मलमासमा के गर्नु हुन्छ, के गर्नु हुँदैन?

प्रेमनारायण भुसाल  |  असोज ०२, २०७७

सोह्र श्राद्ध सकिएपछि नवरात्र सुरु हुनेगरेको सामान्य तालिकामा यसपटक मलमासका कारणले गर्दा फरक परेको छ अर्थात् एक महिनाको अन्तरालमा मात्र नवरात्र सुरु हुने भएको छ । सनातन परम्परामा मेला, पर्व, उत्सव र जात्राहरू चन्द्रमानअनुसार निर्धारण हुने गर्दछन् भने अन्य सामान्य गतिविधिहरु सौर्यमानअनुसार सञ्चालन गरिन्छन् । हरेक महिनामा सोही महिनाको शुक्लपक्ष र कृष्णपक्ष गरी १५—१५ दिनका तिथिचक्रका आधारमा चन्द्रमासको गणना गरिएको हुन्छ । एक महिनामै पनि सूर्य र चन्द्रमानका अन्तरले सिर्जना हुने भिन्नतालाई तिथिक्षय र तिथिवृद्धिका रुपमा समायोजन समेत गरिएको हुन्छ । यस पटक भने क्यालेन्डर/पात्रोमा आश्विन कृष्णपक्षपछि अधिक आश्विन शुक्लपक्ष अनि अधिक आश्विन कृष्णपक्ष र त्यसपछिमात्र आश्विन शुक्लपक्ष वा दुर्गापक्ष राखिएको छ ।

यसैले असोज महिनाका ३० दिन समाप्त भइसकेपछि कात्तिक महिनामा मात्र नवरात्रि/दशैँ आरम्भ हुनेछ । पितृपक्षपछि थपिएका ३० दिनका कारण असोज महिनामा पर्नुपर्ने दशैँ कार्तिक महिनामा पुगेको छ । हरेक तीन वर्षको अन्तरालमा पर्ने मलमासको धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेको छ । नयाँ कामको सुरुवात गर्न नहुने तथा कामना विशेषले गरिने शुभकार्य गर्न नमिल्ने भएकाले मलमासलाई नामजस्तै मल वा फोहोर महिना पनि भन्ने गरिन्छ । यस वर्ष असोज दुई गतेबाट ३० गतेसम्म मलमास रहेकाले यसबीचमा यज्ञ, पूजापाठ र अन्य आनुष्ठानिक कार्यहरु गरिँदैन ।

किन पर्छ मलमास ?
सौर्यमान अनुसार एक वर्षमा ३६५ दिन १५ घडी ३१ पला र ३० विपला हुन्छन् । पाँच घडी बराबर दुई घण्टा र ६० घडी बराबर एक दिनरात वा २४ घण्टा हुन्छ । यसअनुसार एक वर्षमा ३६५ र आधा दिनको अवधि रहेको हुन्छ । यो समय वैशाख, जेठ आदि १२ ओटा महिनामा बाँडिएको हुन्छ । वर्षभर सूर्य विभिन्न १२ राशिमा भ्रमण गर्ने भएकाले सूर्यको राशिअनुसार हरेक महिनाको वैशाखको मेष, जेठको वृष आदि गरेर स्वामी तोकिएको हुन्छ । हरेक महिनामा चन्द्रमा पनि विभिन्न २७ नक्षत्रको भ्रमण गर्दै घुमिरहेको हुन्छ र ३५४ दिन २२ घडी एक पला २३ विपलामा पूर्णरूपमा परिक्रमा गरी सक्दछ । यसरी एक वर्ष हुनका लागि सूर्यको आधारमा ३६५ दिन आवश्यक पर्दछन् भने चन्द्रमाका आघारमा ३५४ दिन भै एक वर्ष पूरा हुन्छ । हरेक सौर्य र चन्द्रमानका बीचमा एक वर्षमा १० दिन ५३ घडी ३० पला ७ विपलाको अन्तर रहन्छ । यो अन्तर तीन वर्षमा एक महिना बराबर हुन जान्छ ।

दैनिक जीवनका नियमित र शाश्वत काममा बाधा नभए पनि शुभ एवम् कामना विशेषले गरिने व्रत, पूजाका लागि यस पटकका असोज महिनाका दिनहरु उपयुक्त नहुने शास्त्रीय मान्यताअनुरुप यस समयमा लोकजीवनमा पनि नयाँ कामको सुरुवात गरिँदैन ।

तीन वर्षको अन्तरमा एउटा पनि सूर्य सङ्क्रान्ति नपरेको चन्द्रमास देखापर्छ, जसलाई मलमास भनिन्छ । सूर्यसङ्क्रान्ति नपरेका कारणले यस महिनाको स्वामी हुँदैन । धर्मशास्त्रअनुसार सूर्य सङ्क्रान्तिबिनाको महिना अशुद्ध हुन्छ । कहिलेकाहीँ वा १९ देखि ४१ वर्षको अन्तरमा क्षयमास पनि आउँछ । एउटै चन्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति परेको अवस्था क्षयमास हो । शास्त्रीय मान्यताअनुसार क्षयमास पनि धार्मिक र आनुष्ठानिक कार्यका लागि अशुद्ध मानिन्छ । वर्षभरका अन्तरलाई समायोजन नगर्ने हो भने मुस्लिम क्यालेन्डरमा जस्तै दशैँतिहार लगायतका पर्वहरु जुनसुकै महिनामा पर्ने सम्भावना रहन्छ । क्यालेन्डरलाई मौसमअनुसार समायोजन र स्थायित्व दिनका लागि तीन तीन वर्षमा समायोजन गर्ने व्यवस्था राखिएको हुनुपर्दछ । सूर्यको गति कम भई दिनहरु लामा हुने समय अर्थात् वैशाखदेखि असोजसम्मका महिनामा अधिकमास पर्न सक्दछ भने सूर्यको गति बढी भई दिन छोटा हुने र महिना पनि ३० वा सोभन्दा कम हुने कात्तिकदेखि पुससम्मका महिनामा क्षयमास पर्ने सम्भावना रहन्छ । क्षयमास परेको समयमा भने क्षयमासको अगाडिपछाडि जुनसुकै महिनामा पनि मलमास पर्न सक्दछ । भास्कराचार्य सिद्धान्तमा मलमास र क्षयमासका बारेमा स्पष्ट पारिएको छ :

असङ्क्रान्तिमासोऽधिकमासः प्रदिष्टः
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।

मलमास हो कि अधिकमास वा पुरुषोत्तममास ?
मलमास सम्बन्धी किम्वदन्तीहरु पनि प्रचलनमा रहेका छन् । जसअनुसार सूर्यले स्वामित्व लिन इन्कार गरेकाले वर्षमा हुने अधिक वा बढ्ता दिनलाई सबैले हेप्न थाले । फोहोर महिनाका रुपमा चित्रित भएपछि मलमासले भगवान् विष्णुसँग आफूलाई यस कलङ्कबाट मुक्त गर्नका लागि अनुनय विनय गर्दा विष्णु भगवान् खुशी भएर मलमासलाई वरदान दिएको प्रसङ्ग किंवदन्तीमा रहेको छ । फोहोर वा मल भनेर कसैद्वारा स्वामित्व नदिइएपछि अन्य कर्म गर्न शास्त्रसम्मत नभए पनि मेरो पूजा गर्नका लागि यो महिना सबैभन्दा उत्तम हुनेछ भनी पुरुषोत्तम विष्णुले वरदान दिएकाले मलमासको समयमा पुरुषोत्तम अर्थात् विष्णु भगवान्को पूजा गर्ने चलन चलेको शास्त्रहरुमा वर्णन पाइन्छ । अति प्रभावशाली तथा सात्विक देव विष्णुले ग्रहण गरेपछि मलमास अनाथावस्थाबाट मुक्त भई सम्मानित अवस्थामा पुगेको भनाइ छ । शुभ कार्य गर्नका लागि र साइत जुराएर गर्नुपर्ने कामका लागि मलमास अशुभ भए पनि नित्य काम गर्नका लागि र भगवान् विष्णुको पूजाआजा गर्नका लागि कुनै उत्तम नै हुने विश्वास गरिन्छ । यसैअनुरुप मलमासभर भगवान् विष्णुलाई मालपुवा चढाएर पूजा गरिन्छ । विष्णुको वरदानपछि मलमासलाई लोकजीवनमा मलमास भनिए पनि शास्त्रीय रुपमा अधिक मास वा पुरुषोत्तममास भनेर चिन्ने गरिन्छ ।

अधिकमासमा सबै धार्मिक कर्म गर्न निषेध गरिएको छ ?

धर्मशास्त्रअनुसार कर्महरु तीन किसिमका हुन्छन् :– नित्य नैमित्तिक र काम्य । नित्यकर्म भनेको सधैँभरि गरिने काम हो । यस्ता कामहरु सम्पत् वा विपद् जुनसुकै अवस्थामा पनि गरिन्छन् । नियमित पूजापाठ, जप–ध्यान, स्नान–तर्पणलगायतका काम गृहस्थीले नियमित रुपमा गर्ने कामहरु हुन् । प्राणीमात्रले श्वास फेरेजस्तै वा अन्न–जल ग्रहण गरे जस्तै यी कामहरु पनि निरन्तर गरिने भएकाले मलमासका कारणले रोक्न मिल्दैन । यसैले घर वा मन्दिरका नित्य पूजा, आरतीहरु मलमासमा पनि निरन्तर गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

नैमित्तिक कर्म भनेको बाध्यतावश वा कुनै घटना विशेषका कारणले पर्न आएको काम भनेर बुझिन्छ । बस्तीमा पैरो आयो भने हटाउनका लागि साइत वा दिन कुरेर बस्न सकिन्न, तुरुन्तै सो काम नगर्ने हो भने झनै ठुलो समस्या थपिन सक्दछ । यस्तै मलमास भनेर जन्म र मृत्युलाई रोक्न सकिन्न । बालबच्चाको जायजन्म भएपछि गरिने नामकरण र कसैको मृत्यु भएपछि गरिने दशगात्र (काजकिरिया) लाई नैमित्तिक कर्मका रूपमा लिइन्छ । यस्ता कामहरु गर्नका लागि पनि मलमास वा पुरुषोत्तम मासमा कुनै अवरोध हुँदैन अर्थात् गर्न मिल्दछ । यी अतिरिक्त तिथि भएकाले अन्य सामान्य वर्षमा तिथि मिलानका लागि भने विशिष्ट प्रावधान रहेको छ । कामना विशेष अथवा कुनै इच्छापूर्ति होस् भन्ने उद्देश्यले सङ्कल्प गरेर गरिने कामहरु जस्तै यज्ञ, हवन पुराणवाचन, विवाह, व्रतबन्ध, नयाँ घरको निर्माण, गृहप्रवेश, वास्तुपूजा, रुद्रीलगायतका शुभफल प्राप्त होस् भनी राम्रो साइत जुराएर गर्नुपर्ने कामहरु मलमासमा गर्न निषेध गरिएको छ । यसैले पहिले दर्शन नगरेको मन्दिरको दर्शन वा तीर्थाटन पनि मलमासमा गरिँदैन । सनातन परिपाटीमा गर्भाधान र सन्तानोत्पादनलाई समेत संस्कार मानिएकाले मलमासको समयमा यी कामलाई पनि बर्जित गरिएको छ । यसैले नवविवाहित दम्पति विवाहको पहिलो वर्ष एकैठाउँमा नबसी अलग बस्नुपर्ने प्रचलन छ ।

निष्कर्ष
मलमास सौर्य र चान्द्रमासमा आउने अन्तरलाई समायोजन गर्ने ज्यौतिषीय गणनाको एक विशिष्ट अवधारणा हो । मलमासमा शुभकर्मका लागि निषेध गरिएको भए पनि सामान्य र नियमित सबै कार्य गर्न सकिन्छ । विष्णुको आराधना गर्नका लगि उत्तम समय भएकाले अपुपदान गर्ने तथा विष्णुका स्तोत्र पाठ गर्ने उत्तम समयका रुपमा समेत पुरुषोत्तम मासलाई लिन सकिन्छ । दैनिक जीवनका नियमित र शाश्वत काममा बाधा नभए पनि शुभ एवम् कामना विशेषले गरिने व्रत, पूजाका लागि यस पटकका असोज महिनाका दिनहरु उपयुक्त नहुने शास्त्रीय मान्यताअनुरुप यस समयमा लोकजीवनमा पनि नयाँ कामको सुरुवात गरिँदैन ।

प्रतिक्रिया दिनुहोस