तुलसीपुरमा बजार अनुगमन प्रभावकारी बन्दै उद्योग व्यवसाय ४१९ वटा दर्ता,एक हजार बढि नविकरण

लक्ष्मण विश्वकर्मा  |  कार्तिक १८, २०७७


लक्ष्मण विश्वकर्मा

तुलसीपुर १८ कात्तिक । तुलसीपुुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमन प्रभावकारी बन्दै गएको बताएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयमा पछिल्लो समय उद्योग व्यवसाय दर्ता गर्नेको संख्यामा बृद्धि भएको भन्दै बजार अनुगमन प्रभावकारी हुने गरेको उपमहानगरपालिकाले बताएको छ । स्थानिय सरकार गठन भईसकेपछि स्थापना भएको उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमनलाई निरन्तरता दिन थालेपछि उद्योग व्यवसाय दर्ता हुने क्रम बढेको हो ।

नियमित हुने बजार अनुगमनका क्रममा उद्योगी तथा व्यवसायी संग भेटघाट गरी उनीहरुलाई दर्ता र नवीकरणका बारेमा सचेत गराउन थालेपछि दर्ता तथा नवीकरण गराउनेको संख्यामा बृद्धि भएको उद्योग व्यवसाय तथा प्रर्वद्धन शाखा प्रमुख रेखा शर्माले जानकारी दिएकी छिन् ।

उनका अनुसार गत आर्थिक वर्षमा कोरोना माहामारी कारण उद्योग व्यवसाय दर्ता तथा नवीकरण कार्य प्रभावित भएता पनि चालु आर्थिक वर्षको वितेको चार महिनामा चार सय बढि उद्योग तथा व्यवसाय दर्ता भएका छन् । साउनदेखी कात्तिक १८ गते सम्म व्यवसाय ३६९ र उद्योग ५० गरी ४१९ दर्ता भएको उनले जानकारी दिएकी छिन् । यो अवधीमा उद्योग तथा व्यवसाय एक हजार बढि नवीकरण भएका छन् ।

गत आर्थिक वर्ष ०७६÷७७ मा व्यवसाय ९५५ र उद्योग ३० गरी जम्मा ९८५ उद्योग व्यवसायी दर्ता भएका छन् । जसमा ९२५ वटा उद्योग व्यवसाय नवीकरण भएको शाखा प्रमुख शर्माले जानकारी दिएकी छिन् ।


उपमहानगरपालिका कार्यालयमा आर्थिक वर्ष २०५७÷५८ बाट उद्योग व्यवसाय दर्ता सुरु भएको थियो । तर विगतमा कम संख्यामा उद्योग व्यवसाय दर्ता भएकोमा अहिले नियमित बजार अनुगमन हुन थालेपछि दर्ता तथा नवीकरण गर्ने संख्यामा बृद्धि भएको उनले बताएकी छिन् । उपमहानगरपालिकामा हाल सम्म चार हजार पाँच सय उद्योग व्यवसाय दर्ता भएका छन् । जसमा चार हजार व्यवसाय र ५ सय उद्योग दर्ता भएका छन् ।

बजार अनुगमनका क्रममा व्यवसाय नियमित नवीकरण नभएको र दर्ता बिना नै उद्योग व्यवसाय सन्चालन गरेको पाईएपछि आफुहरुले उद्योगी तथा व्यवसायीलाई दर्ता तथा नवीकरणका लागी सुझाव दिने गरेको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले बताएकी छिन् । बजार अनुगमनका क्रममा उपभोग्य बस्तुको नापतौल,गुणस्तर, म्याद भए÷नभएको लगाएत उद्योग तथा व्यवसाय सन्चालनको कागजपत्र समेत चेकजाँच हुने गरेको छ ।

सोहि क्रममा तुलसीपर स्थित रुवी स्टोरले राजस्व छली गर्नका लागी थोरै आम्दानी देखाएर पाँच लाख गराएकोमा अनुगमन पछि ५० लाख आम्दानी बनाएको छ । आन्दानी धेरै हुने भएपनि बिल भरपाईमा थोरै आम्दानी भएको उल्लेख गरिएको थियो । त्यसपछि आफुहरुले तत्काल सुधार गर्न सुझाव दिएपछि आम्दानी बढाएको उनले बताएकी छिन् ।


बजार अनुगमनका बेला मापदण्द विपरित सन्चालन भएका उद्योग तथा व्यवसाय दर्ता र नवीकरणका आह्वान गरेकै कारण दर्ता तथा नवीकरण गर्नेको संख्यामा बृद्धि भएको उनको दावी छ । आफुहरुले बजार अनुगमनका क्रममा उद्योगी व्यवसायीलाई वर्षमा एक पटक अनिवार्य नवीकरण गर्न र उद्योग व्यवसाय सन्चालन गर्न अनिवार्य उपमहानगरपालिकामा दर्ता गर्न आग्रह गरेको उनले बताएकी छिन् ।

दर्ता विना नै उद्योग व्यवसाय सन्चालन गरेको पाईएमा तुरुन्त दर्ता गर्न भनिएको छ । जसले गर्दा विगतको तुलनामा भन्दा अहिले उद्योग व्यवसाय दर्ता गर्नेको संख्यामा बृद्धि भएको उनले बताईन् ।


लकडाउनमा पनि रोकिएन बजार अनुगमन


तुलसीपुर उपमहानगरपालिका कार्यालयले लकडाउनको अवधीमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । उपभोक्ता हित संरक्षण शाखाका अनुसार गएको चैत ११ गतेदेखि असोज २ गते सम्म आठ पटक बजार अनुगमन गरिएको छ ।


कोरोना माहामारीका कारण पुर्ण लकडाउन भएको समय बाहेक आंसीक लकडाउन भएदेखी असोज २ गते सम्म नियमित बजार अनुगमन गरिएको हो । तुलसीपुर उपमहानगर क्षेत्रका किराना पसल, हार्डवयर पसल, तरकारी तथा फलफुल पसल, सोनापुर सिमेन्ट उद्योग र पोल्टीफर्ममा अनुगमन गरिएको शाखा प्रमुख रावतले जानकारी दिएकी छिन् ।

अनुगमनका क्रममा तुलसीपुरका दुई किराना पसलमा म्याद नाघेका झन्डै ४७ हजार मुल्य बराबरका सामान तथा बस्तु जफत गरी नष्ट गरिएको छ । यस्तैगरी हार्डवयर पसलबाट म्याद नाघेको ४२ हजार मुल्य बराबरको कलरपेन्ट फेला परेपछि जफत गरी नष्ट गरिएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस