शैक्षिक सत्र खेर जान रोकौ, बैकल्पिक विधि अपनाऔं

खबरशाला संवाददाता  |  भदौ २७, २०७७  |  ३४३ पटक पढिएको


एसईईको सिट प्लानिङ्ग भएर विद्यार्थीहरु परीक्षाको अन्तिम तयारीमा थिए । तर अचानक कोभिडको प्रकोपलाई मध्यनजर गरेर सरकारले लकडाउन घोषणा गर्यो । आज होला भोलि होला भन्दा भन्दै ६ महिनादेखि विद्यार्थीहरु घरमै बसिरहेका छन् । शैक्षिक सत्रको आधा समय सकिन लागिसक्यो तर पनि सरकारले स्पष्ट ढँगले शिक्षा क्षेत्रलाई सम्बोधन गर्न नसकेको संस्थागत विद्यालयका सञ्चालकहरुले गुनासो गरेका छन् । हामीले विभिन्न शैक्षिक व्यक्तिसँग यो शैक्षिक सत्रलाई खेर जान नदिन के गर्न सकिन्छ भनेर विचार वुझेका छौ ।

सावधानी अपनाएर ‘पाइलटिङ्ग कक्षा’ चलाऔं


सुरेन्द्र जिसी
प्रमुख
ज्ञानज्योति एजुकेशन फाउन्डेशन, तुलसीपुर


कोभिडको महामारीका कारण विगत ६ महिनादेखि विद्यार्थीहरु घरमै रहेका छन् । यो विचमा वैकल्पिक शिक्षाका लागि खासै उपलब्धिमुलक पहल हुन सकेको देखिदैन । महामारी केही समयमै सकिएला भन्ने विश्वासका कारण नयाँखालको शैक्षिक योजना वनाएर अगाडी वढ्ने सोच पनि कसैमा रहेन । तर समय गइसक्यो । महामारीको भोलिको अवस्था के हुने ? भन्न सकिने अवस्था रहेको छैन । जसले गर्दा अव हामी विकल्पमा जानुपर्ने देखिन्छ ।


विश्वको परिदृश्यलाई नियाल्ने हो भने हामीकहाँ कोरोनाको खासै महामारी देखिदैन । अझ तुलसीपुरको कुरा गर्ने हो भने कोरोनाको निकै कम संक्रमण देखिएको छ । यस्तो अवस्थामा हामीले शिक्षा क्षेत्रलाई के गर्ने भन्ने सोच्नैपर्दछ । निजी शैक्षिक संस्थामा आवद्ध शिक्षकहरुको अवस्था निकै जटिल वन्दै गएको देखिन्छ । अझैपनि हामीले केही सोच्न सकेनौ भने भोलि यसको परिणाम थप जटिल वन्ने निश्चित छ ।


अवको विकल्प भनेको सम्भव हुने ठाउँमा अनलाईन कक्षा सञ्चालन गर्ने या सुरक्षा अपनाएर कम जोखिम भएका ठाउँमा ५ देखि माथिका केही कक्षाहरु पाइलटिङ्ग रुपमा सञ्चालन गर्ने नै हो । अनलाईन कक्षाको प्रभावकारी पनि पछिल्लो समय वढ्दै गएको छ । तर सबै ठाउँमा यो सम्भव पनि छैन । यसकारण पाइलटिङ्ग कक्षा नै अहिलेको उत्तम विकल्प हो भन्ने मेरो धारणा रहेको छ । पाइलटिङ्ग कक्षा सफल हुँदै गयो भने अन्य कक्षाहरु विस्तारै सञ्चालन गर्न सकिन्छ । अझै पनि हामी कोरोनाको जोखिम सकिएला अनि कक्षा सञ्चालन गरौला भनेर कुरेर मात्रै वस्यौ भने शिक्षा क्षेत्रले लामो समयसम्मका लागि क्षति व्यहोर्ने निश्चित छ ।

कोभिड १९ र आधा शैक्षिक सत्रको शैक्षिक पात्रो
मधुसुदन केसी
प्राचार्य
हिमाल एकाडेमी तुलसीपुर

कोभिड १९ को प्रभावसंगै नेपालका ग्रामीण क्षेत्रमा रहेको शिक्षा तथा उक्त क्षेत्रका बालबालिकाको पठनपाठन पूर्ण रुपमा प्रभावित भईरहेको देखिएको छ । राजधानी केन्द्रीत उच्च तहका विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने कलेजले अनलाईन भर्चुअल कक्षाहरुलाई आफ्ना अभिभावक, शिक्षक तथा संचालकको त्रिपक्षिय सम्झौता अनुरुप पठनपाठनलाई अगाडि बढाईरहेको देखिन्छ । उच्च वर्गका धनाढ्य व्यक्तित्वहरुका सन्तानहरुले अध्ययन गर्ने शिक्षालयहरु र शैक्षिक क्रियाकलापहरु सन्तोषजनक नै रहेको अवस्था देखिएको छ भने मध्यम तथा निम्न सामाजिक तथा आर्थीकस्तर रहेका ब्यक्तिहरुका सन्तानहरुले अध्ययन गर्ने उपत्यका बाहिरका शिक्षालयहरुको स्थिति र शैक्षिक क्रियाकलापहरु भने त्यती सन्तोषजनक देखिएको छैन ।

सामुदायिक विद्यालयले कम्तिमा आफ्नो विद्यालयका बालबालिकाको अभिलेखिकरण कार्य र पुस्तक वितरणलाई सम्पन्न गरिसकेको देखिन्छ । नेपाल सरकार तथा स्थानिय सरकारद्धारा संचालन गरेको रेडियो कक्षाहंरु , राष्ट्रिय तथा स्थानिय टेलिभिजनबाट अध्यापन गरेका कक्षाहरु खासै प्रभावकारी रहेको देखिदैन र धुम्ती शिविर, टोल शिक्षण , होमवर्क उपलब्ध गराउने जस्ता बैकल्पिक शिक्षण विधिहरु पनि फेसबुक र मोबाईलको सेल्फिमै सिमित भएको देखिन्छ । केही सिमीत  निजी तथा संस्थागत विद्यालयहरुले  विद्यालयको श्रोत र साधनलाई प्रयोग गरेर गुगल क्लासरुम (Google Classroom)  , गुगलमिट Google Meet) , माईक्रोसफ्ट टिम (Microsoft Team )  जुम (Zoom) जस्ता अनलाईन भर्चूअल कक्षाहरु जेष्ठ महिना देखि संचालन गरेकाले अहिले झण्डै ३० प्रतिशत कोर्ष पुरा गरेको पनि देखिएको छ ।

शैक्षिक बर्षको पाँचौ महिनाको समाप्तीसंगै राज्यले बैकल्पिक शिक्षण पद्धतीलाई कानुनी मान्यता प्रदान गरेको छ । निजी तथा सस्थागत विद्यालयहरुले स्थानीयतहसंग सहकार्य गरी शुल्क लिनपाउने आधार निर्माण त भईरहेको पाईन्छ तर अब असोजदेखि सुरुगरेको शैक्षिक क्यालेन्डर कस्तो रहने सबैको चासोको बिषय रहेको छ । अबको साढे पाँच महिनाको शैक्षिक पात्रो निर्माण गर्दा पनि शैक्षिक बर्षमा २ ओटा परीक्षा संचालन हुन सकेमा १४ दिनको परीक्षा र १४० दिनको पठनपाठन हुने गरी जम्मा १५४ दिन विद्यालय खोल्न सकिने अवस्था देखिएको छ । जहाँ संस्थागत विद्यालयहरुले झण्डै २२० दिन कक्षा संचालन गर्ने गरेको बिगतको शैक्षिक पात्रोले देखाउँदछ ।

अबको शैक्षिक अबस्था कस्तो रहने र शिक्षालाई कुन दिशानिर्देश गर्ने भन्नेमा निजि तथा आवाशीय विद्यालय अर्गनाईजेशन प्याब्सन , एन प्याब्सन, सम्बन्धीत क्षेत्रको शिक्षा शाखा तथा शिक्षा महाशाखामै निर्भर रहेको छ । ईन्टरनेटको पहुँच नभएका बालबालिका तथा ईन्टरनेटको र अनलाईनको श्रोत साधन नभएका शिक्षालयको अबस्था हेर्दा यही असोज महिनादेखि समाजिक दुरी कायम गरेर भर्ना तथा पठनपाठनको बिकल्प नरहेको स्थिति पनि छ । बालबालिकाका लागि समाजिक दुरी कायम गरेर विद्यालय खोल्नुको विकल्प छैन भने अनिवार्य विषयहरुलाई मात्रै अध्यापन गरेर बालबालिकको कोर्षको बोझ घटाउन पनि सकिनेछ । नेपाल सरकारको पाठ्यक्रमलाई घटाउने वा शैक्षिक सत्रको समय थपगर्ने जस्ता विभिन्न बैकल्पिक उपाय श्रृजना गरेर पनि यो शैक्षिक सत्रलाई जोगाउन सकिने छ ।

विद्यालय सञ्चालनमा अगाडी बढौ
विजय जिएम
प्राचार्य, गोरखा मावि तुलसीपुर


कोभिड–१९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न नेपाल पुरै लकडाउनमा छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरु बन्द छन । शैक्षिक सत्र सुरु भएको पनि पाँच महिना भइसकेको छ तर विद्यालय कहिले खोल्ने हो अझै अनिश्चित छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ संशोधन गरेर असोज १ गतेदेखि वैकल्पिक प्रणाली अनुसार विद्यार्थीलाई वैकल्पिक विधिको माध्यमबाट पठनपाठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।


सरकारले वैकल्पिक विधिलाई नै शैक्षिक सत्रसँग गणना गर्ने र वैकल्पिक सिकाइलाई नै मुल्यांकन गर्ने निर्णय गरेको छ । कोरोना केही पनि होईन र कोरोनाले सर्वनाश नै गर्छ भन्ने दुई अतिवादी सोचलाई ध्यानमा राखेर लकडाउन खोल्नुपर्छ । स्थानीय वा जिल्लास्तरमा संक्रमण कम भएको ठाउँमा विद्यालयहरु विस्तारै खोल्नुपर्छ । सुरक्षा मापदण्ड अपनाएर बिहानी र दिवा सत्रमा आलोपालो गरेर भएपनि विद्यालय सञ्चालन गर्नुपर्दछ । कोरोना संक्रमण हुनबाट रोक्न अत्यावश्यक साधन वाहेक वाह्य आवागमन पुर्णरुपमा वन्द गरेर भएपनि जिल्लाभित्र विद्यालय लगाएत अन्य सबै क्षेत्र खोल्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस