प्रधानमन्त्री र मन्त्रीहरूको दशैं भत्ता कोरोना कोषमा जम्मा गरिने

खबरशाला संवाददाता  |  कार्तिक ०३, २०७७

तुलसीपुर । प्रधानमन्त्री र मन्त्रीहरूले यो वर्ष दशैं भत्ता नलिने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको दशैं भत्ताबापतको रकम कोरोना रोकथाम र नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। 

प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न समेत आग्रह गरिएको मन्त्री गुरुङले बताए। यस्तै, मन्त्रिपरिषद् बैठकले पशुपतिमा रहेको विद्युतीय सवदाह गृह चाैबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले काम गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय गरेको छ।

मन्त्री गुरुङका अनुसार निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका विभिन्न अधिकृतलाई सरुवा गर्ने निर्णय समेत भएको छ। जसमध्ये शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा, उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिवमा, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयको सचिवमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ।

घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको कार्यालय प्रमुखमा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको सचिवमा र नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा सरुवा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस