पाठ्यक्रमको नयाँ ढाँचा सार्वजनिक, विद्यालयको अन्तिम परीक्षा चैतमा

खबरशाला संवाददाता  |  भदौ ३०, २०७७

काठमाडौं /३० भदौ – विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बसेको बैठकले सो ढाँचा स्वीकृत गरेको हो ।


ढाँचाले पहिलो परीक्षा आगामी मङ्सिरको अन्तिममा र वार्षिक परीक्षा आगामी चैतको अन्तिममा सञ्चालन गरिने स्पष्ट उल्लेख गरेको छ । केन्द्रले आगामी चैत मसान्तमै शैक्षिक सत्र सकिने गरी पाठ्यक्रम समायोजन गरेको छ ।
केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिने बताए ।


मन्त्रीले पोखरेलले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका पनि सार्वजनिक गरे । नेपालको नयाँ नक्सासहितको सो सामग्री कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क वितरण गरिनेछ ।
कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षात्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएकोले यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । उनका अनुसार यही आवश्यकता पूर्तिका लागि विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको हो ।


पाठ्यवस्तु समायोजनका लागि एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरी तहगत र विषयगतरूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ उनको भनाइ छ ।


सङ्क्रमणकालमा शिक्षकले पाठ्यपुस्तकका पाठ पढाएर सक्ने विषयमा आधारित नभई पाठ्यक्रममा आधारित सिकाइ उपलब्धिलाई आधार मानी सिकाइलाई प्राथमिकतामा राखेर पाठ्यक्रमले तोकेका वैकल्पिक विधिको प्रयोगका लागि शिक्षक निर्देशिका, तालिम प्याकेजको अध्ययन, अनुभवी शिक्षक प्रशिक्षकसँग छलफल, स्थानीय विज्ञ व्यक्तिसँगको परामर्श र अध्ययन गरी महामारीका अवस्थामा विद्यार्थीको सिकाइलाई प्रभावकारीरूपमा निरन्तरता दिने विधिको चयन गरी प्रयोग गर्नुपर्ने उनले बताए ।


शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै फ्रव्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ । मूल्याङ्कन प्रक्रियाका लागि पाठ्यवस्तु समायोजन ढाँचामा स्पष्ट निर्देशन गरिएको छ ।


यो पाठ्यक्रम ढाँचालाई अनुसरण गरी स्थानीय परिवेशअनुकूल सिकाइलाई निरन्तरता दिई बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्दै शैक्षिक क्षतीफहुनबाट जोगाउन सरोकारवालाहरुलाई उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस