इन्टरनेटको पहुँच नभएका विद्यार्थीलाई अभ्यास पुस्तिका

भदौ २५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाभित्र इन्टरनेटको पहुँचमा नरहेका विद्यार्थीहरुलाई कार्यमुलक अभ्यास पुस्तिका वितरण गरिएको छ । टिचफर नेपालको सहयोगमा तुलसीपुरमा अध्यापन गराउने प्रज्ञार्थीहरुले आफ्नै सक्रियतामा पुस्तक प्रकाशन गरेर वितरण गरेका हुन् ।

उनीहरुले कक्षा ६ देखि १० सम्मका अँग्रेजी, विज्ञान, गणित र मनोविज्ञानका विभिन्न कुराहरु समावेश गरिएका पुस्तक वितरण गरेको प्रज्ञार्थी पारस श्रेष्ठले जानकारी दिए ।
घरमै रहेका विद्यार्थीहरुले कुनै पनि बैकल्पिक माध्यमबाट अध्ययन गर्न नपाएको अवस्थामा केही सहयोग गरौ भनेर पुस्तक व्यवस्था गरिएको पनि श्रेष्ठले जानकारी दिए । ‘पुस्तक वितरण गरिसकेपछि विद्यार्थीले के कसरी प्रयोग गरे भनेर नियमित मुल्याकंन पनि गरिनेछ’ श्रेष्ठले भने । उनले फोनका माध्यमबाट जानकारी गराइने वताए ।


टिच फर नेपालका नेतृत्व विकास व्यवस्थापक माधव देवकोटाका अनुसार २ हजार बढी विद्यार्थीहरुलाई अभ्यास पुस्तिक दिने लक्ष्य लिइएको छ । ‘हामीले अध्ययन गरे अनुसार अहिले २ हजारलाई मात्रै दिदा पुग्ने देखिएको छ ’ देवकोटाले भने । तुलसीपुरमा टिचफर नेपालका २० जना प्रज्ञार्थीले अध्यापन गराउँदै आएका छन् ।


लकडाउनका कारण विद्यालय वन्द भएपछि नियमित कक्षा सञ्चालन नभएको भन्दै विद्यार्थीहरुलाई सक्रिय वनाउनका लागि यस्तो काम गरिएको प्रज्ञार्थी रन्जु महर्जनले जानकारी दिइन् । उनले विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा पुस्तक प्रकाशन गरेर निशुल्क वितरण गरिएको पनि जानकारी दिइन् । पुस्तक प्रकाशनमा संयोजिता आचार्य, सृजना, घिमिरे र अन्जु परियार लगायतले सहयोग संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस