राप्ती प्रादेशिक अस्पतालको न्युनतम गुणस्तरको मापन ४२ प्रतिशतबाट ६६ प्रतिशतमा उक्लियो

खबरशाला संवाददाता  |  असोज २, २०७७


तुलसीपुर । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्यांकनको समिक्षा गरिएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम अन्तर्गत अस्पतालको सेवा र गुणस्तरका बारेमा विभिन्न तवरले मुल्यांकन गरिएको थियो ।

२०७५ मा ४२ प्रतिशत मात्रै अंक पाएको अस्पतालले २०७६ मा सेवा सुधार गरेर ६६ प्रतिशतमा उक्लिएको हो । यो प्रतिशत प्रदेशका अन्य अस्पतालको तुलनामा सबैभन्दा उच्च हो । अस्पतालको सेवा गुणस्तर मापन गर्ने संस्था निक सिमोन इन्ष्टिच्युटका अच्युतराज कार्कीले अस्पतालले सेवामा व्यापक सुधार गरेको जानकारी दिए ।


‘५० बेडको अस्पताललको १ सय बेडको हारामारीमा सेवा दिएर पनि यो अंक प्राप्त गर्नुले अस्पतालको सेवा राम्रो हुँदै गएको छ भन्ने वुझिन्छ ’ कार्कीले भने । उनले अस्पतालले सुधार गर्नुपर्ने धेरै कुरा बाँकी रहेको समेत वताए । ‘यही तवरले मेहेनत गरेर लाग्ने हो भने गुणस्तर शतप्रतिशतसम्म हुन सक्छ’ उनले भने ।

अस्पतालको प्रगतिका बारेमा जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेश शर्माले सरकारबाट ५० बेडको स्वीकृति पाएपनि ९५ बेड सञ्चालन गरिरहेको वताए । ‘स्थानीय सरकारका तर्फबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ , काम गर्न सजिलो छ ’ उनले भने ।

उनले स्थानीय सरकारले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता दिएको वताउँदै दशै तिहारबाट नै सिटि स्क्यान सेवा दिन सक्ने वताए । ‘हामीले रिफरका रुपमा रहेको अस्पतालमा ठूला खालका अप्रेशन समेत गर्न सक्ने भएका छौ’ उनले भने । अस्पतालले ४ वटा डायलासिस मेसिन सञ्चालन गरिरहेको उनको भनाई थियो । मेसु शर्माले कोभिड विशेया अस्पताल समेत कुशलतापूर्वक सञ्चालन गरिरहेको जानकारी दिएका थिए ।


कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अस्पतालको प्रगतिबाट आफु खुसी भएको वताए । ‘डाक्टरहरु भगवान हुन् र भगवानलाई दर्शन गरेर मेरो दाङ्गको कार्यकाल सुरु भएको छ ’ आचार्यले भने ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछाने, लुम्बिनी प्रदेश स्वास्थ्य विभागका प्रमुख विनोद गिरी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस