कोरोनाको त्रासले रगत दान गर्ने घटे

नन्दनी रोका  |  भदौ २४, २०७७


नन्दनी रोका
तुलसीपुर । तुलसीपुरमा रहेको ब्लड बैकमा रगतको अभाव भएको छ । बैकमा ए र बी पोजेटिभ रगतको अभाव हुँदा विरामीले सास्ती खेपिरहेका छन् । कोरोना महामारीका कारण रक्तदान सम्बन्धि कार्यक्रम हुन नसक्दा यस्तो अभाव भएको जनाइएको छ ।

ब्लड बैकका इन्चार्ज नरेश चौधरीका अनुसार कोरोना महामारीको अवधिमा रगतको अभाव हुने गरेको छ । “आजभोलि पहिलेजस्तो रगत स्टोर गरेर राखिएको छैन, रगत दिने मान्छे पाउन पनि गाह्रो भएको छ ” इन्चार्ज चौधरीले भने ।


विगतमा दैनिक ७ देखि ८ पोइन्ट रगत सङ्कलन हुने गरेकोमा अहिले ४ देखि ५ पोइन्ट रगत मात्रै सङ्कलन हुने गरेको छ । तुलसीपुर क्षेत्रमा रहेका राप्ती लाईफ केयर,तुलसी बाल अस्पताल र सिटी अस्पताललाई धेरै रगत वितरण गरिरहेको बल्ड बैंक इन्चार्ज चौधरीले जानकारी दिइएका हुन् । महामारीको सुरुवात भएसँगै मानिसहरुको आवागमनमा कमी आएकाले यस्तो संख्या घटेको पनि जनाइएको छ ।


बैकमा रगत दान गर्न आउनेमा १८ देखि ६० उमेर समुहका मानिसहरु रहेका छन् ।त्यसैगरी रगत सङकलन गर्नु अघि नै रगतबाट सर्ने रोगहरु जस्तै हेपटाइटिस,एच.आई.भी. जस्ता विभिन्न रोगहरुको चेक जाँच गरेर महामारीको संक्रमणबाट जोगिन पिपिई,मास्क र पन्जा लगायतका सुरक्षा सामग्री लगाएर नै रगत सङकलन गरि रहेको बल्ड बैंक इन्चार्ज चौधरीको भनाई रहेको छ ।


त्यसैगरी राप्ती प्रादेशिक अञ्चल अस्पतालमा रगतको आवश्यकता पर्ने डायलासिस,अपरेशन कक्ष जस्ता विभिन्न फाँटहरुमा भने हाल रगतको अभाव नभएको यदि भएको खण्डमा घोराहीबाट ल्याउने गरेको विभिन्न फाँट प्रमुखहरुको भनाई रहेको छ । अभाव भएका विभिन्न ग्रुपका रगतका लागि सामाजिक सञ्जाल मार्फत अनुरोध गरेर पनि ब्लड बैकले माग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस