मालपोत र नापीको काम स्थानीय तहलाई दाङमा शुन्य तयारी

चन्द्रप्रकाश नेपाली  |  भदौ २७, २०७७


चन्द्र प्रकाश नेपाली
तुलसीपुर । स्थानीय सरकार सञ्चालन ऐन अनुसार मालपोत र नापी शाखाले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ, जसमा दाङका ३ वटै मालपोत कार्यालय परेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार दाङका १० वटै स्थानीय तहलाई मालपोत कार्यालयले गर्दै आएको काम हस्तारन्तरण गरिने छ । मालपोत कार्यालयको सम्पुर्ण काम स्थानीय तहलाई हस्तान्तरण गर्ने घोषणा भएपनि यसको पुर्वतयारी भने दाङका अधिकांश स्थानीय तहमा शुन्य देखिएको छ ।

दाङका सबै स्थानीय तहमा यसको पुर्वतयारी सुस्त देखिएपनि तुलसीपुर उपमहानगरपालिकाले भने सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले राप्ती समाचारसँग कुरा गर्दै हस्तान्तरण हुने दिनबाटै काम सञ्चालनका लागि अगाडी वढाइने वताए । ‘मालपोतका लागि जनशक्तिदेखि बजेट ब्यवस्थापनसम्म सबै तयारी गरेका छौ र जुन दिन हस्तान्तरण हुन्छ त्यहि दिनबाट चलाउने छौं’ नगरप्रमुख पाण्डेले भने ।

मालपोतका लागि सबैभन्दा पहिले आवश्यक पर्ने जनशक्ति भएकाले नगरले नापी अधिकृत, मालपोत अधिकृत लगाएतका अधिकृतहरुका साथै अमिन, सर्वेक्षकहरुलाई तयारी अवस्थामा राखेको पनि उनले जानकारी दिए । तुलसीपुरमा पुर्व तयारी तिव्र देखिएपनि अन्य पालिका भने हस्तान्तरण भएपछि मात्रै ब्यवस्थापन गर्नेमा भएको बताउछन् । अहिले कार्मचारीलाई तालिम बाहेक त्यस्तो केहि तयारी भएको छैन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तत्काललाई संरचनाको सहि ब्यवस्थापन नहुदासम्म संघ सरकार मातहतमै चल्ने परिपत्र भए अनुसार काम भैरहेको वताए । मालपोतको काम नगरको मातहतमा आईनपुगेको भन्दै उनले पहिलो परिपत्रअनुसार कित्ताकाटको मापदण्ड तयार पारेको नगर प्रमुख चौधरीले जानकारी दिए । उनले अहिले पुर्व तयारी केहि नभएपनि मालपोत पालिकालाई हस्तान्तरण भए लगत्तै सबै ब्यवस्थापन नगरले गर्न सक्ने बताए ।

घोराही उपमहानगरपालिकाले मात्रै होईन, दाङका अन्य सबै स्थानीय तहले कर्मचारीलाई तालिमका लागी मालपोत कार्यलयमा पठाउने बाहेक केहि काम नभएको बताएका छन् । यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार दाङका १० वटै स्थानीय तहका कर्मचारीहरुलाई तालिम दिन थालेका छन् ।

यस्तै दाङका ३ सहित देशभरका ६० मालपोत कार्यालयका कामलाई चार चरणमा स्थानीय तहमा हस्तान्तरण गरिने मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले जानकारी दिए ।
पहिलो चरणमा फाराम भर्ने कामहरु, दोस्रो चरणमा पास पारित गर्ने काम, तेस्रो चरणमा पुर्जा बितरणका कामहरु र चौथो चरणमा सबै काम स्थानीय तहलाई हस्तान्तरण गरिने प्रमुख खड्काले जानकारी दिए ।
मालपोतको काम एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्दा कानूनी तथा प्राविधिक कठिनाई हुने भएकाले कर्मचारीलाई अभिमुखीकरण गरेर मात्र क्रमशः हस्तान्तरण गर्ने तयारीस्वरुप तालिम शुरु गरिएको हो । फागुनसम्म मालपोतका डाटाहरु स्क्यान गर्नै समय लाग्ने र डाटा स्क्यानको काम सकिएपछि फागुन मसान्तसम्म स्थानीय तहलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

स्थानीय तहमा जग्गा प्रशासन शाखा स्थापना भइसकेपछि जग्गा किनबेच गर्ने व्यक्तिहरुले भू सेवा केन्द्रमार्फत जग्गाको लिखत तयार पारेर स्थानीय तहको जग्गा शाखामा गइ जग्गा किनबेच गर्न सक्नेछन् । यसबाट जग्गाको राजस्व चुहावट नियन्त्रण हुने विभागको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस