महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

खबरशाला संवाददाता  |  कार्तिक ०५, २०७७

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको मंसीर दोस्रो साता हुने चुनावी साधरणसभाका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । । ढकालसहित उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेद्वारी दर्ता गराएका हुन् । 

महासंघको ५४औं साधरणसभा मंसीर ११ देखि १३ सम्मका लागि तय भएको छ । महासंघको विधान अनुसार, वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । 

गत वर्ष चैत महिनामा हुनुपर्ने साधरणसभा कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सारिएको थियो । त्यसपछि साउनको २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधरणसभा गर्ने तय भएको थियो । महासंघको विधान अनुसार, कुनै विशेष परिस्थितिले साधरणसभा रोकिन गएमा तीन महिनाभित्र अर्को मिति तोकेर साधरणसभा गर्नुपर्छ । महामारी फैलिएपछि विभिन्न जिल्लामा स्थानीय प्रशासनको निशेधाज्ञा लगायतका कारण साधरणसभा पुनः रोकिएको थियो । 

देशभर सञ्जाल रहेका महासंघको साधरणसभामा देशभरका उद्यमी व्यवसायी, वस्तुगत समूह, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तथा कर्पोरेट संस्थाका प्रतिनिधिहरुले मतदान गर्छन् । 

महासंघको साधरणसभा बारम्बार स्थगित भएपछि भर्चुअल माध्यममार्फत् साधरणसभा सम्पन्न गर्नुपर्ने आवाज समेत उठेको थियो । महासंघकी अध्यक्ष भवानी राणाका अनुसार मंसीर ११ मा साधरणसभाको उद्घाटन भर्चुअल माध्यमबाटै हुनेछ भने कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै महासंघको सचिवालय टेकू, प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट माइतीघरमा मतदान कार्यक्रम राखिएको छ । 

महासंघको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, वस्तुगतको २० प्रतिशत र द्धिराष्ट्रिय उद्योग वाणिज्य स‌ंघसहित एसोसिएटको ३० प्रतिशत हुन्छ । उम्मेद्वारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र गतिशील नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरेका छन् । 

‘देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिनरुपमा प्रभाव पर्छ,’ ढकालले भने, ‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं ।’

ढकालसँग वरिष्ठ उपाध्यक्षमा महासंघका अर्का उपाध्यक्ष किशोर प्रधानले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस