ययन गर्ने छ ।’

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभीटी) अन्तर्गत रहेको शिक्षालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारलाई हस्तान्तरण गर्न मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

राप्ती प्राविधिक शिक्षालय १६ विगाह जग्गामा फैलिएको छ । ३५ ओटा साना तथा ठूला पक्की भवन छन् । तीन सय मानिस अटाउन सक्ने सभाहल समेत रहेको छ ।

राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीका अनुसार शिक्षालयलाई अन्यत्र सार्न पूर्वाधारको खोजी भइरहेको जानकारी दिए ।

‘शिक्षालय भएको ठाउँमा प्रदेशसभा बैठक बसाल्ने योजना अनुसार शिक्षालयलाई अन्यत्र व्यवस्थापन गर्ने प्रकृया सुरु हुँदैछ’उनले भने,‘शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्रीय मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ ।’

राप्ती प्राविधिक शिक्षालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । ‘शिक्षालयलाई चाहिने पूर्वाधारहरु छन् । ती पूर्वाधारहरुको अध्ययन पश्चात टुंग्याउन सकिन्छ’सुवेदीले भने,‘अहिले नै यो ठाउँ त्यो ठाउँ भन्नु भन्दा पनि प्राविधिकहरुको अध्ययनबाट टुंग्याउँदा उपयुक्त हुन्छ ।’

शिक्षालयलाई गढवा गाउँपालिकामा सार्न सकिने विषय बलियो गरी छलफलमा आएको छ । ‘सरस्वति माध्यमिक विद्यालय विद्यानगर गोवरडिहामा प्राविधिक शिक्षालय सञ्चालन गर्न सक्छौँ। यस बारेमा निर्णय पनि गरेका छौँ’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने,‘विद्यालयमा छलफल समेत गरेका छौँ । अहिलेकै अवस्थामा शिक्षालय चलाउन सक्ने पूर्वाधार यहाँ छ ।’ देशसञ्चारबाट

प्रतिक्रिया दिनुहोस