बालमितेरी मावि भोजपुर, सिकाई केन्द्रको नमुना

वसन्त आचार्य  |  असोज ०७, २०७७  |  ६५ पटक पढिएको


बसन्त आचार्य

तुलसीपुर । विद्यालयको अग्लो पर्खालमा जोडिएको अग्लो गेट पार गर्ने वित्तिकै आईपृुग्छ फराकिलो चौर सहितको अग्लो भवन । विद्यालय प्रवेश गर्ने जो कोहीले हात अनिवार्य धुनैपर्ने नियम छ । व्यवस्थित ढँगले धारा छ अनि साबुन पनि । कसैले विर्सेर जान लागे विद्यालयका सहयोगीले सम्झाउँछन् ‘हात धोएर जानुहोला’ ।


विहान १० देखि साँझ साढे ४ बजेसम्म सञ्चालन हुने विद्यालयको समय पुरै फेरिएको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ओलीले विहान ७ वजेदेखि साँझ ५ वजेसम्म ३ घण्टाका दरले ३ सिफ्टमा विद्यालय सञ्चालन भएको जानकारी दिए । विद्यार्थी संख्या धेरै भएकाले संक्रमणको अवस्थालाई ख्याल गरेर उनले ३ सिफ्टमा विद्यालय सञ्चालन भएको वताए । ‘खटाईका हिसाबले अलि दुख नै छ तर यति गरिएन भने विद्यार्थी माथि अन्याय हुन्छ’ प्रधानाध्यापक ओलीले भने । उनले कुनै पनि कक्षाको कुनै पनि दिन ग्याप नभएको पनि वताए ।

‘अन्य समय जस्तै हरेक कक्षाको हरेक दिन विद्यालय सञ्चालन हुन्छ तर कक्षामा विद्यार्थी संख्या भने निकै कम हुन्छ ’ उनले हरेक दिन चारवटा विषयको अध्यापन हुने गरेको पनि जानकारी दिए ।
कक्षा १० मा अध्ययनरत छात्रा शोभा खत्रीलाई धेरै समय पछि विद्यालय आउँदा निकै खुसी लागेको छ ।

थोरै संख्यामा मात्रै विद्यार्थी हुने हुँदा हल्ला पनि कम हुनुका साथै शिक्षकसंग प्रयाप्त अन्तक्र्रिया गर्न सकिने उनले वताइन् । ‘अरु समयभन्दा आजभोलि सरहरुले पढाएको धेरै बुझिन्छ, मलाई त राम्रो लागेको छ ’ खत्रीले भनिन् ।


विद्यालयले मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरेको हुँदा सुरक्षित महसुस गरेको कक्षा ९ का विद्यार्थी आशिष चौधरीले वताए । ‘पहिलो विद्यालयमा आउँदा जोखिम हुन्छ जस्तो लाग्थ्यो तर यहाँ सबै व्यवस्था भएको देखेपछि ढुक्क भएको छुँ’ चौधरीले भने । विद्यालयमा शिक्षकहरु नियमित आउने र पढाई पनि प्रभावकारी ढँगले अगाडी वढेको उनको भोगाई रहेको छ ।

विद्यालय ३ घण्टा सञ्चालन हुने भएकाले पहिला जस्तो ब्रेक पनि हुँदैन । विद्यार्थीहरु अंकमाल गरेर एक अर्काको खाजा साटासाट गरेर पनि खाँदैनन् । ‘बाहिर जाँदा पनि पालैपालो जान्छौ अनि कक्षामा आउँदा साबुन पानीले हात धुने या स्यानिटाइजर लगाउने गर्छाै’ कक्षा ९ मा अध्ययनरत विद्यार्थी निर्मला चौधरीको भोगाई हो यो ।


तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विक मावि भोजपुरले सञ्चालन गरेको सिकाई केन्द्र सबैका लागि नमुना भएको वताए । उनले संक्रमणको जोखिम नहुने गरी व्यवस्थापन गरेर सिकाई केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकाले योजना अगाडी वढाएको समेत वताए ।

प्रतिक्रिया दिनुहोस