तुलसीपुरमा खुट्टा छिनाल्ने २ आरोपित सार्वजनिक

कार्तिक १४, २०७७

तुलसीपुर, १४ कात्तिक । तुलसीपुरमा खुट्टा छिनाल्ने गरि भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ का २२ बर्षिय पवन चौधरी र वडा नम्वर १० पड्डा बस्ने २४ बर्षिय अमृत चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् । उनीहरुले दशै टिकाको दिन सोमवार राति पौने दश बजे तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विक माथी धारिलो हतियारले आक्रमण गरेका थिए ।उनीहरुको आक्रमणबाट विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै दुवै हातको हत्केला र ढाँडमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।

घाईते विक दशै टिकाको दिन तुलसीपुर १० टरिगाउँ स्थित आफनो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा उनीहरुले राती गोलौरामा एक्कासी आक्रमण गरेका थिए । सोहि दिन गोलौराको एक घरमा दशै रमाईलो भईरहेको समयमा स्थानियहरु विच विवाद हुदा एक जना माथी कुटपिट भएको घटनालाई लिएर उनीहरुले विक माथी आक्रमण गरेको डिएसपी सिंहले बताएका छन् । गोलौरामा स्थानिय विच झगडा भएको र घाईते विक पनि भान्जाको घरमा सामान्य विवाद गरी घर जान्छु भनि निस्कदा गोलौरा विवादित पक्ष उनीहरुले झगडा गरेर

आएको होस भनेर सोध्दा विकले पनि हो भन्ने जवाफ दिए पछि उनी माथी आक्रमण भएको आरोपितहरुले प्रहरी सामु बयान दिएका छन् ।
विक र आरोपितहरु विच कुनै रिसीवी र झैगडा नभएको अवस्थामा उनी आउनु भन्दा अगाडी गोलौरामा भएको विवादलाई लिएर उनीहरुले आक्रमण गरेको प्रहरीले बताएको छ ।

साथै उनीहरुले प्रयोग गरेको धारिलो हतियार खुर्पा, कपडा पनि प्रहरीले फेला पारेको छ ।घटनाको विषयमा थप अनुसनधन भईरहेको डिएसपी सिंहले बताएका छन् ।घाईते विकका छोराले वुवा एक्लै रातको समयमा घर भएको भन्दै खोज्दै जादा उनले गम्भिर घाईते अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । पिडित पक्षले जाहेरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने उनको भनाई छ । अहिले विकको भारतको लखनउँमा उपचार भईरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । तुलसीपुर खबरबाट

प्रतिक्रिया दिनुहोस