वडाध्यक्ष न्यौपानेको निधनमा शोक सभा

खबरशाला संवाददाता  |  कार्तिक ०४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष डम्बर वहादुर न्यौपानेको निधनमा शोकसभा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले १२ औ दिनको अवसर पारेर यस्तो सभा गरेको हो । सभालाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले न्यौपाने परिपक्व, अनुभवी र जनप्रिय जनप्रतिनिधि भएको टिप्पणी गरे ।

‘उहाँबाट हामीले धेरै कुरा सिकेका छौं, जनताप्रतिको उहाँको जवाफदेहितालाई हामीले अनुकरण गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने ।


उनले जनतालाई केन्द्रमा राखेर काम गर्ने जनप्रतिनिधिलाई सबैले सम्झने उल्लेख गर्दै मृत्य निश्चित भएकाले एकबारको जीवनमा सबैले नमुना काम गर्नुपर्ने वताए । स्वर्गीय न्यौपानेको राजनीतिक संस्कार उच्च रहेको पनि बताए ।


कार्यक्रममा बोल्दै उपप्रमुख माया शर्माले न्यौपाने विकासप्रति सदैव संवेदनशिल रहेको कुरामा जोड दिइन् । ‘काम गर्ने क्रममा उहाँसँगको हाम्रो सहकार्य निकै राम्रोसँग मिलेको थियो’ उपप्रमुख शर्माले सम्झना गरिन् ।


वडा सदस्य विनोद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक विकास समितिका संयोजक कुमार लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस