बालदिवसमा तुलसीपुरमा भर्चुअल प्रतियोगिता

निता चाैधरी  |  भदौ २, २०७७


निता चौधरी
तुलसीपुर । कोरोना महामारीका बीचमा पनि तुलसीपुर उपमहानगरपालिकाले वालवालिकाका विचमा विभिन्न प्रतियोगिता गरेर बालदिवस मनाएको छ । विपदमा बालअधिकारको सुनिश्चितता, हामी सबै प्रतिवद्धता भन्ने मुल नाराका साथमा सामाजिक दुरी पालना गरेर मनाइएको हो ।
दिवसको अवसरमा भर्चुअल माध्यमबाट गरिएको निबन्ध तथा वक्तृत्वकला प्रतियोगितामा सहभगीहरु मध्ये उत्कृष्ट ब्यक्तिहरुलाइ सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको थियो ।


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बाल अधिकारकर्मी नवराज लामिछानेको अध्यक्षता तथा कार्यवाहक प्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख माया शर्मा आचार्यले बालअधिकारको सुनिश्चितताका लागि स्थानीय सरकारले विभिन्न नीति तर्जुमा गरेको वताइन् ।

उनले बाल संवेदनशिलताको ख्याल नगर्दा विभिन्न समस्या देखिएको समेत वताईन् । बालअधिकार केवल बालबालिकाकाको सरोकारको विषय मात्रै नभएको समेत उनको भनाई थियो । ‘बालअधिकारका लागि कानुन मात्रै भन्दा पनि व्यवहार परिवर्तन मुख्य आवश्यकता हो ’ कार्यवाहक प्रमुख शर्माले जानकारी दिइन् ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले अहिले पनि केयौ बालबालिकाहरु अधिकारविहिन भएको भन्दै राज्यले त्यस्ता बालबालिकाका लागि अभिभावकको भुमिका वहन गर्नुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंह , न्यायीक समिति सदस्य जानुका रेग्मी, उद्योग बाणिज्य संघका महासचिव रुप बहादुर खत्री , बाल मितेरी माविका प्रधानाध्यापक ओमप्रकाश वली लगाएतकाले मन्तव्य राखेका थिए ।


वक्तृत्वमा गोरखा र निबन्धमा गुरुजजुर प्रथम


कोभिड १९ ले बालबालिकामा परेको प्रभाव र निराकरणको उपाय विषयक निबन्ध प्रतियोगितामा गुरुजजुर मावि कक्षा ९ का छात्र शैलेश शर्मा प्रथम , बालमितेरी मावि कक्षा १० की छात्रा अस्मिता खनाल द्धितीय , गुरुजजुर मावि रक्षाचौर कक्षा ११ का छात्र अमित गिरी तृतिय , मावि दोघरे कक्षा १० का छात्रा रेखा केसी र मावि कालाखोला कक्षा १० का विशाल वली सान्त्वना भएका थिए ।

वक्तृत्वकला प्रतियोगितातर्फ गोर्खा मा.वि. कक्षा १२ की छात्रा बेनिषा बस्नेत प्रथम, ज्ञानज्योति मा.वि. कक्षा ११ की छात्रा कृति डाँगी द्धितीय, ज्ञानज्योति मा. वि कक्षा ११ का किरण भुषाल तृतीय, तुलसी मा.वि. कक्षा १० का छात्रा आर्जन बस्नेत र जनप्रिय मा.वि. बालापुरका छात्रा देवका न्यौपाने सान्त्वना भएका छन् ।


तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको प्रमुख विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण माया श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस